सम्पादकीयः लागूऔषधको बढ्दो प्रयोग



पछिल्ला समयमा विभिन्न किसिमका लागूऔषधको बढ्दो प्रयोग भइरहेको पाइएको छ । विशेषगरी पहाडी भन्दा पनि तराईका विभिन्न जिल्लाहरू त्यसमा पनि भारतसँग सीमा जोडिएका जिल्लाहरूमा लागूऔषधको प्रयोग दैनिक रूपमा बढ्दो रहेको देखिन्छ । विशेषगरी युवावस्थाका पुस्ताले लागूऔषधको प्रयोग गर्ने गरेको देखिन्छ । यो एउटा ठूलो समस्याका रूपमा देखिँदै आएको छ । लागूऔषधको प्रयोगका कारण समाजमा चोरी, लुटपाट तथा झैझगडा मात्र नभएर ज्यानै समेत जाने घटनाहरू समय समयमा घटिरहेका पाइन्छन् । लागूऔषधको प्रयोग बढेसँगै यसको कारोबार पनि बढिरहेको देखिन्छ । बढ्दो लागूऔषधको कारोबार एक जटिल र संवेदनशील विषय भएको छ । जसले नेपाल मात्रै नभएर विश्वभरि ठूलो समस्या खडा गरिरहेको छ । यो समस्या केवल स्वास्थ्य र सामाजिक दृष्टिकोणबाट मात्रै नभएर यो आर्थिक र राजनीतिक दृष्टिकोणबाट पनि ठूलो चुनौतीका रूपमा देखिएको छ । लागूऔषधको कारोबारले समाजमा गहिरो नकारात्मक प्रभाव पार्दै आएको छ । यसले नशालु पदार्थको सेवनलाई प्रोत्साहित गर्छ, जसले व्यक्तिको स्वास्थ्य, परिवार र समाजलाई हानी पु¥याइरहेका छ । लागूऔषधको कारोबारले अपराध र हिंसालाई पनि बढावा दिइरहेको छ, जसले समाजमा अस्थिरता र असुरक्षाको वातावरण सिर्जना गरिरहेको छ ।

विशेषगरी व्याप्त बेरोजगारीका कारण पनि यो समस्या फैलँदो रूपमा देखिन्छ । काम नभएका युवा पुस्ताहरूमा नकारात्मक भावना आउने, कुलतमा फसेका साथीभाइको संगतमा लाग्ने र लागूऔषधको प्रयोगमा संलग्न हुने देखिएको छ । सीमावर्ती जिल्लाहरूमा त झनै यसको प्रयोग र कारोबार बिकराल हुँदै गएको छ । सीमावर्ती क्षेत्रका भारतका सहरमा पुगेर उतै लागूऔषध प्रयोग गर्ने र नेपाल फर्किने युवाहरूको जमात विस्तारै बढ्दै गएको छ । यसको रोकथाम र न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि सम्बन्धित सरोकारवाला निकाय गम्भीर हुनु जरुरी छ । लागूऔषधको प्रयोगले केवल प्रयोगकर्ता व्यक्ति मात्रै नभएर घर, समाज र देशलाई नै असर पु¥याइरहेको हुन्छ । लागूऔषधको प्रयोग र कारोबारमा वृद्धि भइरहेको कुरा प्रहरीले दैनिकजसो ठूलो मात्रामा विभिन्न लागूऔषध पदार्थ बरामद गर्नुबाट पनि पुष्टि हुन्छ । हाम्रो जस्तो देशमा लागूऔषधको कारोबार एक ठूलो समस्याका रूपमा रहेको छ । देशको भौगोलिक स्थिति र खुला सीमाले यस समस्यालाई अझ जटिल बनाएको छ । नेपाल सरकारले लागूऔषधको कारोबारलाई रोक्न र नियन्त्रण गर्न विभिन्न प्रयास गरिरहेको छ, तर यो समस्या अझै पनि ठूलो चुनौती बनेको छ ।

लागूऔषधको प्रयोग र कारोबारलाई रोक्न र नियन्त्रण गर्नका लागि केवल सरकार र प्रहरीको प्रयासले मात्र असम्भव छ । यसलाई नियन्त्रण गर्नका लागि विभिन्न संघसंस्था, समाज र व्यक्तिहरूको संयुक्त प्रयास आवश्यक छ । सरकारले कडा नीति र कानुन बनाउनु पर्छ र पूर्ण रूपमा कार्यान्वयन गर्न सक्ुनपर्दछ । समाजले जागरूकता र सहयोग बढाउनु पर्छ र व्यक्तिहरूले स्वस्थ जीवनशैली अपनाउनु आवश्यक छ । लागूऔषध दुव्र्यसन नेपालको एक गम्भीर सामाजिक, स्वास्थ्य र कानुनी समस्या हो, जसले विशेषतः नयाँ पुस्तामा भयावह असर पार्दै परिवार, समुदाय र राष्ट्रको भविष्यलाई चुनौती दिइरहेको छ । लागूऔषधको बढ्दो प्रयोगलाई नियन्त्रण, न्यूनीकरण रोकथामका लागि शिक्षा र सचेतना, उपचार र पुनःस्थापना, कानुनी कारबाही, सामाजिक हस्तक्षेप गर्न जरुरी छ । विद्यालयस्तरमा व्यापक रूपमा यसका विरुद्ध सचेतना तथा समाजमा पनि जनचेतनाका कार्यक्रमहरू आयोजना गर्न आवश्यक छ । पछिल्लो समयमा बढ्दै गइरहेको लागूऔषको प्रयोग र कारोबारको ग्राफले आम युवा पुस्ता मात्रै नभएर देशलाई नै चुनौती दिइरहेको छ । यसको प्रयोगलाई न्यूनीकरण गर्नका लागि युवाहरूलाई रोजगारी, सचेतना तथा विभिन्न आयमूलक कार्यमा संलग्न गराउन आवश्यक छ । यसलाई रोकथाम, न्यूनीकरण र नियन्त्रण गर्नका लागि सम्पूर्ण सरोकारवाला पक्ष मिलेर काम गर्न आवश्यक छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार