साम्बालाई गम्भीर चोट



काठमाडौँ ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)लाई गम्भीर चोट लागेको छ । अस्ट्रेलियाको ‘निन्जा ए–लिग’ खेलिरहेकी साम्बा घुँडाको गम्भीर चोटका कारण यो सिजनका बाँकी खेलहरू खेल्न नसक्ने भएकी छिन् । लिगमा सहभागी एक मात्र न्युजिल्यान्डको क्लब वेलिङटन फोनिक्समा साम्बा आबद्ध छिन् । यसै सिजन आबद्ध भएकी उनले तीन गोल गरेकी छन् ।

गत शनिबार ब्रिस्बेन रोअर विरुद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग साम्बा ठोकिएकी थिइन् । एमआरआई रिपोर्ट अनुसार उनको दाहिने घुँडाको एसीएल पूर्णरूपमा च्यातिएको छ । यो चोट निकै गम्भीर मानिन्छ । चोट निको हुन र पुनः मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ । यसको अर्थ उनले यो वर्षको लिगका सबै खेलहरू गुमाउनेछिन् ।

वेलिङटन फोनिक्स क्लबका लागि यो सिजनको तेस्रो ठूलो झट्का हो, किनभने यसअघि नै उनका अन्य दुई खेलाडी पनि यस्तै चोटका कारण बाहिरिसकेका छन् । टोलीकी मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले यो खबरले आफू र पूरै टोली निकै दुःखी भएको बताएकी छिन् । उनले भनिन्— ‘साम्बा हाम्रो टोलीको सबैभन्दा लोकप्रिय र प्यारी खेलाडी हुन् । उनको चोटले हामीलाई निकै पीडा दिएको छ ।

तर साम्बाको आँखामा मैले अझै पनि खेल्ने भोक देखेकी छु । उनी जतिसक्दो चाँडो मैदान फर्कन चाहन्छिन् ।’ साम्बासँग क्लबको दुई वर्षको सम्झौता छ, त्यसैले उनी निको भएपछि फेरि यही क्लबबाट खेल्नेछिन् । अहिलेका लागि भने क्लबले उनको ठाउँमा खेल्ने अर्को नयाँ फरवार्ड खेलाडी खोजिरहेको छ । यद्यपि, खेलाडी दर्ता गर्ने समय सकिसकेकाले क्लबले अहिले कुनै पनि टिममा आबद्ध नभएका (फ्रि एजेन्ट) खेलाडी मात्र राख्न पाउनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार