नेकपाको केन्द्रीय सदस्य २४ सयभन्दा बढी



काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पुस २९ गते शपथ खुवाउने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकले काठमाडौँमा उपलब्धहरूलाई काठमाडौँमा र बाहिरकालाई प्रदेशहरूमा शपथ खुवाउने निर्णय गरेको नेकपाका नेता अग्निप्रसाद सापकोटाले बताए ।

‘पुस २९ गते केन्द्रीय सदस्यको शपथग्रहण समारोह गर्ने,’ उनले परामर्श बैठकका निर्णय सुनाउँदै मंगलबार भने, ‘उपस्थित हुन सक्नेहरूको यही बागमती प्रदेशमा । बाहिर चाहिँ प्रदेशहरूलाई जिम्मा दिएको छ ।’ ‘उनीहरूले निश्चित गरेको ठाउँमा शपथग्रहण समारोह गर्ने भन्ने पनि निश्चित भएको छ,’ नेता सापकोटाले थपे । विभिन्न घटकहरू मिलेर बनेको पार्टीले यही २९ गते नयाँ केन्द्रीय सदस्यहरूको शपथ गराउन लागेको हो ।

नेकपाका नेता प्रेमबहादुर सिंहका अनुसार केन्द्रीय समितिको सङ्ख्या २४९९ हुनेछ । ‘२९ गते १ बजे केन्द्रीय समितिका सदस्यहरूको शपथ ग्रहण हुन्छ,’ सिंहले भने, ‘२९ गतेभित्रै केन्द्रीय कार्यसमिति, सचिवालय, केन्द्रीय कार्य संयोजन समितिको गठन पनि गरिसक्ने निर्णय भएको छ।’
२४९९ मध्ये सो दिन करिब २३ सय सदस्यले शपथ लिनेछन् । बाँकी केही सदस्यको नामावली टुंगिन बाँकी रहेको उनले जानकारी दिए ।

त्यस्तै, ६ सय १ जनाको केन्द्रीय कार्यसमिति बन्ने पनि उनले बताए । सचिवालय भने निश्चित सङ्ख्याको हुने नेता सिंहले बताएका छन् । यद्यपि कति सदस्यीय सचिवालय बन्ने भन्नेबारे टुंगो लागिसकेको छैन । सचिवालयभन्दा अझै सानो केन्द्रीय कार्यसंयोजन समिति पनि बन्ने उनले बताएका छन् । केन्द्रीय सदस्यहरूको शपथ डिजिटल र भौतिक दुवै माध्यमबाट हुने उनले बताए ।

‘काठमाडौँमा उपलब्धहरूको यहीँ गर्ने नहुनेलाई प्रदेशमा उपयुक्त ठाउँमा डिजिटल माध्यमबाट गर्ने छलफल भएको छ,’ सिंहले भने, ‘सबैलाई एकै ठाउँबाट गर्दा टाढा टाढाका मान्छेलाई आइपुग्न गाह्रो हुन्छ ।’ गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दर्जनभन्दा बढी वामघटकहरूबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार