ग्रिनल्यान्ड विवादले नाटो सङ्कटतर्फ



कोपनहेगन : डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्यान्डलाई संयुक्त राज्य अमेरिकाले अधिग्रहण गरेमा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को अन्त्य हुने गम्भीर चेतावनी दिएका छन् । उनको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खनिज–धनी र रणनीतिक आर्कटिक टापु ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा ल्याउन आह्वान गरेपछि आएको हो ।
शनिबार बिहान भेनेजुएलाको काराकसमा राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गर्न अमेरिकी सेनाले गरेको गोप्य सैन्य अपरेसनपछि विश्वव्यापी स्तरमा हलचल मच्चिएको छ । यही घटनाले डेनमार्क र ग्रिनल्यान्डमा थप चिन्ता बढाएको छ । ग्रिनल्यान्ड डेनमार्क राज्यअन्तर्गतको अर्ध–स्वायत्त क्षेत्र हो र यसरी नाटोको हिस्सा पनि हो ।
प्रधानमन्त्री फ्रेडरिक्सन र ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले अमेरिकी राष्ट्रपति ट्रम्पका अभिव्यक्तिको कडा निन्दा गर्दै यसको परिणाम विनाशकारी हुनसक्ने चेतावनी दिएका छन् । उनीहरुप्रति धेरै युरोपेली नेताहरूले ऐक्यबद्धता जनाएका छन् ।
डेनमार्कको प्रसारणकर्ता टिभी २ सँग कुरा गर्दै प्रधानमन्त्री फ्रेडरिक्सनले भने,‘यदि संयुक्त राज्य अमेरिकाले अर्को नाटो सदस्य राष्ट्रमाथि सैन्य आक्रमण गर्ने निर्णय गर्‍यो भने सबै कुरा रोकिन्छ । दोस्रो विश्वयुद्धपछि स्थापित सुरक्षा व्यवस्था त्यहीँ समाप्त हुन्छ ।’ उनले राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्ड चाहेको भनाइलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै डेनमार्क र ग्रिनल्यान्ड यस्तो खतरनाक अवस्थालाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।
आइतबार राष्ट्रपति ट्रम्पले ‘२० दिनपछि ग्रिनल्यान्डबारे कुरा गरौँ’ भन्ने अभिव्यक्तिले नजिकै भविष्यमा अमेरिकी हस्तक्षेप हुनसक्ने आशङ्का झनै गहिरिएको छ । ट्रम्पले यसअघि पनि आफ्नो दोस्रो कार्यकालको सुरुआती चरणमै ग्रिनल्यान्डलाई अमेरिकी क्षेत्राधिकारमा ल्याउनुपर्ने बताउँदै सैन्य विकल्प अस्वीकार नगरेको सङ्केत दिनुभएको थियो ।- रासस

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार