सुर्खेत ।
डोल्पा घटनाको निष्पक्ष छानबिन गर्नका लागि प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । उक्त छानबिन टोली घटनास्थल पुगेर अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । शुक्रबार साँझ डोल्पामा स्थानीय र प्रहरीबीच विवाद हुँदा यातायात सेवासमेत ठप्प पारिएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँ गाउँका ३४ वर्षीय जुन रोकाया भेरी नदीमा बेपत्ता भएपछि स्थानीयले सवारीसाधन आतवजावतमा रोक लगाएका हुन् । शुक्रबार साँझ रोकायलाई त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित इलाका प्रहरी कार्यालय करवगाडले आफ्नो कार्यालय नजिकै शंकास्पद बस्तुको ओसारपसारमा संलग्न रहेको आशंकामा चेकजाँच गर्न खोजेको थियो । प्रहरीले चेकजाँच गर्न खोजेको चालपाएका रोकायले प्रहरी नआउँदै आत्तिएर त्रिपुरासुन्दरी नगरपालिका–५ मा रहेको छेप्के पुल नजिकबाट ठूली भेरी नदीमा हाम फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
रोकाया बेपत्ता भएपछि आक्रोशित स्थानीयले प्रहरीसँग विवाद थालेका थिए । उनीहरूले प्रहरीका कारण रोकायाले भेरी नदीमा हाम फालेर बेपत्ता भएको आरोप लगाएका छन् । साथै स्थानीयले बेपत्ता रोकायाको अवस्था पत्ता लगाउन माग गर्दै शनिबार बेलुका प्रहरी कार्यालयमा तोडफोड गर्नुका साथै यातायातका सबै सवारीसाधन अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका थिए ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ र ६ का सयौँको सङ्ख्यामा स्थानीयहरू खदाङ क्षेत्रमा भेला भएर अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका थिए । यस्तै, स्थानीय र प्रहरीबीच झडप हुँदा केही स्थानीय र ३ जना प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख रुकबहादुर खड्काले बेपत्ता युवाले एकजना ट्रक ड्राइभरलाई ब्राउनसुगर बुझाउँदै छन् भन्ने गोप्य सूचनाको आधारमा चेकजाँच गर्न प्रहरी टोली परिचालन गरिएको बताए ।
उनले भने, ‘गोप्य सूचनाका आधारमा प्रहरीले चौकीभन्दा टाढा नै चेकजाँच सुरु गरेको थियो । तर, प्रहरीले उनलाई चेकजाँच गर्न नपाउँदै आत्तिएर भेरीमा हाम फालेका थिए । युवा बेपत्ता भएपछि शनिबार दिनभरदेखि प्रहरी र स्थानीयबीच ठूलो विवाद भयो । विवादले उग्ररूप लिएपछि ल्हाँका स्थानीयले चौकी तोडफोड गरेर प्रहरीलाई लखेट्दा केही घाइते हुनुभएको छ ।’
यस्तै प्रहरी र स्थानीयबीचको विवादका कारण बेपत्ता युवाको खोजीकार्यमा ढिलो भइरहेको छ । डोल्पा प्रहरीका अनुसार स्थानीय सरकारको समन्वयमा बेपत्ता रोकायाको खोजीकार्यका लागि आइतबार बिहानै प्रहरीले सशस्त्रको गोताखोरसहितको टिम घटनास्थलतर्फ परिचलान गरिएको छ । साथै घटनास्थलमा शनिबार साँझदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्