सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त



नेपालगन्ज ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनीहरूलाई न्याय परिषद्को परामर्शमा आइतबार प्रमुख निर्वाचन अधिकृत नियुक्त गरिएको हो । त्यस्तै, आयोगले ८८ जना नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

उनीहरूलाई न्याय सेवा आयोगको परामर्शमा नियुक्त गरिएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेदेखि काम सुरु गर्नेछन् । माघ २ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि कामकाज सुरु गर्नुपर्नेछ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ ।

उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ । आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । यस्तै आयोगले बाँके जिल्लामा जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधीश दीपकुमार दाहाललाई मुख्य निर्वाचत अधिकृत तोकेको छ ।

यसैगरी सर्वाेच्च अदालतका इजलास अधिकृत सरोजनिधि वाग्ले र जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधीवक्ता दशरथ गौतमलाई निर्वाचन अधिकृत तोकेको छ । उनीहरूमध्ये वाग्लेले बाँके क्षेत्र नम्बर १, दाहालले क्षेत्र नम्बर २ र गौतमले क्षेत्र नम्बर ३ को जिम्मेवारी पाएका छन् ।

बर्दिया जिल्लाका लागि बर्दिया जिल्ला अदालतका जिल्ला न्यायाधीश मनोज श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक गोविन्दप्रसाद घिमिरेलाई निर्वाचन अधिकृत तोकिएको छ । श्रेष्ठलाई निर्वाचन क्षेत्र नम्बर १ र घिमिरेलाई क्षेत्र नम्बर २ मा निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार