टी-२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली महिला टोली घोषणा



काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्ने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।क्यानले आइतबार इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कार्यक्रमअनुसार यही माघ २२ देखि फागुन ९ गतेसम्म काठमाडौंमा आईसीसी महिला टी२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता हुनेछ । घोषित टोलीको उपकप्तानमा पुजा महतो छिन् ।

दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोली छानिएको हो । रुबी पोदार, सना प्रविन, इश्वरी विष्ट, सोनी पाख्रिन र लक्ष्मी साउदले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

टोलीमा अनुभवी अलराउण्डर सीता राना मगरले पनि कमब्याक गरेकी छिन् । सीता नेपालको पहिलो पुस्ताका महिला क्रिकेटर हुन् । उनी यसअघि नेपालले एसिया छनोट खेल्दा टिम बाहिर थिइन् । यस्तै सोमु विष्ट र काजल श्रेष्ठले पनि टिममा पुनरागमन गरेका छन् । यसअघि एसिया छनोट खेलेका रुबि पोदार, सबनम राई र इश्वरी विष्ट भने ग्लोबल छनोट खेल्ने टिममा छैनन् ।

महिला टी२० विश्वकप ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष चार टोलीले इंग्ल्याण्डमा हुने महिला टी२० विश्वकपमा स्थान बनाउनेछ । नेपालसँगै थाइल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स र जिम्बाव्वे समूह बी मा छन् । यस्तै बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका समूह ए मा छन् ।

समूह चरणको खेलपछि शीर्ष ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछ । नेपाली टोलीस् इन्दु बर्मा (कप्तान) , पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी, मनीषा उपाध्याय

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार