वीरेन्द्रनगर ।
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको नवनिर्मित भवन निर्माणकार्य १० महिनाअगावै सम्पन्न भएको छ । प्रदेश मातहत हुने सबै कर्मचारीहरूको तालिम गोष्ठीजस्ता सबै सरकारी कार्यक्रम यही भवनबाट गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाको साविक महिला प्रशिक्षण केन्द्रभित्रको जमिनमा उक्त भवन बनेको छ । जीपी बिल्डर्स काठमाडौँले २०८३ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी २०८० असारमा भवन निर्माणको जिम्मा लिएको थियो ।
तर १० महिनाअगावै अर्थात् गत भदौमा नै भवन निर्माणकार्य सम्पन्न गरेको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार धेरैजसो पूर्वाधार आयोजनाहरू अलपत्र पारेको भन्दै ठेकेदार कम्पनीहरूको व्यापक आलोचना भइरहेको छ । तर यही बेला प्रतिष्ठानको भवन भने १० महिनाअघि नै सम्पन्न गरेर निर्माण कम्पनीले उदाहरणीयता प्रस्तुत गरेको हो ।
कूल १६ करोड पाँच लाख लागतमा निर्माण भएको उक्त भवन निकै अत्याधुनिक तरिकाले बनाइएको शाही बताउँछन् । ‘पूर्वाधार विकास निर्देशनालय सुर्खेतले भवन निर्माण आयोजना कार्यान्वयन गरेको हो । यो चारतले भवन ९४७ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ,’ उनले भने, ‘कूल निर्मित क्षेत्रफल तीन हजार ७९० वर्गमिटर रहेको छ । भवन स्वीकृत गुरुयोजनाअनुसार भवन संहिता प्रयोग गरी प्रचलित प्राविधिक मापदण्डअनुसार निर्माण गरिएको हो ।’
उनका अनुसार यस भवनमा लिफ्ट सुविधा, अपाङ्गमैत्री संरचना र अग्नि नियन्त्रण प्रणाली जस्ता आधुनिक विशेषताहरू जडान गरिएका छन् । भवनमा दुईवटा ठूला सभाकक्षसहित पर्याप्त कार्यकक्ष र बैठक कक्षहरूको पनि व्यवस्था गरिएको छ । उक्त भवन एक कार्यक्रमकाबीच कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका हुन् । उनले समयमै निर्माण कम्पनीले भवन बनाएर उदाहरणीयता पेस गरेकोमा धन्यवाद दिँदै अन्य निर्माण व्यवसायीहरूले पनि यसरी काम गर्ने गरी सिक्नुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्