हेलिकोप्टर चढेर पिकनिक खान पुगे मुख्यमन्त्री बानियाँ



काठमाडौँ ।

सरकारले लिएको मितव्ययिताको नीतिको धज्जी उडाउँदै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ हेलिकोप्टर चढेर वनभोज खान मधेश प्रदेशको सिराहा जिल्ला पुगेका छन् । नेपाली काँग्रेस सिराहा जिल्लाका सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोजमा उनी बिहीबार हेलिकोप्टर चढेर पुगेका हुन् ।

अंग्रेजी नयाँ वर्षका अवसरमा सिराहाको धनगढीमाई नगरपालिका वडा १४ सर्रे अम्बासमा वनभोज आयोजना गरिएको थियो । अर्कै प्रदेशका मुख्यमन्त्री बानियाँ बिहीबार दिउँसो करिब ३ बजे वनभोजस्थलमा पुगेका थिए । स्थानीय अर्जुन थपलियाले मुख्यमन्त्री बानियाँ हेलिकोप्टरबाट वनभोजस्थलमा ओर्लिएको भिडिओ आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।

थपलियाका अनुसार मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव पनि पिकनिकमा सहभागी भएका थिए । यादव आफ्नो कारगेटसहित गएको थपलियाको भनाइ रहेको छ । मुख्यमन्त्री आउने भनिएपछि करिब दुई दर्जन सुरक्षाकर्मी वनभोजस्थलमा खटिएका थिए । मुख्यमन्त्रीको हेलिकोप्टर आउँदा पिकनिकमा सहभागी भएका स्थानीयवासीहरू रमाएका थिए ।

हेलिकोप्टर हेर्नलाई तँछाडमछाड भएको थियो । थपलियाले भने, ‘यहाँका जनताले यति नजिकैबाट हेलिकोप्टर देख्न पाएका थिएनन् । यही नै एउटा उपलब्धि भयो ।’ यस्तै मुख्यमन्त्रीको सचिवालयले समेत हेलिकोप्टर चढेर वनभोज खान सिराहा पुगेको स्वीकारेको छ । तर, हेलिकोप्टरको खर्च मुख्यमन्त्रीको आफ्नै भएको सचिवालयको दाबी रहेको छ ।

मुख्यमन्त्री बानियाँका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले यस्तो दाबी गरेका हुन् । बिहीबार जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन सिन्धुपाल्चोकको गुम्बाडाँडा जाँदा हेलिकोप्टर लगिएको उनले बताए । त्यहाँ पुगेपछि सिराहाबाट काँग्रेस सभापति रामचन्द्र यादवको निम्तो आएको उनको भनाइ छ ।

पुडासैनीले भने, ‘सभापतिज्यूले काँग्रेसको कार्यक्रम छ, आइदिनुप¥यो भनेर बोलाउनुभयो । पार्टी सभापतिले बोलाएपछि नजाने कुरा भएन । त्यसपछि सोही हेलिकोप्टर लिएर जानुभएको हो ।’ कार्यक्रमस्थलमा पुगेपछि मात्रै पिकनिक रहेछ भन्ने थाहा भएको समेत उनले दाबी गरेका छन् । ‘हेलिकोप्टरमा घुम्दाको सबै खर्च मुख्यमन्त्रीज्यूको व्यक्तिगत हुन्छ, सरकारलाई भार पर्दैन,’ उनले दाबी गर्दै भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार