विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग



जाजरकोट ।

जिल्लाका तीनवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री सहयोग गरिएको छ । भौगोलिक विकटता, आर्थिक अवस्था कमजोर, अभिभावक गुमाएपछि जोखिममा परेका र अपाङ्गता भएका बालबालिकालाई पढाइमा सहयोग पु¥याउन सामग्री वितरण गरिएको हो ।

तीन विद्यालयका ६८ जना विद्यार्थीलाई विद्यालय पोसाक, शैक्षिक तथा खेल सामग्री वितरण गरिएको पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष तथा समाजसेवी छवि पन्तले जानकारी दिए । उनका अनुसार व्यक्तिगत रूपमा जिल्ला बाहिर रहेका व्यक्तिको सहयोगबाट सामग्री वितरण गरिएको हो ।

आपङ्ग बालबालिका र अभिभावक गुुमाएर जोखिममा परेका बालबालिकालाई विशेष प्राथमिकतामा राखेर सामग्री वितरण गरिएको अध्यक्ष पन्तले बताए । आर्थिक अभावका कारण बिहान बेलुकाको छाक टार्न समस्यामा परेका बालबालिकाको पठनपाठन नियमित बनाउन व्यक्तिगत रूपमा सामग्री खरिद गरी युवा समाजसेवी राजिव सिंहको समन्वयमा शैक्षिक सामाग्री बालबालिकालाई हस्तान्तरण गरिएको हो ।

जिल्लाको नलगाड नगरपालिका–९ स्थित त्रिभुवन माध्यमिक विद्यालय तात्र, महादेव प्राथमिक विद्यालय घरङ्गा र जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोटमा पठनपाठन गर्ने बालबालिकाले उक्त सामग्री प्राप्त गरेक हुन् । ‘अपाङ्गता भएका बालबालिका अभिभावक गुमाएर सहाराविहीन भएपछि छाक टार्ने सहयोग जुटाउन नसक्ने अवस्थामा थिए,’ अध्यक्ष पन्तले भने, ‘त्यसैले जोखिममा परेका बालबालिकालाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले सहयोग गरिएको छ ।’

तीनवटा विद्यालयमा वितरण गरेको सामग्रीले जोखिममा परेका अपाङ्ग बालबालिकाको पढाइप्रति हौसला बढ्ने उनले विश्वास लिएका छन् । पढाइ नियमित गर्न नसकेका बालबालिकाको पठनपाठनमा टेवा पुग्ने अपेक्षा छ । विगतका केहि वर्षदेखि जोखिममा परेका बालबालिकाको शिक्षामा पहँुच पु¥याउन पाँचतारा युवा संरक्षक मञ्चअन्तर्गत अन्य साझेदारी निकायको सहयोगमा शैक्षिक सामग्री, न्यानो कपडा, विद्यालय पोसाकलगायत सामग्री सहयोग गर्दै आइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार