फोरजी सेवासहित टावर निर्माण



जुम्ला ।

जिल्लाको हिमा गाउँपालिकामा नेपाल टेलिकमको टावर निर्माणकार्य सम्पन्न भएसँगै सेवा सुचारु भएको छ । लामो समयदेखि उक्त टेलिफोन टावर निर्माण भइरहेको थियो । सोमबारदेखि टावर निर्माण सम्पन्न भई टेलिफोन र फोरजी इन्टरनेट सुचारु गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार फोरजी इन्टरनेटसहित सेवा सुचारु भएको हो । स्थानीय सरकारको समन्वय तथा नेपाल टेलिकमको लगानीमा हिमा गाउँपालिका–५, कस्तुरीभिडमा टावर सञ्चालन भएको अध्यक्ष शाहीले बताए । हिमा गाउँपालिका क्षेत्रमा अब टेलिफोनको समस्या नहुने नेपाल टेलिकम जुम्लाले जनाएको छ । टेलिकमका कार्यालय प्रमुख पारस पुजाराले आवश्यक प्रविधि जोड्नेसहित हिमामा टावर निर्माण कार्य सम्पन्नसँगै सेवा सुरु भएको जानकारी दिए ।

उनका अनुसार बबरमहल काठमाडौँ वार्लेस सेवा निर्देशनालयका सहायक प्राविधिक राजेश गिरीसहित ५ जनाको प्राविधिक टोलीले आवश्यक साधन जोडेर उक्त टावरबाट सेवा सुचारु गरेको हो ।

‘जुम्ला र कालीकोटको सीमामा रहेको नाग्म बजारमा समेत एक हजार आठ सय ब्यान्डको फोरजी इन्टरनेट सेवा जोडेका छौँं । यसले गर्दा व्यस्त बजार नाग्म क्षेत्रमा सेवाग्राहीलाई सहज हुनेछ,’ उनले भने, ‘हिमा–५ मा जडान गरिएको टावरलदे नाग्म बजार माथि रहेको मुख्य टावरसँग पनि जोडेर सेवा दिएको छ ।’

सेवा सुचारु भएपछि गाउँपालिका क्षेत्रमा देखिएको टेलिफोन समस्यासमेत हट्ने भन्दै नागरिकले खुसी व्यक्त गरेका छन् । टावर निर्माण प्राविधिक टोलीका अनुसार टेलिफोन र फोरजी सेवा सुरु भए पनि सोलार ब्याकअपका कारण बिहान बेलुकी अलि स्लो चल्ने जनाइएको छ । यसबारे सेलारको ब्याकअप क्षमता वृद्धि गर्नुपर्ने उनीहरूको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार