यो वर्षको हिउँदयामको चिसो बढिसकेको छ । देशका मधेश तथा तराईका विभिन्न जिल्लाहरूमा विगत दुई हप्ता अघिदेखि नै अत्यधिक चिसो बढेको छ । यी जिल्लाहरूमा शीतलहरसमेत चलेकाले झनै यहाँका नागरिकहरूले झनै पीडा खेप्नु परिरहेको छ । दैनिक जनजीवन कष्टकर बन्दै गएको पाइन्छ । हप्तौँ दिनदेखि घाम नलाग्दा सम्पूर्ण नागरिकहरूको दैनिकी अत्यन्तै कष्टकर बनिरहेको देखिन्छ । त्यसै पनि चिसो मौसम त्यसमाथि २४सैँ घण्टा शीतलहरको कहरबाट नागरिकहरू पीडामय दैनिकी बिताउन बाध्य छन् । बालबालिका, दीर्घरोगी तथा वृद्धवृद्धा झनै कष्टमा रहेका छन् । अत्यन्तै चिसोका कारण विद्यार्थी, दैनिक ज्यालादारी काम गर्ने मजदुर, अटोरिक्सा चालक, ठेला चालक, गृहिणी लगायत सम्पूर्ण क्षेत्र र वर्गलाई समस्या पारेको छ । अत्यन्तै चिसोका कारण बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको पाइन्छ । चिसोका कारण केही स्थानीय तहहरूले केही दिनका लागि विद्यालय बन्द गरेका छन् भने बजारमा नागरिकको उपस्थिति न्यून हुँदै गएको देखिन्छ । आमनागरिकलाई शीतलहर तथा चिसोबाट जोगाउनका लागि सम्बन्धित सरोकारवाला निकायले गम्भीर ध्यान दिनु जरुरी छ । आमनागरिकलाई बाँच्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको छ ।
नागरिकको बाँच्न पाउने अधिकारलाई कार्यान्वयन गर्नका लागि विशेष स्थानीय सरकारले गम्भीर ध्यान दिनु जरुरी छ । स्थानीय सरकारले चिसोबाट नागरिकलाई जोगाउनका लागि विभिन्न योजनाहरू बनाउन आवश्यक देखिन्छ । स्थानीय सरकारले योजनाहरू बनाउने तर ती योजना केवल कागजमा मात्र सीमित हुने गरेका पाइन्छन् । योजनालाई कार्यान्वयन तहसम्म पु¥याइएको देखिँदैन् । यसअघिका वर्षहरूमा स्थानीय सरकार, जिल्ला प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायहरूले गाउँसहरका चोकचोकहरूमा दाउरा वितरण गर्ने, ज्येष्ठ तथा शारीरिक अपांगता भएका नागरिकहरूलाई कम्बल लगायतका न्यानो कपडाहरू वितरण गर्ने गरेका हुन्थे । तर यसवर्ष बाँकेमा यसप्रकारका कुनै पनि क्रियाकलापहरू गरेको पाइँदैन् । नागरिकको जीवन जोगाउनका लागि कुनै पनि निकाय सक्रिय रूपमा लागेको पाइँदैन् । चोकहरूमा वितरण गरिएका दाउरा तापेर केही समय भए पनि नागरिकले न्यानो महसुुस गर्न पाउँछन् । कम्बल तथा न्यानो कपडाले केही भए पनि राहत मिल्न सक्छ । तर यसतर्फ कुनै पनि सरोकारवाला निकायको आँखा पर्न नसक्नु गम्भीर त्रुटि हो । सरकारी तवरबाट हुने समितिले कागजमा सीमित कार्ययोजना बनाउने गरेको देखिए पनि व्यवहारमा भने लागू नगर्दा नागरिकहरू पीडित बनेका छन् ।
बाँके लगायतका तराई र मधेशका जिल्लाहरूमा अहिले हुस्सु लाग्ने, घाम नलाग्ने, सिरसिर चिसो हावा चल्ने, बढी शीत पर्ने, जमिन ओसिलो भइराख्ने मौसमी अवस्था छ । विगत दुई हप्तादेखि चलिरहेको शीतलहर एक चुनौती नै बनेको छ । नागरिकलाई शीतलहर र चिसोबाट जोगाउनका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ । हरेक वर्ष शीतलहरका कारण तराई र मधेशका विभिन्न जिल्लाहरूमा नागरिकको ज्यान गइरहेका समाचारहरू आइरहेका हुन्छन् । हरेक वर्ष हुने यस्ता घटनाहरूबाट शिक्षा लिँदै पाठ सिक्दै नयाँ योजनाहरू बनाएर नागरिकलाई जोगाउन आवश्यक देखिन्छ । शीतलहरबाट हुने स्वास्थ्य समस्या र मानवीय क्षतिलाई न्यूनीकरण गर्नका लागि सरकारी तथा गैरसरकारी प्रयासहरू गर्न जरुरी छ । दैनिक जीवन चलाउन कठिन नागरिकहरूलाई ओढ्ने र ओछ्याउने तथा लगाउने बाक्लो कपडाहरूको व्यवस्थापन गर्न तथा उनीहरूको निःशुल्क तथा प्रभावकारी रूपमा स्वास्थ्य उपचारको व्यवस्था पनि गर्न आवश्यक देखिन्छ । स्थानीय सरकार नै नागरिकको नजिकको र विश्वासिलो सरकार भएका कारण शीतलहरबाट हुनसक्ने प्रभावित परिवारको पहिचान गर्ने, सहयोग तथा राहतको कार्यक्रम सञ्चालन गर्ने, उनीहरूलाई जोखिमबाट बचाउने काममा अग्रस्थानमा स्थानीय सरकारले नै काम गर्न जरुरी छ।









प्रतिक्रिया दिनुहोस्