जुम्ला ।
तिला गाउँपालिका–२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् । जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त जलविद्युत् आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका स्थानीय बताउँछन् ।
विसं २०७४ मा पूर्वाधार विकास कोषको लगानीमा निर्माणाधीन उक्त आयोजनाका लागि गाउँपालिकाद्वारा खरिद गरिएका विद्युतीय उपकरण सडकमा अलपत्र छन् भने अहिले आयोजना पूर्णरूपमा बन्द छ । ‘विसं २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पहलमा ती उपकरण खरिद गरिएको हो ।
हामी निर्वाचित भएर आएपछि ती सामान गाउँपालिकामा ल्याएका हौँ । अघिल्लो जनप्रतिनिधिको पालामा पेश्कीबापत केही रकम मात्र भुक्तानी दिइएको रहेछ,’ तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भने । तिला–७ स्थित तिला नदीबाट एक मेघावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ तिला गाउँपालिका र प्रतिनिधिसभाका तत्कालीन सांसद गजेन्द्रबहादुर महतको पहलमा पूर्वाधार विकास कोषमा रहेको रु ११ करोड बजेट खर्च गरी आयोजना निर्माण भएको थियो । जलविद्युत् आयोजनासहित आवश्यक उपकरण प्रयोगविहीन भएपछि स्थानीयले तत्काल सञ्चालनमा ल्याउनुपर्ने भन्दै दबाब दिइरहेका छन् ।
छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति
दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति सुरु गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनिग्रिडबाट १२० परिवार लाभान्वित भएका छन् । मिनिग्रिड सञ्चालनमा आएसँगै १२० परिवार, तीन व्यावसायिक फर्म र चार वटा सरकारी कार्यालयमा विद्युत् सेवा पुगेको व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए ।
उक्त सौर्य मिनिग्रिड सञ्चालनमा आएपछि स्थानीयले नियमितरूपमा विद्युत् प्रयोग गर्न पाएका छन् । चिसो मौसमका कारण ब्याट्रीका लागि बेलुका ९ः००–१०ः०० बजेदेखि राति २ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द गरिने वडाध्यक्ष बोहराले जानकारी दिए । मिनिग्रेडबाट उत्पादित विद्युत् वितरणका लागि एक दशमलव ११३ किलोमिटर ‘थ्रीफेज’ र ४३२ मिटर ‘सिङ्गलफेज’ प्रसारण लाइन निर्माण गरिएको छ । सशस्त्र प्रहरी कार्यालयबाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीलगायत कार्यालयमा पनि सोही ग्रेडबाट विद्युत् आपूर्ति भइरहेको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत अमानुवल हक अन्सारीका अनुसार मिनिग्रिड निर्माणमा केन्द्रको रु चार करोड १३ लाख ३३ हजार १०२ र स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदान रहेको छ । यसअघि छाङरुमा लघु जलविद्युत्मार्फत विद्युत् सेवा पु¥याउने प्रयास भए पनि हिमपात, बाढीपहिरोका कारण पटकपटक क्षति पुग्दा सेवा नियमित हुनसकेको थिएन । घरघरमा उज्यालो भएपछि यहाँका स्थानीय खुसी भएका छन् ।









प्रतिक्रिया दिनुहोस्