हुम्ला ।
जिल्लाको उत्तरी क्षेत्रका दुई दर्जन बस्तीमा ज्येष्ठ नागरिकको मात्र बास छ । बालबालिकासहित युवाहरू पढाई र कामका लागि सहर केन्द्रित हुन थालेपछि गाउँमा ज्येष्ठ नागरिकको मात्रै बास हुने गरेको हो । यहाँका युवा खेतीपातीभन्दा पनि गाउँ छोडेर व्यापार व्यवसायमा केन्द्रित हुँदा यी बस्तीमा ज्येष्ठ नागरिकको मात्र बास रहेको सिमकोट गाउँपालिका–३ की पुटी लामाले बताइन् ।
जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाका उच्च क्षेत्रका बस्तीमा साठी वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको बसोवास हुने गरेको उनको भनाइ छ । उनका अनुसार सिमकोट गाउँपालिकाका मात्रबुराउसे, लाङ्दु, बरगाउँ, तोर्पा, हुटिक, लिमाटाङ र गुम्बाटल्की बस्तीमाप्रति घरमा एकदेखि तीन जनासम्म ज्येष्ठ नागरिकहरू बस्दै आएका छन् ।
तिनै ज्येष्ठ नागरिकले सके खेतीपाती गर्ने, नसके अदिया वा बाँझो राख्ने र पशुवस्तु पालन गरि बस्ने गरेको उनले जानकारी दिइन् । ‘यी वस्तीका केही घरमा त ताला लगाएर बन्द समेत गरिएको छ । साथै गाउँमा बस्ने ज्येष्ठ नागरिकहरू घर हेरालुका रूपमा पनि बस्दै आएका छन्’ उनले भनिन्, ‘यी बस्तीका बालबालिका पढाइका लागि सदरमुकाम र बाह्य जिल्लाका सहरमा केन्द्रीत हुँदा आमाले पनि गाउँ छाड्नुपरेको अवस्था छ। युवाहरू घरखेती भन्दा पनि व्यापार व्यवसाय र नोकरी गर्न गाउँ छोडेको कारण ती बस्तीहरू ज्येष्ठ नागरिकको भरमा छन् ।’









प्रतिक्रिया दिनुहोस्