अवैध संरचना हटाउन सात दिने अल्टिमेटम



वीरेन्द्रनगर ।

सुर्खेतको भेरीगंगा नगरपालिकाले सडक क्षेत्राधिकारभित्र रहेका अवैध संरचना हटाउन सात दिनको अल्टिमेटम दिएको छ । इलाका प्रहरी कार्यालय छिन्चुदेखि पिपल चौतारा हुँदै छिन्चु खोलाको पुलसम्मको सडक खण्डमा अवैधानिक रूपमा बनाइएका संरचना हटाउन नगरपालिकाले अल्टिमेटम दिएको हो ।

निजी स्वार्थमा सडकभित्रै संरचना निर्माण, व्यवसायिक गतिविधि सञ्चालन र सडक क्षेत्र अतिक्रमणजस्ता कार्यले सर्वसाधारणको आवतजावतमा प्रत्यक्ष असर परेको छ । संरचना हटाउन सात दिनको समय दिएको भन्दै निर्देशन पालना नगरे नगरपालिकाले डोजर प्रयोग गरेर भत्काउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर ठाडाले चेतावनी दिए ।

सडक संकुचित हुन थालेपछि दुर्घटनाको जोखिम समेत बढेको उनको भनाइ छ । सात दिनभित्र सडक क्षेत्रभित्र पर्ने सम्पूर्ण अवैधानिक संरचना स्वेच्छाले हटाउन समेत उनको अनुरोध छ । ‘सडकमा असर पर्ने कुनै पनि गतिविधि नगर्न÷नगराउन ध्यानाकर्षण गराएका छौँ’ उनले भने, ‘तोकिएको समयसीमा उल्लंघन भएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार