पूर्वमन्त्री बुढासहित तीनजना भ्रष्टाचार मुद्दामा दोषी ठहर



सुर्खेत ।

कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री तथा नेकपा एमालेका नेता नन्दसिंह बुढा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । १५ वर्षअघि झोलामा नक्कली विद्यालय खडा गरी भुक्तानी लिएको अभियोगमा बुढा भ्रष्टचारी ठहर भएका हुन् । उक्त प्रकरणमा बुढासँगै अन्य तीन जना पनि भ्रष्टचारी ठहर भएका छन् ।

उनीहरूले आर्थिक वर्ष २०६७–०६८ मा डोल्पाको तत्कालीन दुनै गाविस–२ र ३ स्थित तिप्लामा अस्तित्वमै नरहेको दुर्गा प्राथमिक विद्यालयको दुई कोठे भवन निर्माण सम्पन्न भएको झुटा कागजात तयार पारेका थिए । झुटा कागजात तयार गरी चेकमार्फत सात लाख ६० हजार रूपैयाँँ भुक्तानी लिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ असार १८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले नक्कली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका बुढासहित तत्कालीन जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख रविचन्द्र पञ्जियार, लेखापाल मनिराम कुर्मी र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढालाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले चारै जनालाई जनही एक लाख ९० हजार रूपैयाँँ जरिवाना र एक वर्ष ६ महिना कैद सजाय हुने फैसला सुनाएको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका बुढा २०७४ सालमा नेकपा एमालेबाट कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७५ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा बनेको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।

२०७८ सालमा एमालेको पार्टी निर्णय विपरीत अल्पमतमा परेका मुख्यमन्त्री शाहीलाई समर्थन गर्दै उनले फ्लोरक्रस गरी पुनः मन्त्री पद सम्हालेका थिए । त्यसपछि २०७९ सालमा उनी पुनः एमालेमै फर्किएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार