सम्पादकीयः ख्रीष्टमसको शुभकामना



नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताले भरिएको मुलुक हो । जातिय, भाषिक, साँस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्रै नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको छ । नेपालीका चाडपर्वहरू र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको छ । सबै धर्म मान्ने धर्मावलम्बीहरूका चाडपर्वहरूले एकआपसमा विश्वास र बन्धुत्वको भावना कायम राखेको छ । नेपालमा हिन्दु, मुस्लिम, इसाई, किरात, सिख लगायतका अन्य धर्म मान्ने धर्मावलम्बीहरू मिलेर बसेका छन् । सबै धर्मावलम्बी, समुदायहरूको आ–आफ्नै धार्मिक, साँस्कृतिक रीतिरिवाज रहेका छन् । आ–आफ्नै धार्मिक चाडपर्वहरू रहेका छन् । हरेक धर्म, सम्रदाय, जातजातिका आ–आफ्नै रहनसहन, आ–आफ्नै संस्कार, चाडवाड, भाषा, भेषभूषा, संस्कृति रहेका छन् । जुन नेपालका लागि अत्यन्तै सुन्दर रूपमा रहेका छन् । एउटै देशमा विभिन्न भाषा, भेषभूषा, धर्म, संस्कृति, संस्कार तथा चाडवाड मान्ने समुदाय रहनु भनेको अत्यन्तै गर्वको विषय हो । एउटै समाजमा बस्ने हरेक नागरिकले एकअर्काका बारेमा सम्पूर्ण कुराहरूको ज्ञान लिन सक्छ ।

उसका हरेक चाडवाड र धर्मका बारेमा जानकारी लिन सक्छ । एकले अर्कालाई आवश्यक सहयोग गर्न सक्छ । यो नै नेपालको सुन्दर पक्ष हो । एक धर्मलाई अर्को धर्मले सम्मान गर्ने, एक धर्मका चाडवाडहरू अर्का धर्मावलम्बीहरूले मिलेर मनाउने गरिँदै आइएको छ । जसले गर्दा एकआपसमा भाइचाराको सम्बन्धमा वृद्धि हुने गर्दछ । नेपाल एक धर्मनिरपेक्ष राष्ट्र हो । नेपालको संविधानले हरेक व्यक्तिलाई स्वस्फूर्त रूपमा आफ्ना धर्म तथा चाडवाडहरू मनाउन स्वतन्त्र दिएको छ । हरेक धर्म र समुदायका ठूला चाडवाडहरूमा सार्वजनिक बिदा दिने गरेको छ । जसले गर्दा हरेक धर्मावलम्बी र समुदायका चाडवाडहरू सीमित उनीहरूका मात्रै नभएर राष्ट्रका साझा चाडवाड हुन भन्ने सन्देश दिएको छ । हरेक चाडवाडहरू राष्ट्रिय रूपमा साझा भएका छन् । आज १० डिसेम्बर अर्थात् क्रीस्चियन समुदायले मनाउने प्रमुख पर्व क्रीष्टमस । ख्रीष्टमस, जसलाई बडादिन पनि भनिन्छ, यो पर्व जिसस क्राइस्टको जन्मदिनको रूपमा मनाइन्छ । यो पर्व क्रीस्चियन समुदायका लागि अत्यन्त महत्वपूर्ण छ, किनकि यो उनको जन्मको स्मरण गर्दछ जसले मानवजातिलाई मुक्तिको मार्ग देखाएको विश्वास गरिन्छ ।

ख्रीष्टमसको इतिहास धेरै पुरानो छ । लगभग २००० वर्ष पहिले, जिसस क्राइस्टको जन्म बेथलेहममा भएको थियो । उनको जन्मको समाचारपछि, क्रीस्चियन समुदायले उनको जन्मदिन मनाउन थाले । प्रारम्भमा, ख्रीष्टमसको तिथि निश्चित थिएन, तर चौथो शताब्दीमा, डिसेम्बर २५ तारिखलाई ख्रीष्टमसको तिथि निर्धारित गरियो । ख्रीष्टमसको अवसरमा, क्रीस्चियन समुदायले चर्चमा विशेष पूजा–अर्चना गर्दछन्, प्रार्थना गर्दछन्, परिवार र मित्रहरूसँग भेटघाट गर्दछन् र गरिब र असहायहरूलाई दान–दक्षिणा गर्दछन् । यो पर्वले प्रेम, शान्ति र सद्भावनाको सन्देश फैलाउँछ । ख्रीष्टमसको समयमा घरहरू र चर्चहरू दुल्हन जस्तै सजाइन्छन् र मानिसहरू एक अर्कालाई शुभकामना दिन्छन् । नेपालमा पनि क्रीस्चियन समुदायले ख्रीष्टमसलाई ठूलो उल्लासका साथ मनाउँछन् । विभिन्न चर्चहरूमा विशेष कार्यक्रमहरू आयोजना गरिन्छन् र समुदायका सदस्यहरू एकत्रित भएर पूजा–अर्चना, प्रार्थना गर्दछन् । ख्रीष्टमसको अवसरमा नेपालका विभिन्न भागहरूमा गरिब र असहायहरूलाई खाना, कपडा र अन्य आवश्यक वस्तुहरू वितरण गरिन्छ । यो पर्वले सबैलाई प्रेम, शान्ति र सुख–शान्ति प्रदान गरोस् । एक अर्कालाई प्रेम, सहानुभूति र सद्भावनाका साथ व्यवहार गरौँ । ख्रीष्टमस मनाउने सम्पूर्ण समुदायलाई हार्दिक शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार