विपद् जोखिम व्यवस्थापनमा सरोकारवालाको सहकार्य



वीरेन्द्रनगर ।

नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश समितिको आयोजनामा विपद् जोखिम व्यवस्थापन तथा मानवीय सेवासम्बन्धी प्रदेशस्तरीय समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा कर्णाली प्रदेश सरकार, सुरक्षा निकाय, गैरसरकारी संस्था, निजी क्षेत्र तथा सरोकारवाला निकायबीच आपसी सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

विपद् जोखिम व्यवस्थापन र आपत्कालीन प्रतिकार्यका लागि सरोकारवालाहरूको सामूहिक भूमिकाबारे समीक्षा गरिएको हो । बैठकमा सहभागी सरोकारवाला निकायले विपद् व्यवस्थापनका लागि प्रदेशमा पूर्ण सरसफाइ कार्यक्रम, मनोसामाजिक परामर्श सेवा, प्रदेशस्तरीय रक्त बैंक तथा रक्तसञ्चार व्यवस्थापन सफ्टवेयर सञ्चालनमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।

यस्तै एम्बुलेन्स सेवा, गोदाम व्यवस्थापन, नगरपालिकास्तरमा राहत सामग्री भण्डारण, ड्रिल तथा सिमुलेसन अभ्यास, विपद् प्रतिकार्य (खाद्य÷गैरखाद्य सामग्री तथा यातायात) र जीविकोपार्जनसम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउने उनीहरूको भनाइ छ ।
बैठकले कर्णाली प्रदेशमा विपद् जोखिम न्यूनीकरण, आपत्कालीन तयारी तथा मानवीय सेवामा सरोकारवाला सबै निकायबीच दीगो सहकार्य र समन्वयलाई थप मजबुत बनाएको निष्कर्ष निकालिएको छ ।

रेडक्रसले स्वयंसेवक, कर्मचारी र समुदायलाई खोज तथा उद्धार र प्राथमिक उपचारलगायतका विषयमा तालिममार्फत सशक्त बनाउँदै आएको प्रदेश समितिका अध्यक्ष लीलाराम सुवेदीले बताए । विपद् व्यवस्थापनमा रेडक्रसको सेवा र पहुँच वृद्धिमा जोड दिइएको उनको भनाइ छ ।
उनका अनुसार प्रदेश तथा जिल्ला शाखा र स्थानीय सरकारलाई विपद् तयारी तथा प्रतिकार्य योजना बनाउन सहजीकरण गरिएको छ भने भूकम्प प्रतिरोधी भवन निर्माणका लागि तालिम तथा कम लागतका प्रकृतिमैत्री न्यूनीकरण संरचना निर्माणमा समेत योगदान पु¥याइएको छ ।

रेडक्रस कर्णालीका कार्यक्रम व्यवस्थापक राजकुमार क्षेत्रीले सातै प्रदेशमा रेडक्रसका प्रदेशस्तरीय कार्यालय स्थापना भई सक्रिय रूपमा कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार कर्णाली प्रदेश समिति २०७५ चैत २० गते गठन भएको हो । कर्णाली प्रदेशमा हाल १० जिल्ला शाखा, नगरपालिकास्तरमा १२१ उपशाखा तथा विद्यालय स्तरमा ३०१ जुनियर÷युवा रेडक्रस सर्कल सञ्चालनमा छन् भने करिब एक हजार ५०० जना प्रशिक्षित स्वयंसेवक सक्रिय रूपमा कार्यरत छन् ।

रेडक्रसका सिनियर कार्यक्रम व्यवस्थापक रेशमबहादुर खड्काले रेडक्रसले गृहिणी महिला समूह, ज्येष्ठ नागरिक मिलन केन्द्र र विद्यालयमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । यस्तै स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, बर्थिङ सेन्टर तथा स्वास्थ्य संस्थाको निर्माण÷मर्मत, उपकरण सहयोग र सेवाग्राही सन्तुष्टि मूल्यांकनजस्ता कार्यहरू रेडक्रसले गर्दै आएको उनको भनाइ छ ।
यस्तै घरदैलो भ्रमणमार्फत व्यवहार परिवर्तनका कार्यक्रम भइरहेको उनले बताए । उनका अनुसार खानेपानी आयोजना, शौचालय, फोहोर व्यवस्थापन संरचनाको निर्माण÷मर्मत तथा पानीको गुणस्तर परीक्षण केन्द्र स्थापना जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार