पुरुषोत्तम सुबेदी । काठमाडौँ ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशन तोकिएको समयमा हुनेमा अझै अन्योल कायमै देखिएको छ । पार्टीले आगामी पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरे पनि क्रियाशील सदस्यता वितरणमा देखिएको ढिलाइ र गुटीय खिचातानीले गर्दा महाधिवेशन सर्ने संकेतहरू देखिएका छन् । विशेषगरी आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै पार्टीभित्र तीनवटा शक्तिशाली धारहरू नेतृत्व हत्याउने र टिकट वितरणमा आफ्नो पकड जमाउने रणनीतिमा लागेका छन् ।
देउवा पक्षः नेतृत्व र टिकटमा पकड जोगाउने दाउ
देउवा पक्षको मुख्य रणनीति आगामी निर्वाचनमा टिकट वितरणको अधिकार आफ्नै हातमा राखिराख्नु हो । संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा समूहले सकेसम्म वर्तमान नेतृत्वलाई केही महिना लम्बाउने वा महाधिवेशन भए पनि संस्थापन पक्ष अर्थात् सभापति देउवा समूह निकट मानिने नेतृत्वलाई सत्ता हस्तान्तरण गर्ने योजनामा छ ।
प्रतिनिधिसभा निर्वाचन अगावै पार्टीको महाधिवेशन नभए वर्तमान नेतृत्वले नै टिकट वितरणको बागडोर सम्हाल्ने भएकोले देउवा पक्ष प्रतिनिधिसभा निर्वाचनसम्म वर्तमान नेतृत्वलाई नै निरन्तरता दिन वा आफ्नै अनुकूलको परिस्थिति निर्माण गर्न लागिपरेको छ ।
यदि महाधिवेशन चुनाव अगाडि भएमा र नेतृत्व परिवर्तन भएमा टिकट वितरणमा आफ्नो प्रभाव घट्ने डर देउवा पक्षमा देखिन्छ । त्यसैले यो पक्षले प्राविधिक कारण देखाउँदै महाधिवेशनलाई केही समय धकेल्ने वा आफ्नै पकड कायम रहने गरी प्रक्रिया अघि बढाउने रणनीति अख्तियार गरेको ठहर छ ।
शेखर कोइराला पक्षः हस्तक्षेपकारी भूमिकाको खोजी
संस्थापन इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला महाधिवेशन समयमै हुनुपर्ने पक्षमा दृढ देखिन्छन् । कोइरालाको मुख्य योजना आफू सभापति निर्वाचित भएर आगामी निर्वाचनमा उम्मेदवार छनोट (टिकट वितरण)मा मुख्य भूमिका खेल्नु हो । कोइरालाले हालैका सार्वजनिक कार्यक्रमहरूमा क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइले महाधिवेशन केही दिन तलमाथि हुन सक्ने संकेत गरे पनि निर्वाचन अगाडि नै नयाँ नेतृत्व आउनुपर्ने अडान राख्दै आएका छन् । उनले पार्टीको वैधानिकता बचाउन र कार्यकर्तामा उत्साह भर्न पनि समयमै महाधिवेशन अनिवार्य भएको बताउँदै आएका छन् ।
गगन–विश्व पक्षः युवा पुस्ताको विद्रोह र नेतृत्व परिवर्तनको एजेन्डा
पार्टीका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको धारले भने स्पष्ट रूपमा नेतृत्व हस्तान्तरणलाई मुख्य एजेन्डा बनाएको छ । युवा पुस्ता र देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरलाई शक्तिको रूपमा प्रयोग गर्दै उनीहरूले निर्वाचन अगाडि नै महाधिवेशन हुनुपर्ने दबाब दिइरहेका छन् ।
महामन्त्रीद्वयको तर्क छ, पुरानै नेतृत्वबाट आगामी चुनाव जित्न सकिँदैन, त्यसैले नयाँ नीति र नयाँ नेतृत्वका साथ निर्वाचनमा जानुपर्छ ।उनीहरूले यदि नियमित महाधिवेशनमा ढिलाइ गरिए ‘विशेष महाधिवेशन’ डाकेर भए पनि नेतृत्व परिवर्तन गर्ने चेतावनी दिँदै आएका छन् ।
विशेष महाधिवेशनको अडान
नेपाली काँग्रेसभित्र महाधिवेशनको अन्योल चिर्न विशेष महाधिवेशनको मुद्दा जोडतोडले उब्जेको छ । विशेषगरी विशेष महाधिवेशन पक्षका नेता गुरु घिमिरेले तोकिएको समयमै महाधिवेशन हुनुपर्ने अडानलाई पुनः दोहो¥याए । नेता घिमिरेले पार्टी नेतृत्वलाई चेतावनी दिँदै भने, ‘प्राविधिक कारण देखाएर निर्वाचन कार्यतालिकामा सामान्य हेरफेर गर्नु एउटा कुरा हो, तर कुनै पनि बहानामा महाधिवेशन सार्ने वा पर धकेल्ने प्रयास स्वीकार्य हुने छैन ।’
महामन्त्रीद्वय र घिमिरेको युवा मोर्चा
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको नेतृत्व परिवर्तनको एजेन्डालाई नेता गुरु घिमिरे जस्ता वैचारिक नेताहरूको साथले थप बल पु¥याएको छ । यो समूहको बुझाइमा वर्तमान नेतृत्वकै फेरो समातेर आगामी निर्वाचनमा जाँदा काँग्रेसले जनमत गुमाउने खतरा छ । त्यसैले, ‘निर्वाचन अगाडि नयाँ नेतृत्व’नै यो समूहको बटमलाइन बनेको छ ।
क्रियाशील सदस्यतामा सकसः माघसम्म म्याद थप
पार्टीको मेरुदण्ड मानिने क्रियाशील सदस्यताको टुङ्गो अझै लाग्न सकेको छैन । यसअघि पुस १० गतेसम्म अन्तिम नामावली बुझाउने भनिए पनि प्राविधिक समस्या र विवादका कारण सो म्याद केही हप्ता परसम्म पुग्ने देखिएको छ । सदस्यताकै विवादले गर्दा तल्लो तहका (वडा, पालिका, जिल्ला) अधिवेशनहरू प्रभावित हुने निश्चित छ, जसले केन्द्रीय महाधिवेशनलाई सिधै असर पारेको छ ।
कार्यकर्तामा असन्तुष्टि
पार्टीभित्रको यो किचलोले आम कार्यकर्तामा भने व्यापक असन्तुष्टि बढेको छ । एकातिर निर्वाचनको मिति नजिकिँदै छ भने अर्काेतिर पार्टीको आन्तरिक विवादले चुनावी तयारी शून्यप्रायः छ । पार्टीले देश चलाउने कि गुट चलाउने ? भन्दै सामाजिक सञ्जाल र जिल्ला तहमा नेतृत्वलाई समयमै महाधिवेशन गर्न दबाब बढिरहेको छ ।
काँग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । तर, अहिलेसम्म क्रियाशील सदस्यता नै टुंगिएको छैन । कार्यतालिका अनुसार काम हुन नसकेपछि महाधिवेशन कार्यतालिका हेरफेर हुन सक्ने जनाइएको छ । नेपाली काँग्रेस यतिबेला विधानको रक्षा, आगामी निर्वाचनको तयारी र आन्तरिक शक्ति सन्तुलनको गम्भीर मोडमा उभिएको छ । नेतृत्वले व्यक्तिगत स्वार्थ त्यागेर समयमै महाधिवेशन सम्पन्न नगरे आगामी निर्वाचनमा पार्टीलाई ठूलो क्षति पुग्ने निश्चित देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्