बाँके ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रूपैयाँ बढाइएको छ।
मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रूपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रूपैयाँ र तेस्रो वर्गका लागि १४२ रूपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रूपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रूपैयाँ र तेस्रो वर्गका लागि १६३ रूपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।
निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर छ रूपैयाँ ९३ पैसा घटेर तथा पेट्रोलमा एक रूपैयाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्