
सुर्खेत ।
भेरी लिफ्टिङ आयोजनाअन्तर्गत रूख कटान कार्य तीव्र पारिएको छ । वीरेन्द्रनगरमा खानेपानीको दीर्घकालीन विकल्पका रूपमा भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउन लागिएको हो । यस परियोजनाअन्तर्गत रूख कटानको काम अन्तिम चरणमा पुगेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना इकाईका प्रमुख सन्जिवकुमार साहले जानकारी दिए ।
उनका अनुसार हालसम्म नौ सय बढी रूख कटान गरिएको छ । ‘वीरेन्द्रनगर नगरपालिका वडा नं. ८, ११ र १२ का सामुदायिक वनका रूख पहिलो चरणमा कटान गरिएको हो,’ उनले भने, ‘दोस्रो चरणमा लेकवेशी नगरपालिका वडा नं. १० मा रूख कटान गरिनेछ ।’ वीरेन्द्रनगर नगरपालिका वडा नं. ८, ११ र १२ तथा लेकवेशी नगरपालिका वडा नं. १० मा पर्ने ३.२ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग अनुमति प्राप्त भएपछि आयोजनाले रूख कटानको काम धमाधम अघि बढाएको हो ।
आयोजनाले कूल एक हजार पाँच सय रूख कटानको अनुमति पाएको छ । आयोजना प्रमुख शाहका अनुसार आयोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम पनि धमाधम भइरहेको छ । वीरेन्द्रनगर उपत्यकाभित्र ३५ किलोमिटर पाइपलाइन विस्तार गर्न लागिएको उने बताए । ‘पाइपलाइन विस्तारसँगै अन्य कामहरूले पनि गति लिने भएकाले प्राथमिकताका साथ काम अघि बढाइएको छ,’ उनले थपे, ‘१३ किलोमिटर पाइपलाइन विस्तारको काम सकिएको छ भने अबको केही दिनमा रूख कटानको काम सकेर आयोजना निर्माणका अन्य काम अघि बढाउने तयारी छ ।’
आयोजनाअन्तर्गत वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ अमृतडाँडामा पनि पूर्वाधार निर्माणका काम थालिएको छ । पर्खाल निर्माणको काम सुरु गरिएको छ । अबको केही दिनमा अन्य काम पनि सुरु गरिने खानेपानी क्षेत्र पूर्वाधार सहयोग आयोजनाले जनाएको छ । अमृतडाँडामा तीनवटा पानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । त्यहाँ ९० लाख लिटरको पानी प्रशोधन केन्द्र निर्माण गरिने उल्लेख छ । भेरीको पानी अमृतडाँडामा खसालिनेछ । अमृतडाँडामा इन्टेक निर्माणको काम हुनेछ । तर, केही काम अघि बढेपनि आयोजना निर्माणको कामले अपेक्षित गति लिन भने सकेको छैन ।
आयोजना निर्माण प्रक्रिया थालिएदेखि हालसम्म १३ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । पाइपलाइन विस्तार र रूख कटानको काम भने धमाधम भइरहेको छ । बाँकी कामलाई पनि अघि बढाएर तोकिएकै लक्ष्यमा काम गर्नेगरी अघि बढेको आयोजनाले जनाएको छ । अहिले वीरेन्द्रनगर नगरपालिकाको प्रत्यक्ष निगरानीमा आयोजना निर्माणको काम भइरहेको छ ।
यस आयोजना र नगरपालिकाको संयुक्त समन्वयनमा काम भइरहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । रूख कटानको काम सकिएको खण्डमा अन्य काम रफ्तारमा अघि बढ्ने उनको अपेक्षा छ । यो आयोजना तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ । २०८१ भदौ १२ गतेदेखि २०८४ भदौ १२ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तीन अर्ब पाँच करोडमा ठेक्का सम्झौता गरिएको हो ।
ग्लोबल टेण्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो । वीरेन्द्रनगर नगरपालिकाले ‘ड्रिम प्रोजेक्ट’को रूपमा अगाडि सारेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माण प्रक्रियामा प्रवेश गरेको हो ।
संघीयता कार्यान्वयनपछि खानेपानीको क्षेत्रमा संघीय सरकारबाट स्थानीय तहले पाएको सबैभन्दा ठूलो लगानीबाट भेरी लिफ्टिङ खानेपानी आयोजन बन्न लागेको आयोजनाले जनाएको छ । भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणका लागि कूल लागतको ७० प्रतिशत खर्च विश्व बैंकले बेहोर्ने छ । बाँकी ३० प्रतिशत रकम संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा लगानी गरिने छ । अहिले भने बिनाअवरोध विभिन्न काम भइरहेका छन् । यो आयोजना निर्माण भएको खण्डमा वीरेन्द्रनगरवासीले भोग्दै आएको खानेपानीको हाहाकार अन्त्य हुनेछ ।









प्रतिक्रिया दिनुहोस्