पूर्वाधार निर्माणका लागि श्रमदान अभियान



मुगु ।

छायाँनाथ रारा नगरपालिकाले थालेको श्रमदान अभियान प्रभावकारी बन्दै गएको छ । राज्यको स्रोतबिनै जनशक्तिको परिचालन गरेर निःशुल्करूपमा नगरपालिकामा विभिन्न पूर्वाधार बनाउने उद्देश्यले श्रमदान अभियान थालिएको हो । छायाँनाथ रारा नगरपालिकाले उदाहरणीयरूपमा श्रमदानबाट दर्जनौँ पूर्वाधार निर्माण गरेको छ । साना टुक्रे योजनाका लागि पनि स्थानीय तथा प्रदेश सरकारको मुखताक्ने कर्णालीका अधिकांश स्थानीयतहका लागि यो अभियान उदाहरण बनेको छ ।

नगरप्रमुख विष्णुकुमार भाम आफैँ श्रमदान अभियानको नेतृत्व गरेर होमिएपछि स्थानीय नागरिकले पनि साथ दिएका छन् । नागरिकको साथ पाउँदा छायाँनाथ रारामा श्रमदानबाटै लाखौँका योजना निर्माण भएका छन् । श्रमबाटै नगरपालिकाभित्र सुविधायुक्त प्रतीक्षालयदेखि दर्जनौँ खानेपानी धारा, सिँचाइ कुलो, पाटी पौवा, मठ मन्दिर, वृक्षारोपण लगायतका पूर्वाधार निर्माण गरिएको नगरप्रमुख भामले बताए । बजेटबिना पनि साना पूर्वाधार बनाउन सकिन्छ भन्ने संस्कारको विकास गर्न र नागरिकलाई श्रमदानमा जोड्न अभियान चलाइएको उनको भनाइ छ ।

‘विकासका ठूला सपना बाँडेर जनतलाई भ्रमित गर्नुभन्दा जनताको श्रम मिसाएर स–साना काम गर्नुपर्छ । जनताको हातले बनेको विकास कहिल्यै भत्किँदैन्,’ उनले भने, ‘सोही मान्यताबाटै श्रमदान अभियान थालेका हौँ । श्रमदान अभियानअन्तर्गत ‘१ मुख १० रुख’ अभियानबाट हालसम्म पाँच हजार बिरुवा पनि रोपिएको छ ।’ वृक्षारोपण अभियानले हरेक नागरिक आफ्नो घर वरिपरि सफा राख्न सचेत भएका छन् । साथै छायाँनाथ रारा नगरपालिका–३ को थापलचौडमा भर्खरै सुविधायुक्त प्रतीक्षालय निर्माण गरिएको छ ।

सवारी साधनको पर्खाइमा सधैँ भिडभाड भईरहने, उक्त स्थानमा बस्ने ठाउँ नहुँदा निकै अप्ठयारो थियो । नगरप्रमुख भामले त्यो अप्ठायारोलाई अनुभूति गर्दै अहिले श्रमदानबाट प्रतीक्षालय निर्माण गरेको जनाइएको छ । त्यसैगरी नगरपालिका भरी श्रमदानबाटै ३६ वटा खानेपानी धारा निर्माण गरिएको छ । जुन पालिकाको बजेटबाट बनेको भए करोड बजेट खर्च हुन्थ्यो । तर नगरप्रमुख भामले बगिरहेको स्रोत र जनशक्तिको प्रयोग गरी निःशुल्करूपमा धारा बनाएका हुन् ।

श्रमदानबाटै हरेक वडामा स्वच्छ पानीको पहुँच पु¥याउने लक्ष्य पूरा भएको नगरपालिकाले जनाएको छ ।‘नगरपालिकाका दिदीबहिनीहरू बिहानै टुकी बालेर पानीका लागि निकै टाढा हिँड्थे । गाउँमा धारा नहुँदा भोगेको समस्या नजिकबाटै महसुश गरेको थिएँ । त्यो पीडा मेरो लागि केबल दया होइन, जिम्मेवारी थियो,’ नगर प्रमुख भामले भने, ‘श्रमदान अभियानअन्तर्गत खानेपानीलाई विशेष प्राथमिकता दियौँ । ठेकेदार वा बाहिरी सहयोग होइन, श्रमदानको बाटो रोज्यौँ । जनताले आफैँ पाइप बोके, ढुंगा माटो बोके । आज त्यसैको नतिजा हो, नगरभित्र २६ वटा सार्वजनिक धारा निर्माण भएका छन् ।’

सार्वजनिक धारा निर्माणबाट सुरु भएको श्रमदान अभियान अहिले नगरकै पहिचान बनेको छ । थापलचौडको प्रतीक्षालयपछि सडक, नाला, विद्यालय, टोल र बजारसम्म श्रमदानको संस्कार विकास भएको नगरपालिकाले जनाएको छ । नगरका युवाहरूले आफ्नो गाउँ, टोल र समुदायमा एकजुट भएर काम गर्न थालेका छन् । इच्छाशक्ति भएको खण्डमा बजेटबिना पनि दर्जनौँ पूर्वाधार बनाउन सकिन्छ भन्ने उदाहरणसमेत छायाँनाथ रारा नगरपालिकाले दिएको छ । यो अभियान सञ्चालन गर्ने कर्णालीका ७९ वटा स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका उत्कृष्ट बनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर ७ गते आइतबार