कोहलपुर (बाँके) ।
बाँके र बर्दियाका विभिन्न स्थानमा नेपाल प्रिमियम लिग (एनपीएल) ट्रफी टुर सम्पन्न भएको छ । एनपीएल क्लब लुम्बिनी लायन्सको आयोजनामा बाँके र बर्दियाका विभिन्न स्थानमा ट्रफी टुर सम्पन्न भएको हो । यसअघि शनिबार र आइतबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी टुर सम्पन्न भएको थियो । सोमबार बाँके र बर्दियाका आधा दर्जन बढी स्थानमा ट्रफी टुर सम्पन्न भएको हो ।
सोमबारको ट्रफी टुर बाँकेको कोहलपुरस्थित चौराहाबाट सुरु भएको थियो । लुम्बिनी लायन्सका समर्थक, क्रिकेटप्रेमी तथा सरोकारवाला निकायको सहभागितामा ट्रफीको भव्य स्वागत गरिएको थियो । ट्रफी स्वागत कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख संगीता सुवेदीसहित नेपाली राष्ट्रिय महिला क्रिकेट टीमका पूर्व कप्तान एलबी क्षेत्री लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो । त्यसपछि एनपीएल ट्रफी बाँकेको कोहलपुर–११ स्थित प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पु¥याइएको थियो ।
निर्माणाधिन क्रिकेट मैदानमा ट्रफी प्रदर्शनसमेत गरिएको थियो । ट्रफी टुरमा सहभागी कोहलपुर नगरपालिकाका कार्यबाहक प्रमुख संगीता सुवेदीले एनपीएल नेपाली खेलकुद इतिहासमा एक कोशढुंगाको रूपमा रहेको बताइन् । खेलकुदको सहरको रूपमा विकास हुँदै गरेको कोहलपुरमा एनपीएल ट्रफी टुर हुनु सरकारात्मक रहेको उनले प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘एनपीएलले नयाँ खेलाडी उत्पादनमा सहयोग गरेको छ । हाम्रा खेलाडीहरूले विभिन्न देशका खेलाडीहरूसँग खेल प्रदर्शन गर्ने अवसर पाएका छन् । क्रिकेटको विकासका लागि हाम्रो नगरसमेत लागिपरेको छ ।’
यस्तै पूर्व कप्तान क्षेत्रीले ट्रफी टुर प्रदर्शनका लागि मात्र नभएर क्रिकेटप्रेमीहरूको भावनासँगसमेत जोडिएको बताए । ‘हाम्रै घरआँगनमा एनपीएल ट्रफी प्रदर्शन हुनु सकारात्मक कुरा हो । हामी सबै मिलेर न्यानो स्वागत गरेका छौँ । एनपीएलका कारण फेरि क्रिकेटको माहौल बन्दै गएको छ ।’ उनले भने । यस्तै एनपीएल ट्रफीलाई नेपालगन्जस्थित प्रसिद्ध बागेश्वरी मन्दिर, एमपी स्कुल र नेपालगन्ज रंगशालामा ट्रफी प्रदर्शन गरिएको थियो ।
एमपी स्कुलमा प्रदर्शनका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो । नेपालगन्जमा समेत क्रिकेटप्रेमीहरूले एनपीएल ट्रफीलाई भव्य स्वागत गरेका थिए । त्यहाँबाट बर्दियाको सदरमुकाम गुलरिया र बाँसगढी पु¥याइएलगत्तै एनपीएलको लुम्बिनी ट्रफी टुर सकिएको थियो ।
लुम्बिनी टुर बाँसगढीस्थित केदारेश्वर धाम पुगेर सकिएको थियो । तीनदिनसम्म लुम्बिनीमा सञ्चालन भएको टुरको अबको गन्तव्य भने कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशका विभिन्न स्थानमा प्रदर्शनी गरेर सुदूरपश्चिम प्रदेश लिइएपछि एनपीएल ट्रफी टुर सकिनेछ । यसपटकको ट्रफी टुरलाई क्यानले ग्लोबल वार्मिङ र वातावरण संरक्षणको जनचेतनासँग जोडेको छ । एनपीएल मंसिर १ गतेदेखि त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।









प्रतिक्रिया दिनुहोस्