सम्पादकीयः यात्रुलाई हैरान पार्ने काम बन्द गर



नेपालगन्जको सुर्खेतरोडस्थित वीपीचोक नजिक रहेको गुरुद्वारादेखि धम्बोझीचोकसम्मको सडकमा एकाबिहानैदेखि साँझसम्म एउटा अनौठो दृश्य देखिन्छ । त्यो दृश्य नेपालगन्जवासीले महिनौँ दिनदेखि देख्दै र भोग्दै आएका छन् । सडकका किनारामा लस्करै झुण्डमा उभिएका युवाहरूले रिक्सामा हिँडिरहेका हरेक व्यक्तिहरूलाई रोक्ने, तान्ने र रिक्साकै पछाडि झुण्डिएर कतै लगिरहेका हुन्छन् । यो दृश्य नेपालगन्जवासीहरूलाई सामान्य नै लाग्न थालिसकेको छ । सडकमा उभिएका युवाहरूले रिक्सामा यात्रा गरिरहेका व्यक्तिहरूलाई जबर्जस्ती गरेर तानातान गर्दै आआफ्ना सवारीसाधनमा लैजानका लागि यसो गरिरहेका हुन् । नेपालगन्जबाट विभिन्न प्रालिका गाडीहरू धम्बोझीचोकदेखि खजुरा जाने सडकमा बर्दिया जानका लागि रोकिएर राखिएका हुन्छन् । धम्बोझीचोकदेखि करिब दुई तीन सय मिटर टाढाको दूरी खजुरारोडमा राखिएका गाडीहरूका प्यासेन्जर खोज्नका लागि विभिन्न गाडीहरूमा कार्यरत युवाहरू झण्डै एक किलोमिटर टाढाको दूरी वीपीचोकसम्म सडकमा बसेर रिक्सामा हिँड्ने यात्रुहरूलाई तानातान गरेर हैरानी गराउँदै आएको देख्न सकिन्छ । धम्बोझीचोकमा रहेका प्रहरीहरूकै अगाडि उनीहरूले रिक्सामा यात्रा गरिरहेका यात्रुहरूलाई जबर्जस्ती तानातान गरिरहेका दृश्य सजिलै देख्न सकिन्छ । यात्रुहरू कहाँ जाने ? कुन गाडीमा जाने ? कसरी जाने ? यो कुरा यात्रुहरूमै भर पर्ने कुरा हुन् ।

तर रिक्सामै झण्डै वीपीचोकसम्मै पुगेर यात्रुलाई जबर्जस्ती तान्दै गरेको दृश्यलाई स्वभाविक मान्न सकिँदैन् । कतिपय यात्रुहरूका सामानहरू एउटा गाडीमा, व्यक्ति अर्को गाडीमा तथा सँगै आएका समूहका व्यक्तिहरू छुट्टिएर अलग अलड गाडीमा हाल्ने गर्दा यात्रुहरूले अत्यन्तै असहज र हैरानी खेपेको महसुस गरिरहेका हुन्छन् । उनीहरूले नचाहिँदो दुःख भोगिरहेका हुन्छन् । कतिपय घटनामा त यात्रुहरूका सामानहरू समेत हराएका पाइन्छन् । वीपीचोकदेखि धम्बोझीसम्म मात्र नभएर पुष्पलालचोक नजिक पनि यस्ता दृश्य दैनिकरूपमा देख्न सकिन्छ । जहाँ रिक्सामा यात्रा गर्ने यात्रुहरूले दैनिक कष्ट र झण्झट व्यहोरिरहेका हुन्छ । प्रायः गरी नेपालबाट भारत जाने र भारतबाट नेपाल फर्किने यात्रुहरू बढी समस्यामा परेका देखिन्छन् । सामान हराउने, आफ्नै साथीहरू छुटेर अलग हुने, तानातान गर्दा शरीरमा चोटपटक लाग्ने मात्रै नभएर रिक्सासँगै र रिक्साको पछाडि पछाडि युवाहरू दगुर्ने गर्दा दुर्घटनाका सम्भावना पनि हुन्छन् । त्यतिमात्र नभएर अहिले दसैँ तिहार मनाएर पुनः रोजगारीका लागि भारत फर्किरहेका नेपालीहरूलाई नेपालगन्जको पुष्पलाल चोकमा ई–रिक्सा चालकहरू, होटल सञ्चालक, टिकट काट्ने व्यवसायीहरूले लुछाचुँडी गरिरहेका देखिन्छन् । यस्तोमा सामान हराउने, टुटफुट हुने समस्या भोगिरहेका छन् ।

यसका साथै भारतका विभिन्न सहरमा जाने भारतीय बसको टिकट काट्न नेपालगन्जमा खुलेका काउन्टरहरूले पनि यात्रुहरूलाई ठगी गर्ने गरेको पाइन्छ । कतिपय दर्ता नभएका टिकट काउन्टरहरू खुलेका छन् । तिनीहरूले यहाँ एसी गाडीको टिकट भनेर शुल्क लिन्छन्, उनीहरूले रुपैडिहाबाट विभिन्न ठाउँमा जाने बसको टिकट काटेका हुन्छन् । तर जाँदा थोत्रा बसमा हालेर पठाएका गुनासाहरू पनि थुप्रै सुनिन्छन् । यस्ता टिकट काउन्टरहरूसँग होटल सञ्चालकहरूले नै मिलोमतो गरी यात्रुहरू पठाउने गरेका पाइन्छन् । समग्रमा यात्रु तान्न सडकमा बस्ने युवाहरूको झुण्ड बाटमात्रै नभएर यात्रुहरूले होटल सञ्चालक, टिकट काउन्टर, ई–रिक्सा लगायतबाट दैनिकरूपमा हैरानी खेप्नुपरिरहेका देखिन्छन् । यस कार्यलाई न्यूनीकरण तथा रोकथाम गर्नका लागि प्रहरी प्रशासन चनाखो बन्न आवश्यक छ । वीपीचोकदेखि पुष्पलालचोकसम्म सडकमै पुगेर यात्रु तान्ने कार्यलाई तत्काल बन्द गर्न आवश्यक छ । सम्बन्धित विषयहरूमा अनुगमन गर्ने, चेतावनी दिने तथा कारबाहीसम्म गर्न प्रहरी प्रशासन अघि बढ्नुपर्ने देखिन्छ । यात्रुहरूलाई आफ्नो स्वइच्छाअनुसार सरल र सहजरूपमा यात्रा गर्ने वातावरण बनाउन प्रहरी प्रशासनले नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक छ । सवारी सञ्चालन गरिरहेका विभिन्न कम्पनी तथा प्रालिहरूसँग सहकार्य र समन्वय गरी छलफलका माध्यमबाट यी हर्कतलाई बन्द गरी यात्रा गर्ने यात्रुलाई सहजताको वातावरण बनाउनु आवश्यक देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १७ गते सोमबार