नेपालका अधिकांश किसानहरूले धान घरभित्र भित्र्याइसकेका छन् । देशका कतिपय जिल्लाहरूमा सरकारले किसानसँग धान खरिद सुरु गरिसकेको अवस्था छ भने बाँकेसहित अझै कतिपय जिल्लाहरूमा धान खरिद कार्य सुरु गरिएको छैन् । त्यसैपनि यस वर्ष किसानहरू धान रोप्ने समयदेखि नै पीडामा परेका छन् । किसानहरूले धान रोप्ने समयमा प्रयाप्त पानीको अभावका कारण पीडा भोग्नुप¥यो । सिँचाइ सुविधा भएका किसानहरूले आफ्ना खेतमा समयमै धान रोप्न पाए भने सिँचाइ सुविधा नपुगेका आकासेपानीको भरमा किसानी गर्दै आएका कतिपय किसानहरूले भने पानी नपरेका कारण समयमै धान रोप्न सकेनन् । त्यसैगरी मल हाल्ने समयमा पनि किसानहरूले बजारमा पर्याप्त मल नपाउँदा खेतमा मल हाल्नसमेत पाएनन् । किसानहरूले धान रोप्ने तथा मलजल गर्ने समयमा पनि पर्याप्त पानी र मलजलका अभाव पनि धान रोप्न बाध्य भए । जसका कारण उत्पादनमा पनि पक्कै ह्रास आउने नै भयो । अब किसानहरूले आफूले जसोतसो गरेर उत्पादन गरेका धान काटेर आफ्नो घरमा भित्र्याइसकेका अवस्था छ । किसानहरूले उत्पादन गरेका धानलाई हरेक वर्ष सरकार आफैँले न्यूनतम समर्थन मूल्य तोकेर किसानहरूसँग धान खरिद गर्ने गरेको छ ।
सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य निर्धारण गरेपनि बाँकेमा भने धान खरिदमा ढिलाइ देखिएको छ । अझैसम्म जिल्लाका किसानहरूसँग सरकारले धान खरिद गर्ने कार्यको सुरुवात गरेको देखिँदैन् । जसका कारण किसानहरूले निजी व्यापारीहरूलाई सस्तोमै आफूले उत्पादन गरेका धान बेच्न बाध्य देखिएका छन् । सरकारले अझैसम्म पनि धान खरिद गर्न सुरु नगरेका कारण किसानहरूले आफ्नो घरखर्च चलाउनेदेखि लिएर आफ्नो घरव्यवहार धान्नका लागि पनि निजी व्यापारीहरूलाई सस्तोमै आफ्ना धान बिक्री गर्न बाध्य देखिन्छन् ।जसका कारण किसानहरूले धानको बीउ रोप्नेदेखि मलजलको व्यवस्था तथा औषधि, परिश्रम एवम् ज्यालामा लगानीको गरेको आफ्नो मूल्यसमेत नपाउने अवस्था रहेको देखिन्छ । सरकारले बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत किसानका धान खरिद गर्दै आएको छ । गत वर्षभन्दा यस वर्ष बाँकेमा धान खरिदको कोटासमेत घटाइएको छ । गत वर्ष बाँकेमा ३० हजार क्विन्टल मोटा धान र २५ हजार क्विन्टल मध्यम धान गरेर कूल ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । गत वर्ष बाँकेका किसानहरूसँग सरकारले सात हजार ६५३ क्विन्टल मोटा र २४ हजार ३७२ क्विन्टल मध्यम गरी जम्मा ३२ हजार २५ क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो ।
यस वर्ष कोटा घटाएर जम्मा १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम गरेर जम्मा २० हजार क्विन्टल धान खरिद गर्ने जनाएको छ । गत वर्षभन्दा यस वर्ष सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढाएको छ । गत वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४१० रूपैयाँ ५१ पैसा र मध्यम धानको मूल्य तीन हजार ५८० रूपैयाँ ६२ पैसा निर्धारण गरिएको थियो । यस वर्ष सरकारले गत वर्षभन्दा बढी मूल्य निर्धारण गरेको छ । यस वर्ष मोटा धानको प्रतिक्विन्टल तीन हजार ४६३ रूपैयाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रूपैयाँ ३३ पैसा तोकेको छ । तर समयमै किसानसँग धान खरिद सुरु नगर्दा भने अझैपनि उनीहरूलाई सरकारी दररेटमा धान बिक्री गर्न सकेका छैनन् । जसका कारण किसानहरूले मार खेप्नुपरेको अवस्था रहेको छ । निजी व्यापारीहरूले यसैको फाइदा उठाउँदै किसानसँग सस्तो मूल्यमै धान खरिद गरिरहेका छन् । व्यापारीले समर्थन मूल्यभन्दा निकै कममा धान खरिद गरेपनि कुनै प्रकारको अनुगमन वा निरीक्षण भएको पाइँदैन् । सम्बन्धित सरोकारवाला निकायले यसतर्फ पनि गम्भीर ध्यान दिनु आवश्यक देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्