विगत केही दिनदेखि नेपालको मौसममा बदली आएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि बंगालको खाडीमा विकसित चक्रावत ‘मोन्था’ भारतको आन्द्र प्रदेशमा प्रवेश गर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक आएर पूर्वतर्फ नेपालको वागमती, मशेस र कोशी प्रदेशमा पुगेका कारण त्यहाँको मौसम प्रभावित हुने तथा गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागहरूमा पनि प्रभावित बनाइरहेको जनाएको छ । मौसम विभागले कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरू त्था गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ । साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरूमा भारी हिमपातको सम्भावना समेत रहेको जानकारी दिएको छ । अहिले देशैभर मौसम प्रतिकूल बनेको छ । हिमालहरूमा हिमपात हुने तथा पहाड र तराईका जिल्लाहरूमा वर्षात हुने क्रम जारी छ । जसका कारण जनजीवनसमेत प्रभावित बनिरहेको देखिन्छ । किसानहरूले धान काट्ने समयमा सक्रिय बनेको मौसमले किसानलाई धान काट्न र स्याहर्नसमेत अप्ठ्यारो पारेको देखिन्छ ।
अर्कोतिर एक्कासि मौसममा आएको परिवर्तनका कारण चिसो बढ्न जाँदा वृद्धवृद्धा तथा बालबालिका एवम् दीर्घरोगीहरूलाई समेत असर पर्न सक्ने देखिएको छ । सम्भावित मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रको सम्बन्धमा मौसम विभागले नियमित अनुगमन र विश्लेषण गरिरहेको छ भने सम्भावित मौसम सक्रिय रहने स्थानहरूका बारेमा पनि नागरिकहरूलाई जानकारी गराइरहेको छ । सम्भावित वर्षा र हिमपातको कारणले नदीनालाहरूमा आकस्मिक बहाव, पहिरो लगायतका जोखिमहरू हुनुका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रहरूमा समेत प्रभाव परिरहेको छ । मौसम विभागले समय समयमा प्रवाह गर्ने मौसमसम्बन्धी जानकारी तथा अद्यावधिक पूर्वसूचनालाई मध्यनजर गर्दै सम्भावित विपद्बाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन आवश्यक छ । यात्रा गर्दा होस् या हिमाली क्षेत्रहरूमा जाँदा होस् सम्भावित मौसमका बारेमा जानकारी लिएर मात्र अगाडि बढ्न जरुरी छ । मौसम विभागले कात्तिक १३, १४ र १५ गते नेपालमा हुन सक्ने मौसमसम्बन्धी जानकारी गराएको छ । उक्त दिनहरूमा विभागले कोशी, मधेश, बागमती प्रदेशका सबै जिल्लाहरू तथा गोरखा, नवलपुर, नवलपरासी, रुपन्देही जिल्लाहरूमा सतर्कता अपनाउनुपर्ने तथा कपिलवस्तु, लमजुङ, अर्घाखाँची, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्लाहरूमा अद्यावधिक रहनुपर्ने चेतावनी दिएको छ ।
त्यसैगरी आज १४ गते कोशी, मधेश, बागमती प्रदेशका सबै जिल्लाहरू तथा गोरखा जिल्लामा सतर्क रहनुपर्ने र गण्डकी प्रदेशका सबै जिल्लाहरूमा अद्यावधि रहनुपर्ने जनाएको छ । भोलि १५ गते सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा जिल्लाहरूमा सतर्क रहुनपर्ने तथा मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम जिल्लाहरूमा अद्यावधिक रहनुपर्ने जानकारी दिएको छ । सम्भावित बाढी पहिरो तथा विपद्बाट जोगिनका लागि सम्पूर्ण नागरिकहरू सचेत हुनु जरुरी छ । मौसम विभागको सूचनाअनुसार आफू अद्यावधिक भएर मात्र काम गर्न तथा यात्रा गर्न र सुरक्षित स्थानमा स्थानान्तरण हुनु आवश्यक छ । सम्भावित विपद्बाट जोगिन र जोगाउनका लागि स्थानीय प्रहरी, प्रशासन, संघसंस्था तीनै तहका सरकार त्यसमा पनि विशेषगरी स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्न जरुरी छ । अत्यावश्यक कामबाहेक यात्रा नगरौँ, यात्रा गर्दा पनि सावधानीका साथ यात्रा गरौँ, काट्न बाँकी रहेको धानबाली केही दिन नकाटौँ, हिमाली क्षेत्रमा केही दिनका लागि यात्रा नगरौँ, सम्भावित पहिरो जाने ठाउँ र डुबान हुने ठाउँहरूको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरौँ । जसले गर्दा सम्भावित जोखिमबाट बच्न सकिन्छ । सम्भावित विपद्बाट जोगिनका लागि आवश्यक तयारी गर्नुका साथै सचेतता अपनाउन आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्