आजदेखि भेडाखेतमा पुरुष भलिबल हुँदै



रूकुम पश्चिम ।

रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका– ९ भेडाखेतमा पुरुष भलिबलसहित विभिन्न खेलकुद प्रतियोगिता हुने भएका छन् । परम्परागत भेडाखेत मेलाको अवसरमा मेला व्यवस्थापन समितिले वडास्तरीय पुरुष भलिबल, छेलो, महिला रसाकसी, घैँटो फोर र भाले तान्ने प्रतियोगिता आयोजना गरेको हो ।

पुरुष भलिबलको विजेताले १ लाख १ हजार १ सय ११ रूपैयाँँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष कर्णबहादुर ओलीले जानकारी दिए । उपविजेताले ५७ हजार १ सय नगद पुरस्कार पाउँदा सान्त्वना हुने २ टिमले समान २५ हजार १ सय ११ रूपैयाँँ पुरस्कार पाउने छन् । दर्ता शुल्क ७ हजार ५ सय तोकिएको छ ।

भलिबलमा उत्कृष्ट खेलाडी र उत्कृष्ट स्पाइकरसमेत छनोट गरेर पुरस्कृत गरिने अध्यक्ष ओलीले बताए । छेलोमा प्रथमले ३ हजार ५ सय, द्वितीयले २ हजार ५ सय र सान्त्वनाले १ हजार ५ सय, रसाकसीको प्रथमले ३ हजार ५ सय र द्वितीयले २ हजार, घैँटो फोरको प्रथमले २ हजार ५ सय तथा भाले तान्नेमा प्रथमले रातो भाले प्राप्त गर्ने बताइएको छ ।

साथै मेलामा सहभागी पञ्चेबाजा र मयुर नाच समूहलाई प्रोत्साहनस्वरूप समान ५ हजार तथा सिंगारु नाच र स्थानीय मौलिक कलासहित सहभागी टिमलाई प्रोत्साहनस्वरूप समान ४ हजार प्रदान गरिने अध्यक्ष ओलीको भनाइ छ । प्रतियोगिता आजदेखि सुरु हुने आयोजकले जनाएको छ । मेला भने कात्तिक १५ गते लाग्ने छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार