मधुर पौडेल । बाँसगढी (बर्दिया) ।
बाँसगढी प्रिमियर लिग अन्तर्गत शुक्रबार दुई वटा खेल सम्पन्न भएका छन् । ती खेलमा बाँसगढी व्ल्याकबक्स स्ट्राइकरस र बाँसगढी राइनोज विजयी भए । पहिलो खेल बाँसगढी व्ल्याकबक्स स्ट्राइकरस बनाम ककौरा सुपर किङ्स टस जित्दै पहिला व्याटिङ गरेको व्ल्याकबक्स स्ट्राइकरसले १६ ओभरमा ११३ रन जोड्यो । ब्याटिङतर्फ निखिल खत्रीले उत्कृष्ट ३७ रनको योगदान दिए ।
बलिङतर्फ सुपर किङ्सका अजय साहानीले ३ विकेट, सौगात खत्री, अश्मित साही र विजय चौधरीले समान २–२ विकेट लिए । जवाफी रूपमा व्याटिङ गर्न आएको ककौरा सुपर किङ्सको टिम १५.३ ओभरमा १०७ रनमै समेटियो र खेल ६ रनले गुमायो । सुपर किङ्सका कमल बिस्टले ३१ रन बनाए । बलिङतर्फ व्ल्याकबक्सका सौगात रानाभाट र दिपेश भुसालले समान ३–३ विकेट, आकाश थापाले २ विकेट, र आकाश बिस्ट तथा रोहन खत्रीले समान १–१ विकेट लिए ।
१० रन र ३ विकेटको योगदान दिएका दिपेश भुसाल ‘म्यान अफ द म्याच’ घोषित भए ।खेलपछि ब्ल्याकबक्स स्ट्राइकरसका मालिक सन्जु ओलीले भने, ‘हाम्रो टिमले खेलमैत्री भावना र एकता देखाएको छ । खेल अन्तिम बलसम्म रोमाञ्चक रह्यो र सबै खेलाडीहरूमा जितको जोश स्पष्ट देखिन्थ्यो । खेलले बाँसगढीका युवामा आत्मविश्वास र खेल भावना जगाएको छ । यो प्रतियोगिता साँच्चिकै बाँसगढीको गौरव हो ।’
यस्तै दोस्रो खेल बाँसगढी राइनोज र माछागढ स्ट्राइकर्सबीच भएको थियो ।
टस जित्दै ब्याटिङ रोजेको बाँसगढी राइनोजले निर्धारित २० ओभरमा १६३ रनको विशाल योगफल तयार ग¥यो । ब्याटिङतर्फ कप्तान सिद्धान्त राज शाहीले उत्कृष्ट ७६ रनको कप्तानी इनिङ खेले । बलिङतर्फ माछागढ स्ट्राइकर्सका युबराज रावत र नितेश न्यौपानेले समान २–२ विकेट, र सोलुप चौधरीले १ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको स्ट्राइकर्सको टोली १०५ रनमै समेटियो र खेल ५८ रनले गुमायो ।
व्याटिङतर्फ क्षितिज थापा मगरले सर्वाधिक ३४ रन प्रहार गरे । बलिङतर्फ राइनोजका सुनिल भण्डारीले घातक बलिङ गर्दै ६ विकेट हात पारे भने सलाउदिन खानले २ विकेट र सनम बुढा तथा निशान्त आचार्यले समान १–१ विकेट लिएका थिए । ६ विकेट लिँदै राइनोजलाई जितको पार पु¥याउने सुनिल भण्डारी ‘म्यान अफ द म्याच’ घोषित भए ।









प्रतिक्रिया दिनुहोस्