कोहलपुर ।
यतिखेर देशभरका किसानलाई धान काट्न चटारो छ । यस वर्षको मौसमी वर्षा बाहिरएसँगै किसानलाई धान काट्न चटारो भएको हो । कतिपय किसानहरूले काटेर राखेको धान वर्षाका कारण भिजेपछि धान सुकाउनेदेखि काट्ने, थन्क्याउने र थ्रेसिङ गर्नेलगायत कार्यमा अहिले व्यस्त भएका छन् । अहिले देशभरका किसान धान काट्ने र थ्रेसिङ गर्ने काममा व्यस्त देखिन्छन् । यो समय धान काट्ने र भिœयाउने समय रहेकाले पनि किसानहरू धेरै व्यस्त देखिएका हुन् ।
कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशीलगायत प्रदेशका विभिन्न जिल्लाका किसानहरू अहिले धान काट्न व्यस्त रहँदै आएका छन् । अहिले गाउँमा धान काट्ने र थ्रेसिङ गर्ने किसानहरूको चहलपहल बढेको कृष्णपुर ३ कञ्चनपुरका प्रभात चौधरी बताउँछन् । गाउँभरका किसान अहिले खेतमा धान काट्न व्यसत छन्,’ उनले भने, ‘वर्षाको मौसम सकिएकाले किसानहरू पाकेका धान स्याहार्न थालेका छन् । ’
विगतका वर्षहरूमा हातैले धान काट्दा समय बढी लाग्ने, बाली बिग्रिने र श्रम खर्चिलो हुने गुनासो किसानको रहँदै आएको थियो । अहिले कृषि उपकरणको प्रयोगले खेतमा हुने काम छिटोछरितो र प्रभावकारी भएको किसानहरू बताउँछन् । शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान धनबहादुर चौधरीको चिन्ता भने फरक छ । खेत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक भएकाले वर्षाको भन्दा हात्तीको डर बढी रहेको उनी बताउँछन् ।
‘निकुञ्जबाट हात्तीको बथान बस्ती र खेत हुँदै हिँड्ने गर्छन्, धान पाक्ने बेला खेतमा पसेर खाएर वा कुल्चेर नोक्सानी पु¥याउँछन्,’ उनले भने, ‘ढिला भयो भने हात्तीले सारा बाली बिगार्ने डर छ, त्यसैले अहिले धान काट्न व्यस्तता बढेको छ ।’ हात्तीको जोखिमका कारण शुक्लाफाँटा, दोधारा–चाँदनी, बेदकोट र बेलौरी क्षेत्रका किसानले पनि धान छिट्टै काटेर घर भित्र्याउने कार्यलाई प्राथमिकतामा राखेका छन् । पिपलाडीका किसान प्रकाश चौधरीले भने यसवर्ष कृषि यान्त्रिकीकरणले किसानको श्रमभार घटाएको अनुभव सुनाए ।
पहिले एक बिघा खेतको धान काट्न सात दिन लाग्ने गरेपनि अहिले उपकरणको सहयोगमा दुई दिनमा सबै काम सकिने उनको भनाइ छ ।पछिल्लो समय कृषिमा आधुनिकीकरण र प्रविधिको विकासले किसानहरूको समयको बचत हुने गरेको छ । महिनादिन लाग्ने काम प्रविधिको सहयोगमा हप्तादिनमा सकिने गरेको किसानहरू सुनाउँछन् । पहिले गोरु र राँगाको सहयोगमा गहनी (धान दाइँ) गर्न महिनौँ लाग्नेमा अहिले थ्रेसरको प्रयोगले त्यो काम दुई दिनमा पूरा हुने गरेको पाइन्छ । तराइदेखि पहाडसम्म प्रविधिको उच्च प्रयोग बढ्दो छ ।
अहिले किसानका लागि प्रमुख चुनौती श्रम अभाव बनेको छ । धेरैजसो गाउँका युवा रोजगारीका लागि भारत र तेस्रो मुलकतर्फ गएपछि खेतमा काम गर्ने जनशक्ति सीमित छ । जसका कारण अधिकांश किसानले धान काट्नेदेखि थ्रेसिङ्सम्मका कार्यमा उपकरणको प्रयोग गर्न थालेका छन् ।
मार्सी धान काट्न सुरु
जिल्लाका किसानहरूले ‘मार्सी धान’ काट्न सुरू गरेका छन् । दसैँ सकिएसँगै किसानलाई मार्सी भित्र्याउने चटारो सुरु भएको हो । तातोपानी–४ का नारायण पराजुलीले भने, ‘गाउँलेहरू सबै मार्सी धान, सिमी भित्र्याउने काममा व्यस्त छन् । पाकिसकेको धान समयमा नकाटेपछि झर्ने र गाईवस्तुले खाने डर हुन्छ । त्यसैले हतारमा मार्सी काट्न लागेका छौँ ।’
जिल्लाका किसान अहिले खेतबारीमा भेटिन थालेका छन् । सदरमुकाम खलङ्गाको छिनासिम, देपालगाउँ, विमानस्थल क्षेत्र, सिँजा क्षेत्रका ज्युलोमा धान काट्ने काम सुरु भएको छ । यता चन्दननाथ नगरपालिका–४ सिंगाचौरका किसान श्रीबहादुर सार्कीले धान काट्न सुरु गरिएको जानकारी दिए । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जिल्लाका अधिकांश स्थानमा मार्सी धान काट्न सुरु गरिएको बताए ।
स्थानीय तहमा मार्सी धान के कस्तो अवस्थामा छ ? र उत्पादनको अवस्थाबारे नमुना लिनलाई प्राविधिक टोली खटिएको उनको भनाइ छ ।कार्यालयका अनुसार आर्थिक वर्ष २०८०–८१ मा जुम्ली मार्सी धान तीन हजार मेट्रिक टन उत्पादन भएको थियो । जसमध्ये दुई सय मेट्रिक टन जिल्लाबाहिर निर्यात भएको थियो । जुम्लाको तातोपानी, गुठिचौर, पातारासी, चन्दननाथ, सिँजा र हाँकु क्षेत्रका किसानहरू अहिले खेतमै धान काट्न व्यस्त छन् ।
करिब दुई हजार पाँच सयदेखि तीन हजार मिटर उचाइमा खेती हुने मार्सी धान जुम्लाको पहिचान पनि बनेको छ । मार्सी धान नेपालकै सबैभन्दा उच्च स्थानमा फल्ने प्रजातिको धान बाली हो । यसको विशेषता भनेको चिसो मौसम र पहाडी भूगोलमा पनि राम्रोसँग फल्ने क्षमता हुन्छ । यस धानको दाना सानो, रातो रङको हुन्छ र स्वादमा मीठो हुन्छ । स्थानीय किसानहरूका अनुसार यो वर्ष समयमै वर्षा भएकाले उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ । तातोपानी गाउँपालिकाका किसान हर्क बुढाका अनुसार गत वर्षभन्दा यसपटक धानको बाली राम्रो छ । मौसमले पनि साथ दिएपछि अन्न राम्रोसँग पाकेको छ ।









प्रतिक्रिया दिनुहोस्