गत भदौ २३ र २४ गतेको विध्वंस आन्दोलनका कारण देश अहिले निकै तरल अवस्थामा रहेको छ । उक्त आन्दोलनपश्चात् सुरक्षा निकायका कर्मचारीहरूको मनोबल अझैसम्म पनि उठ्न सकेको देखिँदैन् । अहिले सुरक्षाकर्मीमाथि पनि विभिन्न स्थानहरूमा धम्की तथा हातपातका घटनाहरू भइरहेको देख्न सकिन्छ । देशमा शान्तिसुरक्षा कायम गर्ने जिम्मा लिएका विभिन्न सुरक्षा निकायका कर्मचारीहरूमाथि दिनदहाडै विभिन्न नाममा हुने गरेका आक्रमणहरू निन्दनीय छन् । अहिले आम नेपाली जनताले आफू सुरक्षित भएको महसुस पटक्कै गर्न सकेका छैनन् ।देशको सुरक्षा अवस्था एकदमै फितलो भएको नागरिकले महसुस गरिरहेका पाइन्छन् । सुरक्षा निकायनै कमजोर हुने हो भने आम नेपाली सुरक्षित हुन सक्दैनन् भने देश पनि गम्भीर अवस्थामा पुग्न सक्छ । देशमा अहिले सबै नागरिक एकजुट भएर कानुनी राज्यलाई बनाइराख्न र नागरिकले अनुभूति पाउनेगरी सुरक्षा प्रदान गर्न जरुरी छ । देशमा शान्तिसुरक्षा कमजोर र आन्तरिक कल झगडा तथा खिचातानीका कारण छिमेकी मुलुक तथा बाह्य शक्ति सलबलाउन सक्छ ।
तरल अवस्थामा रहेको देशको अवस्थाका कारण भोलिका दिनमा विदेशी हस्तक्षप नबढ्ला र देशनै असुरक्षातर्फ नधकेलिएला भन्न सकिँदैन् । यो समयमा एकआपसमा दोषारोपण गरेर, आरोपप्रत्यारोप गरेरभन्दा पनि सबै राजनीतिक दल, आम नागरिक मिलेर जानुको विकल्प देखिँदैन्। जेनजीका नाममा भएको प्रदर्शनले उग्ररुप लिँदै छ दर्जनभन्दा बढी नेपाली युवाहरूको ज्यान जानेगरी भएको नरसंहार र हजारौँ युवा घाइते हुनेगरी भएको उक्त कहालीलाग्दो परिवेशले देशमा अवस्था परिवर्तन गरेको छ । अब जेनजीका आवश्यक मागहरू सम्बोधन गर्नका लागि उचित कदम चाल्न जरुरी छ । जेनजीका नाममा पछिल्लो समयमा विभिन्न घुसपैठ भएका देख्न सकिन्छ । हरेकदिन जसो विभिन्न जेनजीका नाममा आउने वक्तत्व तथा आन्दोलन गर्ने धम्कीका कारण आम नागरिक फेरीपनि त्रसित बन्दै गएका छन् । हजारौँ सहिद, घाइते तथा वेपत्ताहरूका कारण आएको यो गणतन्त्र मास्नका लागि र आफ्ना दिवासपना पूरा गर्नका लागि विभिन्न अवैध चलखेल हुन थालेका छन् ।
देशलाई गृहयुद्धतिर धकेलेर, देशमा अशान्ति फैलाएर, देशमा धार्मिक तथा साम्प्रदायिक दंगा भड्काएर आपसी सद्भावमा खलल पु¥याएर देशलाई उदोगतितिर लैजानका लागि विभिन्न किसिमका क्रियाकलापहरू भएको पाइन्छन् । यसबाट बच्न र बचाउनका लागि आम नेपाली नागरिक आफूनै सजग र सचेत बन्न जरुरी छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेनजी पुस्ताका समूहले आगामी दिनहरूमा गर्ने भनिएका शक्ति प्रदर्शन, विकसित परिस्थितिमा विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरूबाट अभिव्यक्त विचार र तयसबाट देशको शान्तिसुरक्षामा हुनसक्ने प्रभाव र हुनसक्ने घटनाक्रमलाई समयमै मूल्यांकन गरेर शान्ति सुव्यवस्था कायम गराउन आवश्यक पहल गर्न जरुरी छ । हिंसात्मक गतिविधि, अरुप्रति लक्षित नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलाउन र राजनीतिक वातावरणसमेत धुमिल बनाउन मद्दत गर्दछ ।
अहिले पछिल्लो समयमा देखिएका यस्ता क्रियाकलापहरूले देशलाई अझ बढी द्वन्द्वतिर लैजाने निश्चित छ । तसर्थ यसप्रकारका घृणित कार्यहरू तत्काल बन्द गरी आपसी सहमति, भाइचारा कायम गरी यो व्यवस्थालाई जोगाउन र आम नेपाली नागरिकको जीउधनको सुरक्षातर्फ ध्यान दिन आवश्यक छ । अहिले आफूआफूमा द्वन्द्व बढाउने गरी काम गर्नु उचित हुँदैन् । देशमा कानुनी राज्य छ भन्ने कुरा आम नागरिकलाई प्रत्याभूति दिलाउन जरुरी छ । संविधानअन्तर्गत रहेर अहिलेको राजनैतिक व्यवस्थालाई जोगाइराख्न र युवा पिँढीका मागहरू पनि सम्बोधन गर्दै अगाडि बढ्न आवश्यक छ । देशमा अहिले आम नागरिकले असुरक्षाको महसुस गरिरहेकाले नागरिकलाई आफू सुरक्षित भएको महसुस गराउनेगरी शान्तिसुरक्षा मजबुत बनाउन सम्बन्धित सरोकारवाला गम्भीर हुनु जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्