सम्पादकीयः बिरामीको स्वास्थ्यमा खेलबाड नगरियोस्



उपचार गर्न अस्पताल पुग्ने बिरामीका आफन्त र अस्पतालका चिकित्सकबीच समयमयमा विवाद हुने गर्दछ । कतिपय घटनामा बिरामीका आफन्त तर्फबाट त कतिपय घटनामा अस्पतालमा बिरामीको उपचारमा संलग्न चिकित्सकका गल्तीका कारण विवादहरू आउने गरेको देखिन्छ। अस्पतालमा कार्यरत डाक्टर नर्सलगायतका स्वास्थ्यकर्मीहरूलाई आम नागरिकले भगवानका रूपमा दर्ज गर्ने गर्दछन् र उनीहरूमाथि आफ्नो जीवन बचाउने जिम्मेवारी छाडेका हुन्छन् । साथै उनीहरूमाथि बिरामीको अत्यन्तै ठूलो विश्वास पनि रहेको हुन्छ । बिरामीहरू मृत्युको मुखबाट फर्कनका लागि चिकित्सकहरूलाई भगवानको रूपमा मानेका हुन्छन् र चिकित्सकले पनि बिरामीलाई बचाउनका लागि हरसम्भव पहल गरिरहेका हुन्छन् । अपवादका रूपमा केही चिकित्सक र केही बिरामीका आफन्तहरूले बिरामीको मृत्यु भएमा वा उपचारका क्रममा त्रुटि पाइएमा अस्पतालमा लँडाइ झगडाको अवस्था सिर्जना हुने गरेको पाइन्छ ।

उपचारका लागि अस्पतालमा पुग्ने हरेक बिरामीहरूलाई चिकित्सकहरूले जानीजानी पक्कैपनि सायद लापरवाही गर्दैनन् । उपचार गराउन अस्पताल पुग्ने बिरामीहरूलाई चिकित्सकले सकेसम्म उनीहरूको ज्यान जोगाउन र कुनैपनि त्रुटि नहोस् भन्नेमा गम्भीर हुनुपर्छ । कहिलेकाहीँका घटनाबाट चिकित्सकहरूले बिरामीको उपचार गर्दा गम्भीर लापरवाही गर्ने गरेको पाइन्छ, जसका कारण कैयौँ बिरामीको ज्यानसमेत जाने गरेको छ भने कैयौँ बिरामीहरू थप पीडित हुने गरेका घटना पाइन्छन् । अस्पतालमा उपचार गराउन पुग्ने हरेक बिरामीहरूप्रति अस्पताल र चिकित्सकहरू गम्भीर बन्नुपर्ने केही घटनाहरूले देखाउँछन् । केही महिना अघिमात्र नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको शल्यक्रिया गर्दा एक गम्भीर लापरवाही भएको तथ्य बाहिर आएको छ ।

अस्पतालका वरिष्ठ कन्सल्टेन्ट लगायतको टोलीले शल्यक्रिया गर्दा प्रयोग गरिने कपडा एपेन्डिसाइटिसको शल्यक्रिया गराइएका एक बालिकाको पेटमै छुटाउँदा गम्भीर अवस्था आएको पाइएको हो । यो सामान्य घटना पक्कैपनि होइन् ।  चिकित्सकहरूले यसप्रकारको गम्भीर लापरवाही गर्दा बिरामीको अवस्था थप जटिल हुने र ज्यानसमेत जान सक्ने सम्भावना रहन्छ । यो गम्भीर घटना हो । यसप्रकारका घटना यो पहिलो र नौलो भने होइन् । धेरैपटक यसप्रकारका घटना भएको सञ्चारमाध्यमहरूमा आउने गरेको छ । शल्यक्रिया गर्दा त्यति ठूलो वस्तु कपडा पेटभित्रै रहनु चिकित्सकको गम्भीर लापरवाही नै हो । यसरी बिरामीको जीवनमाथि खेलबाड गर्न कोही पनि चिकित्सकलाई छुट हुँदैन् । यसै त अस्पतालमा विभिन्न घटनाहरू घटिरहेका समयमा चिकित्सकले नै यसप्रकारका गम्भीर लापरवाही र त्रुटि गरिरहनु समग्र अस्पताल र चिकित्सकहरूप्रति नै जनताको विश्वास गुमाउनु हो ।

बिरामीको पेटमै कपडा रहेको भेउ नपाउनु कस्तो लापरवाही हो ? यसरी चिकित्सकको लापरवाहीले बिरामीको ज्यान नै जोखिममा पर्ने अवस्था उत्पन्न भएको छ । यसप्रकारका लापरवाहीका घटनामा अस्पताल र बिरामी पक्षबीच बिरामीको उपचार खर्च अस्पतालले ब्यहोर्ने सहमति हुने गरेको छ । तर पनि बिरामीको मानसिक र शारीरिक अवस्थाको क्षतिपूर्ति कस्ले दिने ? उपचार खर्च अस्पतालले ब्यहोरेर मात्र यसको समाधान हुँदैन् । बिरामीको शल्यक्रियामा संलग्न चिकित्सकसहितको टोलीलाई आवश्यक कानुनी कारबाहीको दायरामा ल्याउन जरुरी छ । यसप्रकारका घटनाबाट सबै चिकित्सकहरू सचेत हुनु जरुरी छ । आगामी दिनहरूमा यस्ता घटना दोहोरिन दिनुहुँदैन् ।

फेरिपनि यसलाई दोहोरिन नदिन सबै चिकित्सक र अस्पताल प्रशासन उच्च सावधानी अपनाउन आवश्यक छ । यसबाट गम्भीर रूपमा पाठ सिक्न जरुरी छ । अस्पतालमा समयसमयमा हुने भवितव्य घटनाहरूबाट पाठ सिक्दै र यसप्रकारका घटनाहरू पुनः दोहोरिन नदिन अस्पताल प्रशासनका साथै चिकित्सकहरू गम्भीर हुनुपर्ने देखिन्छ । कुनैपनि बिरामीको उपचारमा अब आइन्दा त्रुटि र लापरवाही नहोस् भन्नका लागि अस्पताल प्रशासनले पनि अस्पतालका डाक्टर, नर्स, कर्मचारी लगायतका चिकित्सकहरूलाई समयसमयमा सचेत गराउन जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार