एभरेष्ट महिला भलिबल लिगः उद्घाटन खेलमा साविक विजेता कर्णालीले पोखरासँग खेल्ने



काठमाडौँ ।

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको उद्घाटन खेलमा कर्णाली यशविसले पोखरा निन्जाजसँग खेल्ने भएको छ । आयोजक इन्फनिटी ड्रिम्स प्रालिले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार आउँदो शुक्रबार साविक विजेता कर्णालीले घरेलु टोली पोखरा निन्जाजसँग उद्घाटन खेल खेल्नेछ ।

पोखरा रंगशाला भित्र रहेको बहुउद्देशीय कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । शुक्रबारै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हनेछ । भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जहाँ साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौँ स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । दोस्रो संस्करणको लिगमा विश्वका विभिन्न देशबाट १८ विदेशी खेलाडी एभरेष्ट महिला भलिबल लिग खेल्ने पोखरा आएका छन् । यसपटक ब्राजिल, नरद्लयाण्ड्स, क्रोएसिया लगायत देशका खेलाडी समेत थपिएका छन् ।

६ टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा लिग चरणमा कूल १५ खेल हुनेछ । जहाँ हरेक टोलीले एक आपसमा खेल्नेछन् । लिग चरणको खेलपछि धेरै अंक जोड्ने दुई टोली फाइनल प्रवेश गर्नेछ । लिग चरणका खेलहरू भदौ २६ गते सकिनेछ र फाइनल खेल भदौ २८ गते हुनेछ । गत वर्ष काठमाडौँमा भएको पहिलो संस्करणमा कर्णाली यशविसले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १८ गते बुधबार