पछिल्ला केही वर्षयता बाँकेमात्र नभएर देशका तराई र सहरीक्षेत्रमा बाक्ले बसाइँसराइ हुँदै आएको छ । जागिरको सिलसिलामा होस् या अध्ययनका सिलसिलामा या व्यापारको सिलसिला होस् या बसाइँसराइ होस् यावत कारणहरूबाट तराई र सहरीक्षेत्रमा मानिसको जनघत्व बढ्दै गएको छ । जसका कारण वर्षौँपहिले बनाइएका सडक पूर्वाधारहरू अहिले साँघुरा बन्दै गएका छन् भने सवारीसाधनको चाप बढ्दो देखिन्छ । बढ्दो जनघनत्व, साँघुरा सडक, बढ्दो सवारीसाधनका कारण भएका सहरबजारमा भएका सडकहरू साँघुरा र खुम्चिँदै गएका छन्। जसका कारण दैनिक दुर्घटनाका जोखिमसमेत बढिरहेका छन् । त्यतिमात्र नभएर सहरका सडकहरूमा छाडा पशुचौपायाका कारण पनि दैनिकजसो दुर्घटना हुने र कैयौँको ज्यानसमेत जाने र कैयौँ घाइते भइरहेका छन् ।
नेपालगन्जको धम्बोझी चोकदेखि वीपीचोक जाने सडक किनारामा केही वर्षयता बिहानको समयमा सडकनै कब्जा गरेर तरकारी बजार लाग्ने गरेको छ । सडकको आधा भाग ढाकेर राखिएका तरकारीका कारण दुर्घटना नहोला भन्न सकिन्न । केही वर्षपहिला सम्म त्यस ठाउँमा बाँके र बर्दियाका ग्रामिण ठाउँका थारू समुदायका महिलाहरूले आफूले उत्पादन गरेका विषादीरहित अर्गानिक तरकारीको बिक्री वितरण गर्दै आएका थिए । जसका कारण उक्त ठाउँमा उपभोक्ताको भिड बढ्दै गयो । स्वास्थ्यको मध्यनजर गर्दै विषादीरहित तरकारी खरिद गर्नका लागि बिहानैदेखि उपभोक्ताहरूको भिड लाग्ने गर्दै आएको छ । तर पछिल्लो समयमा उक्त स्थानमा भारतबाट आयात भएका तरकारीलाई समेत भारती व्यापारीले सोही सडकमा पसल थापेर बिक्री गर्दै आएको पाइन्छ । दैनिक उपभोक्ताहरूको भिडभाड बढ्दै जाँदा नेपाली उत्पादन मात्र नभएर भारतीय तरकारीहरू पनि त्यहाँ बिक्री गर्न राखिँदा हरेकदिन पसलहरू बढ्ने क्रममा रहेका छन् ।
पहिला केही मात्रामा रहेका अर्गानिक तरकारी पसलहरू अहिले लामै सडकमा देख्न सकिन्छ । जसका कारण दैनिक रूपमा भिडभाड बढ्ने तथा दुर्घटना हुनसक्ने जोखिम उत्तिकै छ । सरोकारवाला निकाय स्थानीय सरकारले बेलैमा यसबारेमा गम्भीर भएर उनीहरूको व्यवस्थापन गर्न जरुरी देखिन्छ । नेपालगन्ज उपमहानगरपालिकाले तत्काल उनीहरूलाई त्यस ठाउँबाट अन्यत्र स्थानान्तरण गरेर अलग्गै अर्गानिक तरकारी बजार व्यवस्थापन गर्न आवश्यक छ । यसो भयो भने एकातिर सम्भावित सडक दुर्घटनाको जोखिम पनि नहुने र अर्कातिर ति व्यापारीहरू पनि व्यवस्थित हुनेछन् । यो स्थानीय सरकारको क्षेत्राधिकार पर्ने दायित्व हो । खासमा त्यहाँ अर्गानिक तरकारीको व्यापार सुरु गर्ने थारू समुदायका महिलाहरूको मात्र पहिचान गरी कुनै नयाँ स्थानमा उनीहरूलाई व्यवस्थापन गर्न अत्यन्त जरुरी छ ।
उनीहरूले बाँके र बर्दियाका विभिन्न दूरदराजबाट रातिनै साइकलमा राखेर एकाबिहानै नेपालगन्जवासीका लागि ताजा, विषादीरहित अर्गानिक तरकारीको सेवा प्रदान गर्दै आएका छन् । पछिल्लो समयमा त्यहाँ भएका भारतीय तरकारी व्यापारीको घुसपैठलाई नियन्त्रण गर्न जरुरी छ । उनीहरूले नेपालकै अर्गानिक तरकारी भनेर भारतीय विषादीयुक्त तरकारी उपभोक्तालाई खुवाउँदै आएका छन् । जसका कारण नेपाली उपभोक्ताहरूको स्वास्थ्यमा समेत जोखिम हुनसक्ने आंकलन गर्न सकिन्छ । स्थानीय सरकारले नेपालगन्जको कुनै एक सार्वजनिक स्थानलाई व्यवस्थापन गरेर थारू समुदायका महिलाहरूले उत्पादन गरेर ल्याएका अर्गानिक तरकारीजन्य वस्तुहरू बिक्रीस्थलका रूपमा सञ्चालन गर्न जरुरी छ । कुनैदिन त्यस ठाउँमा कुनै कारणवश दुर्घटना भएमा सो को जिम्मेवारी को हुने ? तसर्थ ः अर्गानिक नेपाली उत्पादनको संरक्षण र प्रवद्र्धन गर्नका लागि एकीकृत तरकारी बजार व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नुका साथै सडक व्यवस्थापनसमेत गर्नका लागि स्थानीय सरकार गम्भीर हुन आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्