‘कञ्चनपुर टि–ट्वान्टी क्रिकेट’को दोस्रो संस्करण हुँदै



कञ्चनपुर ।

कञ्चनपुर टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण असोज १३ गतेदेखि सुरु हुने भएको छ । गत वर्षदेखि सुरु गरिएको प्रतियोगितालाई आयोजक शिद्धेश्वर जय पृथ्वी क्लबले यस वर्ष पनि निरन्तरता दिने भएको हो । बेलौरी नगरपालिका– १० शिवनगरमा हुने प्रतियोगिता असोज २६ गतेसम्म चल्नेछ । कञ्चनपुरमा प्रायः टेनिस बल प्रयोग गरी क्रिकेट प्रतियोगिता हुने गरेका बेला यो प्रतियोगिता भने लेदर बलमार्फत आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

खेल सञ्चालक समितिका संयोजक दिपक खड्काका अनुसार प्रतियोगिताको उद्देश्य अवसरको खोजीमा रहेका स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर दिनु रहेको छ । ‘प्रतियोगितामा जुनसुकै टिमले सहभागिता जनाउन सक्नेछन् । टाढाबाट आउने टोलीका लागि बस्ने व्यवस्था समेत मिलाइनेछ,’ उनले बताए ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले असोज ११ गतेभित्र दर्ता गरिसक्नुपर्नेछ । टिम दर्ता शुल्क १५ हजार रूपैयाँँ तोकिएको छ । यस वर्षको संस्करणमा पुरस्कार रकम बढाइएको आयोजकले जनाएको छ । विजेता टिमलाई २ लाख रूपैयाँँसहित ट्रफी प्रदान गरिनेछ भने उपविजेता टिमले १ लाख रूपैयाँँसहित ट्रफी पाउनेछन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही ५ हजार रूपैयाँँसहित ट्रफी प्रदान गरिनेछ ।

प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ हुने खेलाडीले ५ सय रूपैयाँँ पाउनेछन् । पहिलो संस्करणमा मालिकार्जुन हार्डवेयर प्रालि अत्तरियाले उपाधि जितेको थियो भने धनगढीको सुप होस्टलले उपविजेतामा चित्त बुझाएको थियो । पहिलो संस्करणमा राष्ट्रियस्तरका खेलाडीसमेतको सहभागिता रहेकोमा यसपटक पनि थुप्रै राष्ट्रिय खेलाडीको उपस्थिति रहने आयोजकको विश्वास छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार