काठमाडौँ ।
आउँदो अक्टोबरमा मलेसियासँग हुने ५ खेलको टी–२० सिरिजका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा शनिबार भएको छ । नेपाली टोलीमा यसपटक पाँच परिवर्तन गरिएको छ । पछिल्लोपटक आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट खेलेको टोलीबाट पाँच परिवर्तन गरिएको हो । टोलीमा अनुभवी अलराउन्डर सीता रानामगरले पुनरागमन गरेकी छन् ।
सीतासँगै रुबी पोद्दार, रचना चौधरी र सोमु विष्ट टोलीमा पुनरागमन गर्दा यशोदा विष्ट र सावित्री धामी पहिलोपटक परेका छन् । २५ वर्षीय यशोदाले घरेलु क्रिकेटमा बागमती प्रदेशबाट खेल्दै आएकी छन् । त्यस्तै १७ वर्षीय सावित्रीले नेपालको यू–१९ टोलीबाट विश्वकप खेलेकी छन् । घरेलु क्रिकेटमा उनले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेकी छन् ।
अघिल्लोपटकको टोलीबाट सबनम राई, मनिषा उपाध्याय, ईश्वरी विष्ट, बिन्दु रावल र रोमा थापा यस शृंखलाका लागि टोलीमा परेनन् ।मलेसियामा अक्टोबर २ देखि ८ सम्म हुने शृंखलाअघि नेपाली खेलाडीहरूले मलेसियन सुपर वुमन सिरिजमा पनि विभिन्न टोलीबाट खेल्ने छन् ।
नेपालले आगामी जनवरी २०२६ मा घरेलु मैदानमा नै हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा खेल्दै छ, जहाँ १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र ४ टोली २०२६ को महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्