नेपालगन्ज मात्र नभएर बाँके जिल्लाका विभिन्न स्थानहरूमा विगत केही दिनदेखि चोरको बिगबिगी बढेको छ । विभिन्न टोल तथा गाउँहरूमा रातिको समयमा चोरहरूले सर्वसाधारण नागरिकका धनमाल लुटेका घटनाहरू मिडियामा आइरहेका छन् । पछिल्लो समयमा त अझ चोरहरूले हस्तलिखित मात्रै नभएर कागजमा कम्प्युटर प्रिन्टसमेत गरेर विभिन्न टोलहरूमा धम्कीपूर्ण भाषामा टोलको नामै उल्लेख गरेर चोरी कार्य गर्ने सूचनाहरू टाँस गरेको देख्न सकिन्छ । विगत केही दिनदेखि जिल्लाका विभिन्न स्थानहरूका स्थानीयहरू चोरको डर र त्रासमा रात कटाइरहेका छन् । रातिको समयमा स्थानीयहरू चोरको त्रासले सुत्न पनि छाडिसकेका छन् ।
उनीहरू चोर समात्नका लागि सामूहिक रूपमा रातभर जाग्राम बस्दै आएका छन् भने कतिपय टोलका स्थानीयहरूले त चोरलाई रंगेहातसमेत पक्राउ गरेका घटना पनि बाहिर आएका छन् । यसले जिल्लाको शान्ति सुरक्षा र सुव्यवस्थामाथि प्रश्नचिâ खडा गरेको छ । प्रहरी प्रशासनको फितलो उपस्थिति र उनीहरूले नागरिकको सुरक्षा गर्न नसकेको भन्दै स्थानीय नागरिकहरूले उनीहरूप्रति विश्वास गर्न छाडेको अवस्था देखिन्छ । भर्खरैमात्र जेनजी आन्दोलनका कारण डर र त्रासमा रहेका स्थानीय नागरिकहरू आफ्नो जनधनको सुरक्षा नदेखेपछि थप आक्रोश र त्रासमा रहेको पाइन्छ । पछिल्लो समयमा जिल्लाको सुरक्षा अवस्था फितलो भएको आम नागरिकले आभास गरेका छन् ।
हरेक टोल र गाउँवस्तीमा सुरक्षा उपस्थिति नभएको पाइएपछि उनीहरूले कडा सुरक्षा हुनुपर्ने समेत माग उठाइरहेका पाइन्छन् । त्यसैपनि बाँके जिल्ला छिमेकी देश भारतसँग खुला सीमा भएका कारण असुरक्षित नै मानिन्छ । भारतबाट अपराध गरेर अपराधीहरू सजिलै यो नाका भएर नेपाल छिर्ने र लुक्ने गरेका घटनाहरू विगतमा देखिएका छन् । त्यसैपनि बाँके जिल्ला सुरक्षा संवेदनशील भएको जिल्ला मानिन्छ । थप सुरक्षा व्यवस्था हुनुपर्ने जिल्लामा पछिल्ला दिनहरूमा फितलो सुरक्षा व्यवस्थाका कारण आम नागरिकहरू झन् पीडित भएका देखिन्छन् । आफू, आफ्ना परिवार अनि भएको धनमाल जोगाउनका लागि रातभर जाग्राम बस्ने आम नागरिकहरूलाई चाडपर्वसमेत आँगनमै आइपुग्न लाग्दा झनै चोरीका घटना बढ्ने हुन् कि भनेर चिन्ता बढेको देखिन्छ ।
उसैपनि चाडबाडका समयमा चोरी डकैतीका घटनाहरू बढी हुने गरेका छन् । नेपालीहरूका ठूला चाडपर्वहरू दसैँ, तिहार तथा छठ पर्व नजिँकिदै गर्दा नेपालगन्ज नाका भएर नेपाल आउने विभिन्न जिल्लाका नागरिकहरूको सीमामा भीड बढ्न लागिसकेको छ । भारतका विभिन्न स्थानहरूमा रोजगारीमा गएका तथा अध्ययनका शिलशिलामा गएका नेपाली नागरिकहरू नेपालगन्जस्थित जमुनाहा नाकाबाट दैनिक हजारौँको सङ्ख्यामा नेपाल आउने क्रम बढ्दो छ । उनीहरूलाई समेत सुरक्षित तवरबाट आआफ्ना घरसम्म पुग्नका लागि थप सुरक्षाको समेत खाँचो रहेको छ । हरेक चाडबाडका समयमा चाडबाड मान्न नेपाल आउने सर्वसाधारण नागरिकहरू सीमाक्षेत्रमा लुटिने, कुटिनेलगायतका घटनाहरू विगतमा दिनहरूमा भएका प्रशस्त उदाहरणहरू देखिन्छ । तसर्थः यसतर्फ पनि सुरक्षा निकायको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ। सीमा नाका तथा बसपार्क क्षेत्रहरूमा प्रायः गरेर लुटिएका घटनाहरू बढी भएको पाइन्छ ।
यसलाई न्यूनीकरण र रोकथाम गर्नका लागि पनि उक्त स्थानहरूमा सुरक्षा व्यवस्था बढाउँदै चेतनामूलक र जानकारीमूलक सूचनासहितका हेल्प डेस्कहरू सञ्चालन गर्न आवश्यक देखिन्छ । सुरक्षा निकायले नियमित सुरक्षा व्यवस्थाका साथै चाडबाडलक्षित थप सुरक्षा योजना बनाएर आफ्नो उपस्थिति जनाउन जरुरी छ । आम नागरिकको सुरक्षा निकायप्रतिको आशा र भरोसालाई मर्न नदिएर उनीहरूलगायत सम्बन्धित अन्य सरोकारवाला निकायहरूसँग पनि आवश्यक छलफल, सहकार्य तथा समन्वय गरेर सबैसँग हातेमालो गर्दै साझेदारीरूपमा सुरक्षा व्यवस्थालाई अगाडि बढाउन आवश्यक छ । सुरक्षा व्यवस्थालाई थप मजबुद बनाउँदै आम नागरिकले महसुस हुनेगरी दिनरात हरेक टोलटोलमा गस्ती बढाएर हुनसक्ने चोरी, डकैती तथा लुटपाटका घटनाहरूलाई रोक्नका लागि आवश्यक कदम चाल्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्