सम्पादकीयः राजनीतिक दल र नेता सच्चिने मौका



भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण देशको एउटा राजनीतिक कोर्स बदलेको छ । नीतिहरूको पनि नीति राजनीति हो । देशको भविष्य देशमा हुने गरेका राजनीतिले निर्धारण गर्दछ । राणा शासन, पञ्चायती व्यवस्था, बहुदल, राजाको निरंकुश शासनविरुद्ध नेपालमा गणतन्त्र स्थापना गर्नका लागि हालका राजनीतिक दल र तिनका नेताहरूको मुख्य भूमिका रहेको नकार्न सकिँदैन् । देशमा गणतन्त्र ल्याउनका लागि राजनीतिक दल र नेताहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । जसका कारण देशमा बोल्ने स्वतन्त्रता, लेख्ने स्वतन्त्रता, सूचना प्राप्त गर्ने स्वतन्त्रता, मानवअधिकारको सुनिश्चितता, धर्मनिरेपक्षता लगायतका गणतन्त्र, संघीयता, समावेशीसहितको व्यवस्था ल्याउनका लागि हजारौँ नेपाली नागरिकले ज्यान गुमाएका छन् भने हजारौँको सङ्ख्यामा घाइते बनेका छन् ।

जसको नेतृत्व हालका राजनीतिक दल र नेताहरूले गरेका थिए । तर पछिल्लो समयमा तिनी दल र तिनका नेताहरू जनताका भन्दा पनि आफ्ना लागि अवसर खोज्ने, भ्रष्टाचार गर्ने, जनताका मागप्रति सम्बोधन नहुने, गम्भीर नहुने, आआफ्नै दुनो सोझाउने र सत्तालिप्त हुन खोजेपछि देशमा जेनजीले गरेको दुईदिने आन्दोलनका कारण यो अवस्था सिर्जना भएको छ । आन्दोलनका क्रममा राजनीतिक दलका शीर्ष नेताहरू कुटिने, घाइते हुने अवस्थाको सिर्जना भयो भने धेरै दिनसम्म पनि नेताहरू सेनाको शरणमा परेर लुक्नुपर्ने अवस्था आयो । केही नेताहरू बिस्तारै बाहिर आएका छन् भने अझैपनि धेरै नेताहरू सेनाकै सुरक्षा घेराभित्र रहेका छन् । यो अवस्था आउनुमा उनीहरूकै प्रमुख हात छ ।

उनीहरूले नै देशमा यो अवस्थाको सिर्जना गरेका हुन् । अब उनीहरू आम नागरिकसँग माफी मागेर आउन जरुरी छ । हालसम्म गरेका भ्रष्टाचार तथा जनताका इच्छाविपरीत गरिएका सबै कुकृत्यहरूलाई स्वीकार गर्दै जनतासमक्ष माफी मागेर आउनुनै बुद्धिमानी हुनेछ । अबपनि राजनीतिक दल र तिनका नेता नसुध्रिने हो भने जनताले कहिले माफी दिने छैनन् । आचरण सुधार्नका लाािग र आफू सच्चिएर आउनका लागि यो सुनौलो मौका हो । जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका झण्डै छ दर्जन सहिदहरूको अझैपनि रगत आलै छ, सयौँ नागरिक अस्पतालमै छटपटाइरहेका छन् । उनीहरूका परिवारका सदस्यको आँखामा आँसु सुकेको छैन् ।

यति ठूलो परिवर्तन हुँदापनि र यस्तो अवस्थाको सामना गर्दासमेत अझैपनि नेताहरूको बुद्धी नफिर्ने हो भने उनीहरूको भविष्य देखिँदैन् । देशमा दलीय व्यवस्था र गणतन्त्रबिनाको शासन व्यवस्था सोच्नपनि सकिँदैन् । यही शासन व्यवस्थामा रहेर राजनीतिक दल र नेताहरू सच्चिएर पुनः जनताका बीचमा जान जरुरी छ । वृद्धाअवस्थासम्म पनि नेतृत्व लिइरहने सबै राजनीतिक दलका नेताहरूले अब युवा पिँढीलाई नेतृत्व हस्तान्तरण गर्न जरुरी छ । युवा पिँढीलाई अगाडि बढाएर उनीहरूको अभिभावकत्व ग्रहण गर्न जरुरी छ । यस्तो विषम परिस्थितिमा पनि अझै केही राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनप्रति आक्षप लगाउने गरी वक्तव्यबाजी गरिनु दुःखद् हो ।

उनीहरू र उनीहरूले गरेको आन्दोलन र दर्जनौँको सङ्ख्यामा सहादत प्राप्त गरेका सहिदहरूप्रति अपमान हुनेगरी दिइएका वक्तव्यबाजी र उनीहरूलाई अझै आक्रोशित पार्ने गरी दिइएका अभिव्यक्तिलाई सकारात्मक मान्न सकिँदैन् । तसर्थः उनीहरूले उठाएका मागहरूलाई आत्मसात् गर्दै देशको जटिल अवस्थालाई अवतरण गराउनतर्फ राजनीतिक दल र नेताहरूले उल्लेख्य भूमिका खेल्न आवश्यक छ । राजनीतिक दल र नेताहरू सच्चिनका लागि यो अवसर गुमाउनु हुँदैन् । देशको माग, परिस्थिति, परिवर्तित अवस्थाअनुसार अगाडि बढ्नु नै अहिलेको समयको माग हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रबार