काठमाडौँ ।
अर्को वर्ष जापानमा आयोजना हुने २०औँ एसियन गेम्सका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले ३२ खेलको खेलाडीहरूको पहिलो सूची दर्ता गराएको छ । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मान्यता पाएको नेपाल ओलम्पिक कमिटीले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै २०औँ एसियाडका लागि नेपालबाट ३२ खेलको खेलाडीहरूको नाम दर्ता गरिएको जानकारी दिएको हो ।
जसमा पुरुषतर्फ २३९ र महिलातर्फ १९५ खेलाडी गरी कूल ४३४ खेलाडीको नाम दर्ता गरिएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।एसियन गेम्सका लागि खेल अनुसार खेलाडीको दर्ता गर्ने अन्तिम मिति सेप्टेम्बर १६ सम्म थियो । त्यसमा ओलम्पिक कमिटीले यसअघि दर्ता गरिएको खेलमा दुई खेल थप गरेर ३२ खेलको खेलाडीको नाम दर्ता गरेको हो ।
‘यससम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई पटकपटक पत्राचार गर्दा मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट खेलाडीहरूको सङ्ख्याका बारेमा कुनै जानकारी प्राप्त नभएको हुँदा पहिला दर्ता गरिएका ३० वटा खेलका राष्ट्रिय संघहरूलाई पत्राचार गरी संघहरूबाट सहभागी हुन सक्ने खेलाडीहरूको सङ्ख्या नेपाल ओलम्पिक कमिटीलाई उपलब्ध गराएको छ । सोहीअनुसार सेप्टेम्बर १६ मा आयोजक कमिटीमा इन्ट्री बाई नम्बर प्रकृया सम्पन्न भएको छ ।’ ओलम्पिक कमिटीका महासचिव राजिव श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसअघि ओलम्पिक कमिटीले ३० खेलको नाम दर्ता गरेको थियो । त्यो बेला नाम दर्ता नभएपनि खेलाडीको नाम दर्ता गर्दा फुटबल र तेक्वान्दोको खेलाडीको नाम पनि थप गरिएको हो । यस खेलको नाम दर्ता गर्ने मिति जुन ३० मा दर्ता नभएका लोकप्रिय र पदकको सम्भावना भएको खेलका खेलाडीहरू एसियन गेम्स खेल्न बञ्चित नहोस् भनेर संघलाई पुनः पत्राचार गरिएको र त्यसबाट फुटबल र तेक्वान्दो थप गर्न आयोजक कमिटीलाई अनुरोध गरिएको ओलम्पिक कमिटीले जनाएको छ ।
‘जुन ३० तारीखमा दर्ता नभएका लोकप्रिय र पदकको सम्भावना भएको खेलका खेलाडीहरू खेल्नबाट बञ्चित नहोस् भन्ने उद्देश्यले सहभागिताका लागि संघलाई पुन पत्राचार गरिएको थियो । जसमा तेक्वान्दो र फुटबलले सहभागिताका लागि खेलाडीहरूको सङ्ख्या र इभेण्टसहित पठाइएको पत्रको आधारमा आयोजक कमिटीलाई सो २ खेल थपका लागि अनुरोध गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।
यस्तै नेपाल एथलेटिक्स संघलाई पटकपटक पत्राचर गर्दा पनि कुनै जवाफ प्राप्त नभएको हुँदा नेपाल ओलम्पिक कमिटीले नै विगतको सहभागितालाई मध्यनजर गरी माराथनमा एक महिला र एक पुरुष खेलाडीको नाम दर्ता गरिएको कमिटीले जनाएको छ । ‘यसरी ३२ वटा खेलबाट २३९ पुरुष र १९५ महिला गरी जम्मा ४३४ जना कूल खेलाडी सङ्ख्या दर्ता प्रकृया सम्पन्न भएको जानकारी गराउँदछु ।’ यसअघि राखेपले नै एसियन गेम्समा सहभागी हुने खेल र खेलाडीको सङ्ख्या तोक्दै आएपनि यसपटक ओलम्पिक कमिटीमा विवाद हुँदा त्यसो हुन सकेन ।
नेपाल ओलम्पिक कमिटीले २०औँ एसियन गेम्सका लागि ३० खेलको नाम दर्ता गर्दा युवा तथा खेलकुद मन्त्रालयले पनि छुट्टै ३१ खेलको नाम दर्ता गरेको थियो । तर एसियन गेम्स आयोजक कमिटीले ओलम्पिक कमिटीबाट मात्र आएको सूची मान्य हुने भन्दै मन्त्रालयलाई इमेल पठाउँदै मन्त्रालयको सूची दर्ता नभएको स्पष्ट पारेको थियो ।
यस्तै ओलम्पिक कमिटीकै पूर्वअध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा एनओसी तदर्थ समिति गठन भएपछि नेपालमा दुई ओलम्पिक कमिटी रहेको अवस्था छ । सरकारको समर्थन पाएको तदर्थ समितिले केही समय आफ्नो सक्रियता बढाएपनि पछिल्लो समय भने सुनसान जस्तै बनेको छ ।









प्रतिक्रिया दिनुहोस्