शिक्षक महासंघ कोहलपुरद्वारा नगरपालिकामा ज्ञापनपत्र



कोहलपुर ।

नेपाल शिक्षक महासंघ, नगर कार्य समिति कोहलपुरले नेपाल सरकारले पटक–पटक गरेको सहमति कार्यान्वयन नगरेको भन्दै कोहलपुर नगरपालिकामा धर्ना दिनुका साथै ध्यानाकर्षणपत्र बुझाएको छ ।

देश भरका सबै पालिकामा ध्यानाकर्षणपत्र बुझाउने तथा धर्ना दिने नेपाल शिक्षक महासंघको देशव्यापि कार्यक्रम अन्तर्गत शुक्रबार कोहलपुर नगरपालिकामा धर्ना दिनुका साथै ध्यानाकर्षणपत्र बुझाइएको हो । नेपाल शिक्षक महासंघ कोहलपुरका अध्यक्ष निम प्रकाश थापाले कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

२०७५, २०७८ र २०८० सालमा भएको शिक्षक आन्दोलन र त्यसपश्चात सरकारसँग भएको सहमति सम्झौताहरू सरकारले पालना नगरेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । सरकारकै लारवाहीका कारण शिक्षकहरू फेरि आन्दोलनमा जान बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको पनि उल्लेख गरिएको छ ।

त्यस्तै नेपाल शिक्षक महासंघ कोहलपुरका अध्यक्ष निम प्रकाश थापाले शिक्षकको पद, सेवा, सुविधा, बढुवा, आन्तरिक तथा प्रतिस्पर्धात्मक परीक्षा, शिक्षक सेवा आयोगमार्फत हुने व्यवस्थापन, निजी विद्यालयका शिक्षकको हक–अधिकार लगायतका विषयलाई उपेक्षा गरिएको बताएका छन् ।

साथै विद्यालय शिक्षामा राजनीतिक हस्तक्षेप बढेको र शिक्षक संगठनका प्रतिनिधिहरूलाई समेत उपेक्षा गरिएको नेपाल शिक्षक संघ कोहलपुरका अध्यक्ष दिपक मल्लले बताएका छन् । यसका साथै महासंघले बारम्बार भएका सम्झौता र प्रतिवद्धता पालना नगरी शिक्षकलाई असुरक्षित बनाइएको भन्दै यसबाट शिक्षा क्षेत्रमा नकारात्मक असर परेको चेतावनी दिइएको छ । सहमति कार्यान्वयन नभएमा पुनः आन्दोलनमा जान बाध्य हुने महासंघको चेतावनी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १४ गते शनिबार