मुसिकोट हेरिटेज रनको उपाधि बुढालाई



रूकुम पश्चिम ।

मुसिकोट हेरिटेज रन प्रतियोगिताको उपाधि रूकुम पश्चिमका दुर्गाबहादुर बुढाले जितेका छन् । बिहीबार १ घण्टा ५२ मिनेट ४७ सेकेन्डमा २८ किलोमिटर लामो दूरी पार गर्दै उनले उपाधी हात पारेका हुन् । राप्ती साहित्य परिषद् रूकुम पश्चिमद्वारा आयोजना गरिएको प्रतियोगितामा सहभागी २३ जनामध्ये सिस्ने–४ रूकुम पूर्वका पञ्चराम बुढाले १ घण्टा ५७ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र भुमे गाउँपालिका–३ रूकुम पूर्वका शक्तिराम रोका २ घण्टा १ मिनेट ३९ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए ।

साथै रूकुम पश्चिमका भुवन केसीले २ घण्टा ६ मिनेट ३६ सेकेन्डमा र भोजपुरका विशाल तामाङले २ घण्टा १० मिनेट ३५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई २५ हजार नगदसहित प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई २० हजार नगदसहित प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्नेलाई १५ हजार नगदसहित प्रमाणपत्र, साथै सान्त्वना स्थान हासिल गर्ने २ जनालाई ५ हजार नगदसहित प्रमाणपत्र र सहभागी सबैलाई पनि १ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजक पूर्णबहादुर ओलीले जानकारी दिए ।

रन प्रतियोगिता रूकुम पश्चिमको मुसिकोट–५ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल डिग्रे शाइकुमारी भगवतीको मन्दिर परिसरबाट सुरु भई जन्ती ओलप्पे लेक, जुम्ले पोखरी, ठुलो दहबाट बैरी दह हुँदै साँखबाट पुनः सोही स्थानमा आएर सम्पन्न सकिएको थियो । राप्ती साहित्य परिषद् रूकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको उद्घाटन तथा पुरस्कार वितरण समारोहमा कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर बिक, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उपप्रमुख विमलकुमार पुन, प्रमुख जिल्ला अधिकारी दिनेश थानी र कर्णाली प्रदेशका पूर्वसचिव भरतकुमार शर्माको विशेष आतिथ्यता रहेको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी प्रमुख जगदीश हमाल, प्रमुख अनुसन्धान अधिकृत नेबवहादुर राना, राजनीतिक दल, जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय लगायतको पनि उपस्थिति रहेको थियो । म्याराथन संयोजक पूर्ण ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद्का जिल्ला सचिव ओमबहादुर केसीले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार