सम्पादकीयः उत्तरी नाकामा राज्यको पहुँच पु¥याउँ



भर्खरै मात्र कर्णाली प्रदेशका हिमाली क्षेत्रका नाकाहरू हुँदै विद्युतीय चुरोट (भेप) तस्करी हुन थालेको पाइएको विभिन्न मिडियाहरूमा समाचार आएका छन् । हुम्लाबाट आएको कन्टेनरमा भेप ढुवानी भइरहेको पाइएसँगै कर्णाली क्षेत्रका नाकाहरूबाट पनि भेपको तस्करी भइरहेको प्रमाणित हुन्छ । केही दिनअघि मात्र बर्दियामा पनि प्रहरीले भारत निकासी हुन लागेको अवस्थामा विद्युतीय चुरोट भेप बरामद गरेको थियो । हुम्लाबाट आएको भेपको तस्करीमा सरकारी कर्मचारीकै संलग्नता र प्रशासनिक व्यवस्था कमजोर भएको देखिन्छ । यसले यससँग जोडिएका अन्य तस्करीको आशंकालाई पनि बलियो बनाएको छ । हुम्लाबाट आएको गाडीमा भेप रहेको पाइएपछि कसरी नेपाल भित्रियो र तीन जिल्लाको सुरक्षा चेकजाँच छिचोल्दै दैलेखसम्म कसरी पुग्यो भन्ने गम्भीर प्रश्न उठेको छ । डिभिजन वन कार्यालय हुम्लाका कर्मचारीहरूको प्रत्यक्ष संलग्नतामा जडिबुटीको छुटपुर्जी बनाएर शिल गरिएको कन्टेनरमा कसरी भेप पुग्यो भन्ने कुरा गम्भीर देखिन्छ ।

प्रष्ट देखिन्छ कि वन कार्यालयका कर्मचारीको यसमा प्रत्यक्ष संलग्नता छ । अर्कोतर्फ प्रशासन पनि चुस्तदुरुस्त नरहेको यो घटनाले देखाउँछ । हुम्लाको यारी चीनसँग जोडिएको एकमात्र औपचारिक नाका हो । उक्त नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयसहितको सरकारी संयन्त्रले आयात निर्यातलाई निगरानी गर्ने गर्दछन् । यदि उक्त नाकाबाटै भेप तस्करी भएको हो भने त्यहाँ रहेको सुरक्षा निकायको समेत मिलोमतो पुष्टि हुन आउँछ । तर यारीबाट त्यति ठूलो मात्रामा भेप भित्रने सम्भावना देखिँदैन् । किनकी त्यहाँ सुरक्षाकर्मी र भन्सारको उपस्थिति रहेको छ । हुम्लाकै अर्काे अनौपचारिक नाका लिमी लाप्चाबाट तस्करी भएको हुनसक्ने आशंका गर्न सकिन्छ । केही समयअघि सदरमुकाम सिमीकोटबाट चार दिनको पैदल दूरीमा पर्ने लिमी लाप्चामा मेला लागेको थियो । परम्परागत रूपमा लाग्दै आएको मेलामा नेपालीहरूले तराईबाट लिएर गएको गुँड चिनीलगायतका सामान बेच्ने र चीनबाट उपभोग्य वस्तु ल्याएर उताका व्यापारीहरू पनि आउने गर्दछन् । तर, लिमी लाप्चा बाटोमा सुरक्षाको प्रबन्ध नभएजस्तै अवस्था छ । त्यहाँ राज्यको उपस्थिति छैन् । उक्त तस्करीका सामानहरू सोही नाकाबाट हुँदै उक्त मेलामा ल्याएर खरिदबिक्री भएको अनुमान लगाउन सकिन्छ । त्यहाँ कुनै राज्य संयन्त्रको उपस्थिति छैन् । मेला अवधिभर पनि सम्बन्धित सुरक्षा निकायलाई कुनै जानकारी नदिएर विकट भूगोलमा अवस्थित स्थानमा मेला लागेको थियो ।

न त मेला अवधिभर सुरक्षा निकाय उक्त स्थानमा पुग्न सक्यो । न त त्यहाँ के के भइरहेको छ भन्ने कुराको नै जानकारी लिन सक्यो । मेला लाग्ने ठाउँबाट लिमीको इलाका प्रहरी कार्यालय रहेको ठाउँ केही दिनको दूरीमा छ भने त्यहाँबाट हुम्लाको सरिसल्लासम्म आइपुग्ने रुटमा कुनै सुरक्षा चेकजाँचको व्यवस्था छैन । यहीँबाट गएको गाडीमा भेप भेटिएपछि त्यतातर्फ पनि गम्भीर ध्यान दिन जरुरी छ । राज्यले आफ्नो देशको भूभागका सबै स्थानहरूमा आफ्नो उपस्थिति र पहुँच पु¥याउन जरुरी छ । कारणवश पत्ता लागेका कारण यो त एक प्रतिनिधि घटना मात्र भयो । अहिलेसम्म उक्त रुट भएर चीनबाट नेपाल हुँदै भारत र नेपालमै पनि कति वस्तुहरूको तस्करी भएको थियो होला ? अनुमान मात्र लगाउन सकिन्छ । किनभने यो एकैपटकको प्रयास होइन् । हुम्लामा मात्रै नभई कर्णाली प्रदेशका मुगु र डोल्पामा पनि यस्ता मेला लाग्ने गर्छन् । अब सीमा नाका क्षेत्रमा मेला लाग्ने सबैे स्थानहरूमा कडा निगरानी राख्न जरुरी छ । राज्यले विकट भूगोलमा समेत आफ्नो पहुँच पु¥याउनका लागि गम्भीर हुनु आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार