पछिल्लो समय समाजबाट नैतिकता हराउँदै गएको छ । हरेक व्यक्तिले नीति मान्न छाडेका छन् । नैतिक बन्धनहरू बिस्तारै तोडिँदै गएका छन्। नैतिक शिक्षाको कमी हुँदै गएको छ । व्यक्तिले नैतिकता अवलम्बन नगर्दा समाजबाट नै बिस्तारै नैतिकता हराउँदै जान थालेको छ । जसका कारण व्यक्ति, घरपरिवार, समाज हुँदै पूरै देश नै नैतिकहीन बन्दै गएको छ । अनुशासन नमान्दा, अनुशासनमा नबस्दा, आज्ञाकारी नबन्दा, ठूलोबडाको आदर मान सम्मान नगर्दा, आफ्नो रहनसहन, चालचलन, संस्कृति, रीतिरिवाज, परम्परा, धर्मको सम्मान नगर्दा समाज सकारात्मकभन्दा पनि नकारात्मकतर्फ गइरहेको छ । कारण हो नैतिकता । हरेक व्यक्ति नैतिकहीन बन्नु, नैतिक आचरणमा नबस्नु तथा मुख्य कारण त देशको मियो मानिएको राजनैतिक अवस्था । देशमा राजनीतिक अवस्था स्थिर नहुनु, विभिन्न पार्टीका नेताहरू पद र सत्ताका लागि जे पनि गर्नु, लुछाचुँडी गर्नु, जनतालाई झुट बोल्नु आदि इत्यादी कारणले पनि नैतिकता हराउँदै गएको भान हुन्छ । देशको मियो भनेकै राजनीति हो। देशको राजनीति जता गयो समाज उतै जाने हो । अर्थात् समाजलाई कता लैजाने भन्ने मुख्य कुरा राजनीतिले देखाउँछ ।
राजनीतिकै कारण एकैघरका वा समाजमा रहेका व्यक्तिहरूबीच पानी बाराबारको अवस्था आउनु । नैतिकता हराउनु । नेताहरूले झुटा आश्वासन दिनु, सत्ता र कुर्सी जोगाउनका लागि कुनै पनि हद पार गर्न सक्नु, देशकै प्रमुख दुई ठूलो पार्टी मिलेर सरकार बनाउनु । देशकै पहिलो ठूलोे पार्टीले सरकार चलाउने र दोस्रो ठूलोे पार्टी प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्नुपर्नेमा नेपालमा भने विश्वमै कहीँ नभएको व्यवस्था देशका दुई ठूलो पार्टी मिलेर सत्ता र कुर्सी जोगाउनका लागि सरकार बनाउँछन् । नैतिकताका कुरा गर्छन् तर आफैँ नैतिकताको धज्जी उडाउँछन् भने समाजका व्यक्तिहरू कसरी नैतिकवान बन्न सक्लान् ? सरकारनै अनैतिकताको पाठ पढाउँछ, सिकाउँछ भने समाजलाई नैतिकवान बनाउन कसरी सकिन्छ ? कसरी बन्छ यस्तो देशको समाज नैतिकवान ? समाजलाई नैतिकता सिकाउनका लागि पहिलापहिला विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि नैतिक शिक्षा पाठ्यक्रम थियो । नैतिक शिक्षाका बारेमा पढाइ हुन्थ्यो ।
विद्यालयबाट विद्यार्थीहरूले नैतिक शिक्षाका बारेमा ज्ञान हासिल गर्थे र समाजमा प्रयोग गर्ने गर्थे । तर पछिल्ला केही वर्षयता विद्यालयबाट नैतिक शिक्षा हटाइयो जसका कारण विद्यार्थीहरूलाई नैतिक शिक्षा के हो भन्ने बारेमा जानकारी दिइँदैन् । साँस्कृतिक र नैतिक शिक्षा हासिल गर्ने भनेको घरपरिवार, समाज, विद्यालय बाटनै हो । समाजबाट हराउँदै जान थालेको नैतिकता बचाइराख्नका लागि पुनः विद्यालयमा नैतिक शिक्षाको खाँचो छ । हरेक व्यक्ति नैतिकवान बन्न जरुरी छ । नैतिकता हरायो भने व्यक्ति व्यक्ति रहँदैन् । तसर्थः समाजबाट नैतिकता हराउन नदिनका लागि आफू नैतिकवान बन्न जरुरी छ । मुख्यत ः देशको राजनीति र राजनेताहरू नै बढी जिम्मेवारी देखिन्छन् । जनताले सिक्ने भनेकै नेताहरूबाट हो । देश उनीहरूकै हातमा छ । उनीहरूले समाजलाई जता चाह्यो त्यतै लैजान सक्छन् । तसर्थ ? सर्वप्रथम राजनीति गर्ने नेताहरू इमान्दार र नैतिकवान बन्न जरुरी छ । आफू इमान्दार र नैतिकवान बनेपछि समाजलाई पनि सोहीअनुसार अगाडि लैजान सकिन्छ । व्यक्तिसँग नैतिकता भएन भने उसँग न इमान्दारीता रहन्छ, न आज्ञाकारीता रहन्छ, न अनुशासन नै रहन्छ । तसर्थः सर्वप्रथम सबैमा नैतिकता हुन जरुरी छ र नैतिकताको आचरणभित्र रहन जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्