‘तीज’ पर्वको अर्थ र महत्व



शोभा केसी सुवेदी

सत्ययुगमा हिमालय पर्वतका राजा हिमालय र रानी मेनकाकी एक छोरी थिइन् । जसको नाम पार्वती थियो । छोरी पार्वती बढ्दै जाँदा हिमालयले विष्णु भगवानसँग विवाह गरिदिने निर्णय गरे । तर सानैदेखि बुद्धि र बहुप्रतिभा भएकी छोरी पार्वतीले त्यो कुरा थाहा पाएर आफ्ना सङ्गीहरूलाई बोलाई जंगलमा गई श्री महादेव स्वामी पाउँ भनी व्रत र तपस्या गर्न थालिन् । पार्वतीको कठोर तपस्या र व्रतबाट प्रसन्न भई श्री महादेवले भाद्र शुक्लपक्ष तृतीयाको दिन पत्नीको रूपमा पार्वतीलाई स्वीकार गरी कैलाशमा लगी श्रीमतीको उच्च स्थान दिएर पति पत्नीका रूपमा रहनुभयो । त्यतिबेलादेखि नै हिन्दू नारीहरूले आफ्नो घरपरिवार छोराछोरी र श्रीमानको प्रगति दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै व्रत लिने चलन चलिआएको हो ।

यो पर्वलाई हरितालिका तीज किन भनिएको हो भन्ने अर्थमा पार्वतीलाई उनका संगीहरूले हरेर अथवा लुकाएर जङ्गलमा तपस्या र व्रत गर्न लगाएको र व्रतका प्रभावले श्री महादेव स्वामी पाएको हुनाले यो पर्वलाई हरितालिका तीज नामले पुकारिन्छ । त्यतिबेलाको समयमा पनि पार्वतीले आफ्नो हक अधिकारका लागि समाज घर इष्टमित्र र आफ्ना जन्मदिने बुवाआमासँग लडेर विजय प्राप्त गर्नुभएको थियो । त्यसैले हामी नारीहरू पनि एकजुट भएर अगाडि बढ्न सक्यौँ भने हाम्रा अधिकारहरू पनि सुनिश्चित गर्न सक्छौँ भन्ने जस्ता कुराहरू यो तीज पर्वले महत्वपूर्ण सन्देश दिएको छ । परापूर्वकालदेखि नै वेद पुराण र शास्त्रले नारीलाई उच्च स्थान दिइ लक्ष्मी महाकाली शक्ति दुर्गा भवानी पार्वती र सरस्वतीको नामले व्याख्या गरिएको छ ।

शास्त्र–पुराणले उच्च स्थानमा राखेका हामी नारीहरू बौद्धिकता क्षमता र शक्तिमा पक्कै पनि कमजोर छैनौँ । स्कन्द पुराणमा नारीको बौद्धिकता र क्षमताको एउटा रोचक कथा साभार गरिएको छ । एकदिन श्री महादेव र सतीले जुवा खेलिरहँदा श्री महादेवको सम्पत्ति र सम्पूर्ण वस्तुहरू सतीले जितिन् । र अब जुवामा दाउँ थाप्नका लागि केही पनि वस्तु रहेन र महादेवले आफ्नो शरीर थप्न लाग्दा सहनशील र ज्ञानी श्रीमतीले त्यो कुरालाई अस्वीकार गरी मैले हारेँ भने हजुरको शरीर बराबरको अर्को बहुमूल्य वस्तु कहिँ र कुनै छैन हजुरको शरीरमा मेरो अधिकार भइसकेको जुवा खेलेर जित्नुपर्ने आवश्यक छैन भनी जुवा खेल्ने वातावरण समाप्त गर्नुभयो । त्यसैले कुनै सम्बन्ध खेल र कार्य गर्दा भविष्य सोचेर बुद्धि र ज्ञानले मात्र अगाडि बढ्न सके मात्र सफल भइन्छ भन्ने कुरा यो कथाले महत्व राख्दछ नारी बौद्धिक शक्तिशाली सृष्टिकर्ता भाग्यशाली सहनशीलता र सौन्दर्यकी प्रतिमूर्ति हुन् ।

यस्तो ऐश्वर्य र अहोभाग्य लिएर जन्मेका हामी नारी शक्तिले कसैको अगाडि शिर झुकाउनुपर्ने पुरुषको रखेल भएर बस्नुपर्ने समाज र घरपरिवारको दमन र हिंसा सहेर बस्नुपर्ने समय छैन अब रातो–पहेँलो सारी चुरा धागो लगाई नाच गान र मिठो भोजनले मात्र नारी सशक्तीकरणको परिभाषा गर्न सकिँदैन । सडकमा एक दुई दिन नारा लगाएर महिलाका हक अधिकार सुनिश्चित गर्न सकिँदैन । अझै पनि महिलाका मुद्दाहरूमा निष्पक्ष ढङ्गबाट बहस गरेको देखिँदैन ।

‘नारी कमजोर हुनुमा पुरुषको मात्र दोष छैन’

किनभने हामी आफैँ एकजुट छैनौँ । सासुले बुहारीलाई र बुहारीले सासुलाई हेप्ने जस्ता सामाजिक परम्परालाई तोड्न नसक्नु श्रीमानले नखाएसम्म श्रीमतीले खान नपाउने र पुरुषले जाँड रक्सी खाई मध्यरातमा परिवार छोराछोरी र श्रीमतीलाई भयङ्कर डरलाग्दा जघन्य अपराध गरी हत्या गरेका कैयौँ कारुणिक कथा व्यथा छन् । यसको साथसाथै सकारात्मक सोच र चेतनाको कमी पनि भएको हो कि भन्ने लाग्छ । अहिलेको जल्दो बल्दो अपुष्ट कानुनको समाचार पुरुषले बहुविवाह गर्न पाउनुपर्छ रे । यसमा नारीहरूले जताततै सामाजिक सञ्जालमा हामीले पनि दुईवटा श्रीमान राख्न पाउनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभएको छ । हामीले पनि पुरुष बराबर जुवा तास जाँडरक्सी खाएर मध्यरातमा घर आउन पाउनुपर्छ भन्ने जस्ता कमेन्टहरूले हाम्रो नकारात्मक माग र सोचले समाजलाई कतातिर लैजान्छ होला ?

अझै पनि हामीले समाजमा विकृति फैलाउने माग राख्यौँ भने हाम्रै परिवार हाम्रै समाज र हामीलाई नै घातक बन्न पुग्छ । समाजमा पुरुषहरूले आफूमाथि गरेको अन्यायलाई रोक्न सक्नु नै नारी सशक्तीकरण हो जस्तो मलाई लाग्छ । हामीले चोटको बदला चोटै भनेजस्तो ग¥यौँ भने समाजलाई सकारात्मक ढङ्गले रूपान्तर गर्न सक्दैनौँ । यस्तो कार्यले पुरुष पनि बिग्रने छोराछोरी बिग्रने र महिला पनि बिग्रने र समाजलाई को आएर सुधार्ने हो र हामीलाई कसले न्याय दिने हो । अझै पनि पुरुषको तुलनामा नारीहरू हरेक पद र अवसरमा पछाडि छौँ ।

हामी सकारात्मक सोचका साथ एकजुट भएर शिक्षा स्वास्थ्य रोजगारजस्ता जायज मागहरू माग्न सक्यौँ भने एकदिन सफल हुन्छौँ । तीनै तहका सरकार र सरोकारवालाहरूले विशेषगरी महिलाका मुद्दाहरू प्रभावकारी ढंगबाट हेरिदिन जरुरी छ । ठाउँ ठाउँमा हर्ष र उमङ्गका साथ आएको हरितालिका तीज पर्वको अवसरमा सम्पूर्ण नारीहरूलाई सुख शान्ति प्राप्त होस् । सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा तीज पर्वको शुभकामना ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १० गते मंगलबार