सम्पादकीयः आत्मनिर्भर बन्न आवश्यक



पछिल्लो समयमा देशका युवाहरू देशमा रोजगारी पाइएन्, खोजेजस्तो जागिर मिलेन भन्दै दैनिक हजारौँको सङ्ख्यामा देश छोडेर रोजगारीका लागि विदेश पलायन हुँदै आएका छन् । यहाँ भएका घरबारी खेत बन्धक धितो राखेर साहु महाजनसँग महंगोमा ब्याजमा सापटी पैसा खोजर सुन्दर भविष्यको खोजीमा विदेसिने क्रम बढ्दो देखिन्छ । यसरी विदेसिएका युवा जनशक्तिहरूसँग सम्बन्धित विषयमा सम्बन्धित क्षेत्रमा दक्ष सीप र ज्ञान भने भएको पाइँदैन् । जसका कारण कैयौँ युवाहरू विदेश पुगिसकेपछि काम नपाउने, अलपत्र पर्ने, बिरामी पर्ने र कैयौँका ज्यानसमेत जाने गरेका दैनिक रूपमा हुने गरेका पाइन्छन् । देशका युवाहरूले देशभित्रै बाँझो जमिनमा हातपाखुरा बजार्ने हो भने अनावश्यक ऋण पनि नलाग्ने, दुःख पनि नहुने तथा ज्यान जोगिने हुन सक्छ तर विडम्बना युवाशक्ति देशमा केही छैन् भनेर विदेसिनु दुःखद पक्ष हो । घरमै बसेर पनि वार्षिक रूपमा लाखौँ होइन करोडौँ रूपैयाँको कारोबार गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण हुन् बाँके महिलाहरू।

बाँके जिल्लाका विभिन्न पालिकाका महिलाहरू पछिल्लो समयमा बाख्रापालन पेसा गरेर महिनामै हजारौँ लाखौँ रूपैयाँ आम्दानी गरेर आम्दानी गरिरहेका छन् । उनीहरूले घरका आफ्ना श्रीमान तथा छोराहरूको मुख ताक्नुपरेको छैन् । घरमै बसेर पनि सानोतिनो लगानीबाट लाखौँ रूपैयाँ कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् बाँकेका महिला किसानहरू । नेपालमा बसेर दुःख नगर्ने, लाज मान्ने, अरुको देखासिकी गर्ने, सीप सिकेर दक्ष हुन नसक्ने, काम नगर्ने, जग्गा बाँझो राखेर परनिर्भर हुने भएपछि कसरी आत्मनिर्भर बन्न सकिन्छ ? विशेषगरेर युवापुस्ताले यसतर्फ गम्भीर बन्न जरुरी छ । नेपालमै पनि सानोतिनो लगानीबाट कृषि, पशुपालन लगायतका विभिन्न पेसा व्यवसाय गर्न सकिन्छ । जसका लागि तीनै तहका सरकारले पनि विभिन्न योजना तथा कार्यक्रमहरू तय गरेका हुन्छन् । आवश्यक ठाउँमा सम्पर्क सरसल्लाह गरेर विभिन्न पेसा व्यवसाय गरेर देशमै स्वरोजगार र उद्यमशील बन्न सक्ने प्रशस्त अवसरहरू छन् । बाँकेका महिला किसानहरूले गत आवमा मात्र बाख्रापालन पेसामार्फत खसीबोका बिक्री गरेर साढे अठार करोडभन्दा बढी रूपैयाँ आम्दानी गरेका छन् । जुन कार्य अत्यन्त सराहनीय छ । अन्य बेरोजगार व्यक्ति तथा युवाहरूले यसबाट प्रशस्त पाठ सिक्न जरुरी छ ।

बाँकेमा पछिल्लो समय बाख्रापालनतर्फ महिला किसानहरू आकर्षित भएकै कारण र उनीहरूले यस पेसामा लगनशीलताका साथ काम गर्दा उनीहरूलाई यो उपलब्धि मिलेको हो । उनीहरूले जिल्लाका विभिन्न सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमार्फत बाख्रापालन गरेर आत्मनिर्भर बन्दै आएका छन् । सहकारी संस्थामार्फत् विभिन्न समूहहरू गठन गरिएको छ । आफूहरूले उत्पादन गरेका खसीबोका कहाँ बिक्री गर्ने होला भनेर चिन्तासमेत लिन जरुरी देखिँदैन् । महिला किसानहरूले उत्पादन गरेका खसीबोकाहरू सहकारी आफैँले खरिद गर्दै आएको छ । सहकारीमार्फत गठन गरिएका समूहका किसानलाई सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएका छन् । यसकारण बाख्रापालनबाट महिला किसानहरू आत्मनिर्भर बन्दै गएका छन् ।

देशमै पसिना बनाउँदा पैसा पनि विदेश नजाने, आफ्नै घरपरिवारमा बसेर मिठोमसिनो खाएर काम गर्न सकिन्छ । आफूसँग कुनै सीप नभएपनि बाख्रापालन पेसा गर्न त सकिन्छ । लगानी पनि ठुलो नलाग्ने र सुरु गर्दै जाँदा विभिन्न संघसंस्था तथा सरकारी निकायले पनि साथ र सहयोग दिने हुँदा युवाशक्तिहरू विदेश जानुभन्दा नेपालमै बसेर विभिन्न पेसा व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्ने देखिन्छ । सानोतिनो काम नभनेर लाज नमानेर कुनै न कुनै पेसा व्यवसाय गर्दा पक्कैपनि आफ्नै देशमा आम्दानी गर्न सकिन्छ र आत्मनिर्भर पनि बन्न सकिन्छ । यसतर्फ गम्भीर ध्यान जान आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार