पुरुषोत्तमलाई अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि



काठमाडौँ ।

आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । बसुन्धरास्थित आयोजककै हातामा भएको नौ चरणको प्रतियोगितामा पुरुषोत्तमले ६.५ अंक जोडे । विर्तामोड कलेजका मिसन दाहाल दोस्रो तथा सेन्ट जेभियर्सका अभिक शाह तेस्रो भए ।

दुवैले समान ६–६ अंक जोडेपनि प्रोग्रेसिभ अंकका आधारमा मिसन दोस्रो भएका हुन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार हात पारे । पुल्चोक इन्जिनिएरिङ कलेजका सुजन काफ्ले चौथो, हेराल्ड कलेजका सम्यक श्रेष्ठ पाँचौँ, विर्तामोड कलेजका रिसोन थापा छैटौँ, सोफ्टवारिकाका कुशल बेल्वासे सातौँ, बीएन एकेडेमीका अविन पाण्डे आठौँ, सेन्ट जेभियर्सका शुभम श्रेष्ठ नवौँ र कशिभ कार्की दसौँ स्थानमा रहे ।

तेस्रोदेखि दसौँ हुनेले क्रमशः १० हजार, ७ हजार, ५ हजार, ४ हजार ५ सय, ४ हजार, ३ हजार ५ सय र ३ हजार नगद पुरस्कार हात पारे । महिलातर्फ द चाँदबागकी कुसुम घिसिङ पहिलो र ट्रिनिटीकी रिया श्रेष्ठ दोश्रो भए । कुसुमले १० हजार तथा रियाले ५ हजार नगद पुरस्कार पाए।
विजेतालाई टोखा नगरपालिका वडा ७ का अध्यक्ष नरोत्तम राना, आयोजक साउथ वेस्टर्नका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी, साउथ वेस्टर्नका भाइस प्रिन्सिपल हरिसिंह केसी, इन्टरनेसनल रिलेसन कोओर्डिनेटर सरिता शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा क्याम्पस प्रमुख केसीले कलेजले क्लबनै स्थापना गरी बुद्धिचाललाई अगाडि बढाउने घोषणा गरे । विजेता पुरुषोत्तमले जितेको पुरस्कारबाट क्लबलाई ५ हजार सहयोग गर्ने बताए । दुईदिने प्रतियोगितामा विभिन्न ४० कलेजका १ सय ३ खेलाडी सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार