असोज १ गतेदेखि जनक–सुदन स्मृति कप पुरुष भलिबल हुँदै



रूकुम पश्चिम ।

जनक–सुदन स्मृति कप रनिङ शिल्डको तेस्रो संस्करण हुने भएको छ । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ बराहाटाकुरामा असोज १ गतेदेखि ५ गतेसम्म जनक–सुदन स्मृति कप पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पुरुषतर्फ शुद्ध वडास्तरीय आयोजना गरिएको आयोजक रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।

तीन वर्ष अघिदेखि जनक–सुदनको स्मृतिमा रूकुम भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । भलिबल खेलाडीद्वय जनक शाह र सुदन श्रेष्ठको स्मृतिमा रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले २०८० सालदेखि ‘जनक–सुदन स्मृति कप रनिङ शिल्ड भलिबल प्रतियोगिता’को आयोजना गरिरहेको छ । दुवै जनाको २०७४ सालमा गाडी दुर्घटनामा मृत्यु भएको थियो ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १५ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई ५१ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई २५ हजार रूपैयाँँसहित स्थान प्राप्त गर्ने सबै टिमलाई कप, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक रूकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेजविक्रम बुढाले जानकारी दिए । त्यस्तै विजेता टिमले शिल्ड प्राप्त गर्ने उनले बताए ।

उनका अनुसार विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ बेस्ट प्लेयरलाई ५ हजार, बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट लिवेरो, बेस्ट ब्लकर, बेस्ट सेटर, उदयमान खेलाडी र बेस्ट कोचले सम्मान २÷२ हजार रूपैयाँँ पुरस्कारसहित प्रमाणपत्र पाउने उनले जानकारी दिए । दर्ता शुल्क १० हजार तोकिएको छ । सुरुको वर्ष र गत वर्ष महिला पुरुष भलिबल आयोजना गरेको प्रशिक्षण केन्द्रले यस पटक भने पुरुष भलिबल प्रतियोगिता मात्र आयोजना गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार