शेरबहादुर ऐर । कैलाली ।
कैलालीको धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम पुस्तिका सार्वजनिक गर्न सकेको छैन । आर्थिक वर्ष सुरु भएको एक महिना पुग्नै लाग्दासमेत धनगढीले छपाइका क्रममा रहेकाले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक हुन नसकेको जनाएको हो । धनगढीले आफनो वेबसाइटमार्फत बुधबार धनगढीको आर्थिक ऐन र विनियोजन ऐन सार्वजनिक गरेको छ ।
तर, वार्षिक कार्यक्रम पुस्तिकाको विद्युतीय माध्यमबाट पनि सार्वजनिक गर्न सकेको छैन् । धनगढीको असार ७ गते बसेको नगर सभामा चालू आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पेश भएको थियो । धनगढीले बुधबार विद्युतीय प्रणालीबाट सार्वजनिक गरेको आर्थिक ऐन र विनियोजन ऐन असार ७ गते स्वीकृत, १० गते प्रमाणीकरण र असार ३१ गते राजपत्रमा प्रकाशित भएको उल्लेख छ ।
धनगढीले जारी गरेको विनियोजन ऐनमा भनिएको छ, ‘आर्थिक वर्ष २०८२–०८३ को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूचि १ मा उल्लेखित चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकमसमेत गरी जम्मा रकम दुई अर्ब ५६ करोड चार लाख ६६ हजारमा नबढाइ निर्दिष्ट गरिएबमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।’
धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी सुरेन्द्र कार्कीले वार्षिक कार्यक्रम पुस्तिका छपाइमा रहेकाले अहिले राजपत्रमा प्रकाशन हुन नसकेको बताए । तर, धनगढीले सार्वजनिक गर्न नसकेको वार्षिक कार्यक्रम पुस्तिकामा रहेका कार्यक्रमहरूबारे जनप्रतिनिधिहरूनै अनभिज्ञ रहेका छन् । धनगढीमा नगर प्रमुख गोपाल हमालले धनगढीलाई कागजरहित बनाउँदै सूचना र प्रविधिमा जोड दिने बताएका थिए ।
सोहीअनुसार उनी निर्वाचित भएर आएपछि कार्यपालिका बैठक र नगर सभाहरू भिडिओमार्फत प्रत्यक्ष प्रसारण कार्य अघि बढाए । उनले हरेक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रोजेक्टरमार्फत सार्वजनिक गर्दै आएका थिए । तर, चालू आर्थिक वर्षमा उनले कागजमार्फत नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । धनगढीका एक कार्यपालिका सदस्यले भने, ‘नगर सभामा नीति तथा कार्यक्रम र बजेट पेश भयो।
तर, वडागत कार्यक्रम, धनगढी उपमहानगरका योजनाहरू भने प्रस्तुत भएनन् । धनगढीमा कुन र कस्ता योजना रहेका छन् भनेर हामीसँग छलफल पनि भएन ।’ उनका अनुसार अहिले धनगढीको रातो किताब नआएपछि धनगढी नगर प्रमुख गोपाल हमालको टिपोट आदेशमा कार्यक्रम तथा योजनाहरू अघि बढीरहेको छ ।
चालू आर्थिक वर्षमा धनगढीले सीप तथा रोजगार मेला, महिला उद्यम बजार र रात्रिकालीन बजार सञ्चालन गर्ने योजना अघि बढाउने जनाएको छ । धनगढी उपमहानगरले तीन वर्ष अघिदेखि सुरु गरिएको ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’, नगर गौरवका योजनाहरूलाई पनि निरन्तरता दिने १३औँ नगर सभामा उल्लेख गरेको थियो । ‘सामुदायिक विद्यालय शैक्षिक गुणस्तर विकास कार्यक्रम’, ‘सफा धनगढी अभियान’, ‘हरियाली प्रवर्धन कार्यक्रम’ र रात्रिकालीन बजार प्रवर्धनका लागि ‘उज्यालो धनगढी कार्यक्रमलाई’ गौरवका योजनाका रूपमा निरन्तरता दिएको नगर प्रमुख गोपाल हमालले बताए ।
यस्तै, हाम्रो धनगढी सफा धनगढी अभियानअन्तर्गत फोहरमैला व्यवस्थामा सामुदायिक सहभागितालाई निरन्तरता दिइने उल्लेख छ । सुदूरपश्चिमको एक मात्र उपमहानगर धनगढीले आगामी आवका लागि प्रस्तावित कूल बजेटमा चालूतर्फ एक अर्ब ३८ करोड २६ लाख र पुँजीगततर्फ एक अर्ब १८ करोड २९ लाख ३५ हजार २ सय ९२ हुने अनुमान गरेको छ ।
कूल बजेटका स्रोतमध्ये ५४ करोड ७९ लाख ६७ हजार १ सय ११ रूपैयाँ आन्तरिक आयबाट, ५० करोड ६० लाख ६२ हजार राजस्व बाँडफाँटबाट, ९९ करोड ९ लाख नेपाल सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट, ११ करोड २२ लाख ४१ हजार प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट र चालू आर्थिक वर्षको मौज्दातबाट ३३ करोड ३२ लाख ९५ हजार ७ सय ४६ हुने अनुमान गरेको छ ।









प्रतिक्रिया दिनुहोस्