सम्पादकीयः युवालाई अवसर र नेतृत्वको खाँचो



१२ अगस्ट अर्थात् हिजो सोमबार नेपाललगायत विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ विविध कार्यक्रम गरी मनाइयो । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । नेपालमा भने युवासँग काम गर्ने संघ संस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । बर्सेनि युवा दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने आएको देखिँदैन् । देशमा रोजगारको अवस्था सिर्जना नहुँदा दैनिक हजारौँको सङ्ख्यामा युवाशक्ति विदेसिने गरेको तथ्यांक छ । शिक्षा, स्वास्थ्य र रोजगारी नै युवाका मुख्य समस्या हुन् । युवालाई देशमै रोकेर रोजगारको अवस्था सिर्जना गर्नका लागि सरकारले विभिन्न योजना तथा कार्यक्रमहरू ल्याएपनि ती योजना तथा कार्यक्रमहरू युवासम्म पुग्न सकेका छैनन् ।

सफलरूपमा कार्यान्वयन तहसम्म नपुग्दा एकातिर कार्यक्रमहरू अलपत्र परेका छन् भने अर्कोतर्फ दैनिक हजरौँको सङ्ख्यामा युवा शक्ति देश बाहिरिएको छ । युवाको क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चितता समृद्ध राष्ट्र निर्माणका लागि हरेक क्षेत्रमा युवाको नेतृत्व हुन जरुरी छ । युवाहरू अहिले हरेक अधिकारबाट वञ्चित भएका छन् । आफ्नो अधिकार मागिरहेका छन् । तर, नेतृत्व तहसम्म पुग्न सकेका छैनन् । युवाहरू विदेशमा पलायन हुनुपर्ने बाध्यता छ । युवाहरूको अवस्था अहिले पीडादायी नै छ । सरकारले यसतर्फ गम्भीर ध्यान दिनु जरुरी छ । युवामैत्री सरकार हुन सकेको छैन् । त्यसैले अब देशको नेतृत्व युवाले गर्नुपर्छ । हरेक राजनीतिक दलमा राजनैतिक स्वार्थका लागि युवा समूहहरूका संगठन बनाइएका छन् । तर ती संगठनहरू सकारात्मकभन्दा नकारात्मक तरिकाबाट प्रयोग हुँदै आएको देखिन्छ । समुदायमा सकारात्मक सन्देश दिनेभन्दा पनि एकआपसमा लडाइँ झगडा गरेर गलत दिशातर्फ उन्मुख हुने गरेका छन् । अहिलेका युवानै भविष्यका देशको नेतृत्व गर्ने शक्ति हो ।

हरेक राजनीतिक दलभित्र युवाले नेतृत्व गर्न जरुरी छ । राजनीतिक दलभित्र युवाको नेतृत्व भएमात्र भविष्यमा देशले युवा नेतृत्व पाउन सक्छ । युवाहरू माउ पार्टीको प्रयोगमा मात्र नआएर आफैँले नेतृत्व गर्ने पहल गर्न जरुरी छ । वर्षमा एकदिन मात्र औपचारिक कार्यक्रम मनाएर युवाहरूले अधिकार प्राप्त गर्न सक्दैनन् । कुनै पनि राजनीतिक दलको आडमा रहेर युवाशक्ति प्रयोग हुनु उचित होइन् । देशमा विकास र समृद्धि ल्याउने जिम्मा अहिलेका युवा पुस्ताको काँधमा छ । हरेक परिवर्तनमा युवाको महत्वपूर्ण भूमिका रहँदै आएको छ तर नेतृत्वमा युवावर्ग पुग्न नसक्दा नदिँदा भने युवाहरू केवल प्रयोगमा मात्र आउने शक्तिजस्तो भएको छ । युवाहरूको हक र हितका लागि तीनै तहका सरकारले पहलकदमी लिन जरुरी छ । युवामैत्री नीति कानुन बनाएर कार्यान्वयन तहमा लैजानु आवश्यक छ । कतिपय नीति तथा कानुनहरू निर्माण भएपनि कार्यान्वयन हुन नसक्दा प्रयोगविहीन भएका छन् ।

आर्थिक, सामाजिक र पारिवारिक अवस्थाका कारण युवा विदेसिन बाध्य छन् । युवाहरूले विदेशमा गर्ने श्रमको लगानी नेपालमै गर्नसक्ने वातावरण तयार गर्नु जरुरी छ । संविधानमा युवाहरू सम्बन्धित विषयहरू समेटिएका छन् । तर, त्यसमा भएका विषयहरू लागु हुन सकेका छैनन् । कार्यान्वयन तहमा कमजोरी हुनुका साथै भ्रष्टाचार बढ्दै गएका छन् । शिक्षा, स्वास्थ्य, गासबास लगायतका सबै विषयहरूमा युवाहरूको अर्थपूर्ण सहभागिता अवसरको खाँचो छ । संविधान बन्यो तर, अहिलेसम्म कति जना युवाहरूले अधिकार प्रत्याभूति गर्न पाए ? स्वदेशमा बस्न चाहने कति जना युवाहरूले रोजगारी पाए ? कति जना युवाहरूले सोचेअनुरुप काम गर्न पाए भन्ने लगायतका यावत विषयहरूमा समीक्षा गर्न आवश्यक छ । सबै क्षेत्रमा अर्थपूर्ण सहभागिता, समावेश र त्यसपश्चात् परिणाम कस्तो आयो भनेर मूल्यांकन गर्न पनि जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार