शेरबहादुर ऐर । कैलाली ।
कैलाली कारागारमा भएको झडपको सत्यतथ्य छानबिन गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति शनिबार गठन भयो । तर, आइतबार साँझसम्म सो समितिलाई अनुसन्धान गर्नका लागि कैलाली कारागारमा रहेका कैदीबन्दीहरूले अवरोध गरिरहेका थिए । आइतबार साँझ ५ बजेपछि मात्र टोली त्यहाँ पुगेको थियो ।
शुक्रबार राति झडप हुँदा भरत चौधरीको मृत्यु, दुई जना गम्भीर र ४६ जना घाइते भएको सो घटनाको सत्यतथ्य आइतबारसम्म सार्वजनिक हुन सकेको छैन । घटनास्थलमा पुग्न नसकेका सुरक्षा प्रमुख र राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम तथा नागरिक समाजले घटना हुनुमा फरक फरक धारणा व्यक्त गरिरहेका छन् । कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नाइके र सहनाइके बन्ने होडबाजीले सो घटना भएको बताइरहेका छन् भने मानवअधिकार आयोग र नागरिक समाजले कैदीबन्दी स्थानान्तरणमा विभेद भएकोले सो घटना भएको प्रतिक्रिया दिएका छन् ।
कैदीबन्दीको झैझगडा, कैदीबन्दीका मागहरूको सम्बोधन गराउने चौकीदार, नाइके तथा सहनाइकेहरूले कैदीबन्दीलाई शान्त गराउन नसक्नुमा कैदीबन्दीको आन्तरिक द्वन्द्वका कारण घटना भएको हुन सक्ने एक सुरक्षा अधिकारीले बताए । उनले भने, ‘कैदीबन्दीबीच आपसी समझदारी कायम गराउन कारागारभित्र चौकीदार, नाइके, सहनाइके बनाइन्छ । कारागार प्रशासन तथा प्रहरीले पनि प्रवेश गर्दा उनीहरूको अनुमति लिनुपर्छ ।’ कारागार ऐनमा खुला कारागारसम्बन्धी व्यवस्था गरिएको छ ।
सो व्यवस्थामा भनिएको छ, ‘खुला कारागारमा राख्न सकिने कैदीलाई कारागार प्रशासकले त्यस्तो कारागारमा राख्न सिफारिस गर्न सक्नेछन् । सो कैदीलाई कुनै सार्वजनिक निकायमा काम गर्न, स्वयमसेवकको रूपमा काम गर्न वा क्षमता तथा सीप विकाससम्बन्धी तालिम लिने लगायतका काममा खटाउन सकिने छ ।’ काममा खटाइएको बन्दीलाई योगदानका आधारमा नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरि तोकिए बमोजिमको पारिश्रमिक उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
त्यस्तै, दफा ५४ मा विशेष जिम्मेवारी वापत पाउने सुविधा उल्लेख छ । सो बुँदामा भनिएको छ– ‘कारागारको आन्तरिक व्यवस्थापनको लागि बन्दीहरूमध्येबाट चौकीदार, नाइके वा सहनाइके तोक्न सकिनेछ । चौकीदार, नाइके वा सहनाइके तोक्दा सम्भव भएसम्म प्रचलित कानुनबमोजिम कैद कट्टा नहुने कसुरमा कैदमा रहेको बन्दीलाई तोक्नु हुँदैन । एक वर्षभन्दा बढी अवधिका लागि तोक्नु हुँदैन र एक पटक चौकीदारको जिम्मेवारी प्राप्त गरेको बन्दीले त्यस्तो जिम्मेवारी पूरा गरेको एक वर्ष पूरा नभई सोही वा अर्को जिम्मेवारी प्राप्त गर्ने गरी तोक्नु हुँदैन।’
कारागार ऐनमा बन्दीले कसुर गरेको पाएमा जरिवाना तथा सजाय दुवैको व्यवस्था गरिएको छ । सो ऐनको दफा ४९ को (क) २ मा भनिएको छ– ‘कारागारभित्र हुलदंग गरेमा, बन्दी कारागार कार्यालयका कर्मचारी वा आगन्तुकको शरीर बन्धक लिएमा, निजलाई आक्रमण गरेमा वा यातना दिएमा दश वर्षसम्म कैद वा एक लाख रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’
कैदीका आफन्त भेटघाट गर्दै, सुरक्षा निकायलाई बन्देज
कारागार कार्यालयको परिसरभित्र सुरक्षाकर्मी शनिबारदेखि पुरानै अवस्थामा तैनाथ छन् । शनिबार राति सुरक्षामा खटिएका प्रहरीले उनीहरूको गणना पनि ग¥यो । शनिबारदेखि चिन्तित कैदीबन्दीका आफन्तहरूले भेटघाट तथा कुराकानी पनि गरिरहे । आइतबार सशस्त्र प्रहरी, मानवअधिकारसहितको टोलीहरू पनि साँझ ५ बजेपछि घटनास्थल अर्थात् (कैदीबन्दी बस्ने स्थान) भित्र प्रवेश गरेका थिए ।
कैलालीको गौरीगंगा नगरपालिका चौमाला बस्दै आएकी बिरना बुढाका छोरा कारागारभित्र छन् । शनिबार कारागारभित्र झडप भएको जानकारी पाएपछि उनी चिन्तित थिइन् । उनले छोरा सकुशल भएको जानकारी पाएपछि ढुक्क भएको बताइन् । उनले भनिन, ‘शनिबार राति कारागारमा झडप भएको थाहा पाएँ । रातभरी निन्द्रा लागेन । आइतबार भेटघाट गर्न दिन्छ कि दिँदैन भन्ने पनि थियो । भतिजले भेटन् पाउने जानकारी दिएपछि छोरालाई भेटेँ । उसलाई केही नभएको रहेछ ।’
धन नेपालीकी जेठो छोरा शुक्रबार भएको झडपमा परि घाइते भएका छन् । उनको अहिले टाउकोमा पट्टी बाँधिएको छ । तर, बस्न नसक्ने अवस्थामा रहेको देख्दा घटनामा संलग्न रहेको व्यक्ति पहिचान हुनुपर्ने उनले माग गर्छिन् । उनी कति खेर अस्पताल त कतिखेर सेती प्रादेशिक अस्पताल धाइरहेकी छिन् । कारागारभित्र अन्य कैदीसँग भेटघाट गरेकी उनी दोषी पत्ता लगाउनुपर्ने माग गरिरहेकी थिइन् । उनले भनिन्, ‘छोरा सिकिस्त छ । अस्पतालमा पनि भेट्न पाएको छैन् । टाढाबाट हेरेको टाउकोमा पट्टी छ । राम्रोेसँग बस्न सकिरहेको छैन् । यो घटनामा संलग्न व्यक्तिलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।
कैलारी गाउँपालिका वडा नम्बर ८ का वडा सदस्य पनि कारागारमा छन् । उनी ब्लक ‘ए’मा बसेका छन् । कैलारीबाट भेटघाट गर्न आएका चरण चौधरीले उनी सुरक्षित रहेको प्रतिक्रिया दिएको बताए । उनले भने, ‘शनिबार घटना सुनेँ । शनिबारनै भेट्न आएँ तर, भेटघाट बन्द थियो । आइतबार उनीसँग भेट्दा ठिकै छु भने ।’ शनिबार दिनभर कारागारमा कैद रहेका आफना आफन्त भेटघाट गर्न नपाउँदा उनीहरू सुरक्षित भए नभएको चिन्तामा थिए । तर, आइतबार भेटघाट गर्न पाएपछि ढुक्क भएका छन् ।
शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको छानबिन गरि १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनको चरम लापरबाहीका कारण घटनाः नागरिक समाज
नागरिक समाजले प्रशासनको चरम लापरबाहीका कारण कैलाली कारागारमा हिसांत्मक घटना भएको ठहर गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै घटनास्थल स्थलगत निरीक्षणका क्रममा घाइते र घाइतेका परिवारजनबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार सुरक्षा र प्रशासनको चरम लापरबाहीका कारण उक्त घटना भएको नागरीक समाजले ठहर गरेको उल्लेख गरिएको छ ।
‘जिल्ला कारागार कैलालीमा साउन २३ गते राति कैदीबन्दीबीच भएको झडपका कारण एक जनाको मुत्यु र ४८ जना कैदीबन्दीहरू घाइते भएको घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको स्थलगत निरीक्षणका क्रममा घाइते र घाइतेका परिवारजनबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार सुरक्षा र प्रशासनको चरम लापरबाहीका कारण उक्त घटना भएको नागरिक समाजको ठम्याइ रहेको छ ।’ नागरिक समाज संस्थाहरूले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेहरूको अवस्थाबारे आफन्तलाई जानकारी गराउनपर्ने माग पनि गरेका छन् ।
‘घाइतेको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिई आवश्यक उपचार गरिनुपर्ने र सत्यतथ्य छानबिनका लागि मानव अधिकारकर्मी र नागरीक समाजको समेत प्रतिनिधित्व हुने गरी उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । कारागारमा क्षमताभन्दा अत्यधिक कैदीबन्दी राखिएको कारणले पनि यसप्रकारका घटनाहरू दोहोरिरहने भएकोले आवश्यक भौतिक संरचना निर्माण गरी कैदीबन्दीहरूको मानव अधिकारको संरक्षण र संवर्धन गर्नका लागि नागरिक समाज कैलालीले माग गरेको छ ।
कारागारमा नयाँ जेलर हाजिर
जिल्ला कारागार कैलालीको प्रमुखमा जलान्धर भुसाल नियुक्त भएका छन् । कारागार व्यवस्था विभागले बिदामा रहेका जेलर बसन्त खत्रीको ठाउँमा शनिबार भुसाललाई पठाएको छ । उनले शनिबार बेलुकीबाट जिम्मेवारी सम्हालेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
यसअघि नौबस्ता कारागार बाँकेका प्रमुख रहेका भुसाललाई विभागले शनिबारनै कैलाली पठाएको जोशीले बताए ।अधिकृत तहको कर्मचारी जेलर रहने जिल्ला कारागारमा कैलालीमा खरिदार तहका कर्मचारीले निमित्त जेलरको जिम्मेवारीमा थिए । गत २८ असारमा कैदीबन्दीबीच झडप भएको केही दिनपछि जेलर बसन्त खत्री नासु ज्ञानेन्द्र ओझालाई निमित्त दिएर बिदामा बसेका थिए । ओझाले पनि दुई दिनअघि मात्र खरिदार रामकुमार चौधरीलाई निमित्तको जिम्मा दिएर बिदामा थिए । घटनापछि शनिबारनै जिल्ला कारागार प्रमुख फेरिएका हुन् ।









प्रतिक्रिया दिनुहोस्