गत शुक्रबार राति जिल्ला कारागार कैलालीमा दुई समूहबीच झडप भयो । सामूहिक झडपमा एक जनाको मृत्यु भयो भने ४८ जना कैदीबन्दी घाइते भए । कैदीबन्दीबीच कुटाकुट हुँदा कारागारभित्र अप्रीय घटना घट्यो । यो त एक तत्काल घटेको प्रतिनिधिमूलक घटना मात्र हो । देशका अधिकांश कारागारमा समय समयमा यसप्रकारका घटनाहरू हुने र कैयौँ कैदीबन्दीहरूको मृत्यु हुने र कैयौँको सङ्ख्यामा घाइते हुने क्रम बढिरहेको छ । कारागारमा समूहगतरूपमा आ–आफ्ना झुण्ड तयार पार्ने र एक समूहले अर्को समूहमाथि आक्रमण गर्ने गर्दछन् । कारागारको नाइके बन्ने होडबाजी, सुरक्षाको लापरवाही, क्षमताभन्दा बढी कैदीबन्दी राख्नु लगायतका कारणहरूबाट कारागारमा यसप्रकारका अप्रीय घटनाहरू हुने गरेका छन् । कारागार प्रशासन र स्थानीय जिल्ला प्रशासनको कमजोरीका कारण विभिन्न समयमा यस किसिमका घटना हुने र मानवीय क्षति हुने गरेका पाइन्छन् । सुरक्षाकर्मीकै घेराभित्र रहेका कैदीबन्दीनै सुरक्षित नभएपछि आम सर्वसाधारण नागरिक कसरी सुरक्षित हुन सक्लान् ? यस्ता झडप न्यूनीकरण गर्नतर्फ सुरक्षा निकायको विशेष पहल हुनुपर्ने देखिन्छ । यसरी घटनाहरू हुँदै गर्दा कैदीबन्दीका आफन्तहरू पनि तनावमा हुने गरेका छन् । कारागार भनेको एकप्रकारको सुधारगृह हो ।
जीवनमा जानअन्जानमा गल्ती गरेवापत नेपालको कानुनले अपराधअनुसार जेल सजायको व्यवस्था गरेअनुसार उनीहरू जेल जीवन काट्न कारागार जान्छन् । तर त्यहाँ आनीबानी आचारण सुधार हुनुको साटो कारागारभित्रै लडाइँ, झडपजस्ता आपराधिक गतिविधि गर्न उद्दत भएपछि कसरी उनीहरूको बाँकी जीवन सुधार हुन सक्छ ? कारागारभित्रैका कैदीबन्दी नागरिकको जीउज्यानको सुरक्षा हुन नसक्नु कारागार प्रशासन र स्थानीय प्रशासनप्रति गम्भीर प्रश्न उब्जनु हो । कारागार प्रशासनले सम्बन्धित सरोकारवाला निकाय विभागसँग समन्वय गरेर तत्काल आवश्यक सुधारका पहल गर्न जरुरी छ । क्षमताभन्दा दोब्बर तेब्बर बढी कैदीबन्दी राख्दापनि अधिकांश कारागारमा यसप्रकारका घटनाहरू घटिरहेको पाइन्छ । यसरी क्षमताभन्दा बढी कैदीबन्दी राख्दा उनीहरूका मानवअधिकार पनि उल्लंघन हुने गरेको पाइन्छ । उनीहरूले प्राप्त गर्ने सेवासुविधा पनि पाएको देखिँदैन् । कारागारमा कैदी जीवन बिताइरहेका ती नागरिकहरूलाई कसरी असल नागरिक बनाउने हो भन्नेप्रति कारागार प्रशासन सचेत हुनु जरुरी छ । विभिन्न सीपमूलक तालिम प्रदान गर्ने, कारागारभित्रै सानातिना उद्योगहरू सञ्चालन गरेर उनीहरूलाई आर्थिक उत्पादनसँग जोड्ने र जेलबाट छुटेर बाहिर समुदायमा आउँदा असल नागरिक बनाएर पठाउनुपर्ने कारागार प्रशासनको जिम्मेवारी र दायित्व हो । यसप्रति कारागार प्रशासन गम्भीर भएर लाग्नुपर्ने देखिन्छ ।
पटक पटक हुने झडप र अपराधिक घटना घटाउने व्यक्तिहरूलाई प्रशासनले आवश्यकताअनुसार स्थानान्तरण गर्न जरुरी छ । कैलाली कारागार घटनामा शुक्रबार भएको पहिलो घटना होइन । बिहीबार राति पनि कैदीबन्दीबीच हानाहान भएको थियो । पाँच जना घाइते भएका थिए । सोही दिननै स्थानीय प्रहरी, प्रशासन र कारागार प्रशासनले गम्भीररूपमा घटनालाई लिएर योजनाबद्ध ढंगले अगाडि बढ्न सकेको भए सायद शुक्रबारको ज्यानै जानेगरी त्यो घटना नहुन सक्थ्यो । यसप्रति सम्बन्धित सबै अंगको गम्भीर त्रुटि भएको छ । त्यतिमात्र नभएर २८ असारमा समेत कैलाली कारागारमा कुटाकुटको अवस्था सिर्जना भएको थियो । उक्त कारागारमा श्रृंखलाबद्ध तरिकाबाट घटना हुँदै आएपनि त्यसलाई रोकथाम गर्न नसक्नु गम्भीर हो । कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि कारागार प्रशासन गम्भीर भएर कारागारको सुधार गर्न पहल लिनु आवश्यक छ । कैदीबन्दीहरूको कारागार प्रशासनसँगको असहज सम्बन्ध, आन्तरिक व्यवस्थापनमा पारदर्शिताको अभाव, गैरकानुनी आर्थिक लेनदेन, लागूऔषध तस्करी, बाह्य व्यक्तिहरूसँग अवैध सम्पर्क गराउने, मनमुटाव र मुठभेडको अवस्था सिर्जना गराउने प्रयास, चौकीदार र नाइकेको छनौटमा अनियमिता र रातारात कैदी स्थानान्तरणजस्ता उठेका विषयहरूमा गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्